PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

सर्ट फिल्म 'आराध्या' मा अभिभावकले समय नदिँदा बालमस्तिष्कमा पारेको प्रभावको कथा



पहिलोपोस्ट

सर्ट फिल्म 'आराध्या' मा अभिभावकले समय नदिँदा बालमस्तिष्कमा पारेको प्रभावको कथा

काठमाडौं : विद्यालय परिसरको दृश्य। मुख्य पात्र आराध्याको पढाईमा खासै ध्यान छैन।

त्यही बेला उनका एक साथीले भन्छन् : आराध्या, हिजो मेरो बर्थडे थियो नी। सबले के के गिफ्ट दिनुभयो मलाई। दादा, मामा, मामु र साथीले दिएको। अनि थाहा छ हिजो म 'जु' पनि गएको नि। बाबाले मिठी पापा पनि किनिदिनुभएको। अनि आज मामुले मेरो फेबरेट टिफिन पनि आफ्नै हातले बनाउनु भएको, खान्छौ?

साथीको कुरा सुनेर आराध्या झन दु:खी हुन्छिन्। कारण : साथीले भनेका कुराहरु कहिल्यै आफ्ना आमाबुवाबाट पाइनन् उनले।

आमाबुवाले ध्यान नदिँदा आराध्याको मनभित्र के बित्छ? र उनको बालमस्तिष्कमा के असर गर्छ? यी नै प्रश्नको जवाफ दिन्छ सर्ट फिल्म ‘आराध्या’ ले। सो फिल्म आज आज युट्युबमा सार्वजनिक भएको छ।

सञ्चारकर्मी रामजी ज्ञवाली निर्देशित यस फिल्मले समसामयिक विषयवस्तुलाई उठाएको छ। पछिल्लो समय धेरै अभिभावकहरु आफ्नो काममै व्यस्त हुन्छन्। जसकारण उनीहरुलाई छोराछोरीलाई समय दिन नै मुश्किल परिरहेको हुन्छ। तर, अभिभावकले समय नदिँदा उनीहरुको बालमस्तिष्कमा पार्ने असरको कथा फिल्मले भन्छ।

फिल्ममा आराध्याको भूमिकामा देखिएकी छिन् द्रोस्टी शाह। साथै यस सर्ट फिल्ममा आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकी, नारायण कंडेल, प्रन्जल पौडेल, सृष्टि भुषाल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। फिल्मभित्र समावेश ‘मिठी पापा’ बोलको गीत पनि राम्रो छ।

ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभर लगायत सर्ट फिल्म र केही म्युजिक भिडियोहरु निर्देशन गरिसकेका छन्। फिल्मको कथा निर्देशक रामजी र आर्यन अधिकारीले लेखेका हुन्।

राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नहकुल खड्काको सम्पादन छ। काठमाडौं आसपास क्षेत्रमा खिचिएको फिल्मलाई केहि अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा सहभागी गराउँदा सार्वजनिक हुन ढिला भएको निर्देशक रामजी ज्ञवालीले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell