PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण गर्न सडक खनिँदै, १४ महिनामा सम्पन्न होला काम?

ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण गर्न सडक खनिँदै, १४ महिनामा सम्पन्न होला काम?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : ललितपुरको ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ। आइतवारदेखि निर्माण कार्य सुरु भएको सडक विभागले जनाएको हो। विभागका प्रवक्ता भीमार्जुन अधिकारीले डिजाइन स्वीकृत भएर काम थालिएको बताए।

अहिले ग्वार्को क्षेत्रमा गाडीहरुलाई ‘डाइभर्ट’ गरेर सडक खन्ने काम भइरहेको छ। जसकारण सो क्षेत्रमा ट्राफिक चाप बढेको छ।

मंसिरदेखि नै निर्माणको काम सुरु गर्ने भनिए पनि डिजाइनमा केही परिवर्तन भएका कारण काम ढिला सुरु भएको हो।

‘यसअघि निर्माण व्यवसायीले बुझाएको डिजाइनमा विभागले अध्ययन गरिरहेको थियो’, उनले भने, ‘यसमा विभागले डिजाइनमा सानातिना कुराहरु परिमार्जन गर्न लगाएर केही दिन अगाडि डिजाइन स्वीकृत गरेको थियो।’

अधिकारीले यसको निर्माण कार्य सुरु हुनुभन्दा अगावै विभागले डिजाइन राम्रोसँग हेरेर मात्र स्वीकृति दिने प्रावधान रहेको बताए। त्यही अनुसार विभागले डिजाइन हेरेर स्वीकृति दिएको छ।

यो ठेक्कामा निर्माण व्यवसायीले नै डिजाइनको काम गर्ने गरि सम्झौता भए हो। जसकारण विभागले डिजाइन स्वीकृत गर्न समय लगाएको अधिकारी बताउँछन्। उनका अनुसार यसको निर्माण कार्य १४ महिनामा सम्पन्न हुनेछ।

सवारीका लागि नयाँ रुट

फ्लाइओभरको निर्माण कार्य सुरु भएसँगै यस रुटमा भएर चल्ने सवारी साधनको लागि ट्राफिक प्रहरीले नयाँ रुट तोकेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निर्माण कार्य सम्पन्न नभएसम्मका लागि भनेर ट्राफिक व्यवस्थापन मिलाउन सुरु गरेको छ।

हाल कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा जाने व्यवस्था मिलाइएको छ। यस्तै, साना चारपाङ्ग्रे सवारी साधनहरूलाई ‘फास्ट ट्रयाक’बाट चलाइने छ।

यसैगरि, कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै सवारीलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि ‘सर्भिस लेन’ हुँदै जान दिइने प्रहरी कार्यालयले जनाएको छ।

बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारीलाई बल्खुबाट ‘सर्भिस लेन’मा र साना चारपाङ्ग्रे सवारीलाई ‘फास्ट ट्रयाक’बाट संचालन गरिने प्रहरी कार्यालयले जानकारी दिएको छ।

विभागले इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा बनाउने गरि गत साउनमा टेन्डर आह्वान गरेको थियो। माघमा आरसी, समानान्तर र रेलिग्रे जेभी छनोट भएका थिए। त्यस लगत्तै १७ करोड ६८ लाख लगानीमा निर्माण गर्ने गरि ठेक्का सम्झौता गरेर निर्माण कम्पनीहरूले गत फागुनदेखि आयोजनाको डिजाइन बनाउन सुरु गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell