PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सत्ता गठबन्धन भत्किन्छ? ओलीले गरेका ५ संकेत



प्रकाश भण्डारी

सत्ता गठबन्धन भत्किन्छ? ओलीले गरेका ५ संकेत

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रष्ट वक्ता हुन्। वाकपटुकतामा कतिसम्म सिपालु छन् भने विरोधीलाई सकेसम्मको प्रहार गर्ने र आफ्नै कित्तामा उभ्याउन सकेको कोशिश गर्ने रणनीति नै हो उनको। अघिल्लो दिनसम्म विरोध गरिरहेका ओलीले पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई आफ्नो निवास बालकोटमा उपस्थिति गराउन सफल हुनुले नै प्रष्टै पार्छ, ओलीको बोली कति रणनीतिक हुन्छ भन्ने।

ओली अहिले प्रचण्डप्रति नरम त छन् नै तर सांकेतिक रुपमा भने चेतावनी दिन पनि पछि परेका छैनन्। अबको राजनीति सरल रेखामा अघि नबढ्नेसम्म व्याख्या गर्न भ्याएका छन् ओलीले। उनको मंगलवारको मुख्य सन्देश नै त्यही छ- कांग्रेस नेतृत्वको गठबन्धन ढाल्यौं भनेर खुसी भएर बस्ने स्थिति छैन। जतिबेला पनि कांग्रेस फेरि सत्तामा फर्कन सक्ने ओलीको ठम्याइ छ। राष्ट्रपतिको निर्वाचनसम्म राजनीतिमा बदलाब आउन सक्ने सन्देश ओलीले दिइरहेका छन्। 

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीले सत्ता गठबन्धनमा विभाजन ल्याउन षडयन्त्र भइरहेको बताए। प्रज्ञा प्रतिष्ठानमा आयोजित अनेरास्ववियुको २३ औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले गठबन्धनको स्थायित्वबारे टिप्पणि गरे। राजनीतिमा फेरि पनि उतारचढाव आउन सक्ने ओलीको भनाइ छ। फागुन २५ गते राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिबाट राष्ट्रपति छान्नुपर्ने अडान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखिरहेका बेला ओलीले गठबन्धनमा फेरबदल आउनसक्ने संकेत गरेका छन्।

प्रचण्डले नेपाली कांग्रेसलाई समेत समेटेर राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेका छन् भने ओलीले पुस १० गते भएको सहमतिअनुसार एमालेले नै राष्ट्रपति पाउनुपर्ने अडान राखेका छन्। प्रचण्ड-ओलीको अडानका कारण गठबन्धनमा संकट पैदा भइरहेको छ। ओलीले समेत उक्त संकटबारे मंगलवार मुख खोलेका हुन्।

'उतार चढाव फेरि पनि आउँछन्'

राजनीति सरल रेखामा अघि नबढ्ने बताएका ओलीले फेरि पनि उतारचढाब आउने बताए। अहिलेको गठबन्धन पनि राजनीतिक उतारचढावकै परिणाम भएको स्वीकारेका ओलीले फेरि पनि त्यस्तै स्थिति बन्न सक्ने बताइरहेका छन्। कांग्रेस नेतृत्वको सरकार ढलाएकोमा प्रसन्न भएर नबस्न एमालेका नेतालाई निर्देशन नै दिए ओलीले। गठबन्धन ढलाउनु आफ्नो सफलता भएको दाबी गरेका ओलीले एमाले र माओवादीका नेतालाई अहिलेको स्थिति फेरिनसक्ने समेत बताए। प्रचण्डलाई अहिलेको स्थिति फेरिए अप्ठेरोमा पर्ने ओलीले चेतावनीसमेत दिए। जसको प्रष्ट सन्देश हो - राष्ट्रपतिमा भएको सहमति पालना हुनुपर्छ। 

'सोझो रेखामा राजनीति जाँदैन। हामीले अनेक उतारचढाव देखेका छौं। उतारचढाव फेरि पनि आउँछन्। अहिले साथीहरु काफी प्रसन्न भएको देख्छु म। हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं,' ओलीले भनेका छन्,' यो सफलताको कुरा हो। तर हाम्रो पार्टीका आम साथीहरु प्रसन्न भएको देखिन्छ। प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने?' 

एमालेलाई प्रचण्ड-नेपालले पराजित गर्न खोजे पनि सकेनन्!

पूर्व सहयात्री नेता माधवकुमार नेपालको नामै नलिएका ओलीले उनकै कारण एमाले अप्ठेरोमा परेको भन्न भ्याए। चुनावमा एमाले कमब्याक भएको टिप्पणी ओलीको छ। प्रचण्ड-नेपालले आफूलाई साधारण सदस्यबाट समेत हटाएको स्मरण ओलीले गरेका थिए। 'हामीलाई घेराबन्दीमा पारिएकै हो। वामपन्थी आन्दोलनलाई दुई तिहाइको स्थितिमा पुर्‍याएका थियौं। तर दुखको कुरा जोगाउन सकिएन। भित्रैबाट प्रहार भयो,' ओलीले भने,' एमालेलाई त ध्वस्तै पारेका हुन् उनीहरुले। कब्जा नै गरेका हुन्। अध्यक्षलाई त साधरण सदस्यबाट समेत भविश्यमा सदस्यसमेत हुन नसक्नेगरी। पार्टीलाई हामीले फेरि उठाएका छौं।' 

'कांग्रेसको जहिलेको षडन्त्र एमालेमाथि'

ओली प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसप्रति प्रचण्डले विश्वासको मत लिएको दिन पुस २६ देखि नै सशंकित छन्। आज पनि ओलीले कांग्रेसले एमालेमाथि जहिले पनि प्रहार गर्न खोजेको बताए। उनले कम्युनिस्टमाथि नै कांग्रेसले विभिन्न कालखण्डमा षडयन्त्र गरेको आरोप लगाए। 'कंग्रेसले हामीलाई पञ्चायको पक्षमा लाग्यो भनेर आरोप लगायो। पञ्चायतलाई धाँधली गरेर जिताइएपछि कंग्रेसले धाँधली स्वीकार्छु भनेर पञ्चायतको जितलाई मान्छु। त्यसपछिको पञ्चायत मान्छु भन्यो। हामीले कहिले पनि पञ्चायत स्वीकारेको छैन,' ओलीको आरोप थियो। 

निर्वाचनमा सेन्टिमेन्टको प्रतिबिम्ब

ओलीले दिएको अर्को सन्देश हो - प्रतिनिधि सभाको निर्वाचनमा सेन्टीमेन्टले काम गर्‍यो। आफू नेतृत्वको सरकारलाई बिद्रोहबाट ढाल्न खोजिएको आरोप ओलीले लगाए। उनले चुनावमा नयाँ दल र नेता आउनुमा त्यहिँ सेण्टिमेण्टले काम गरेको बताए। 'हामी सरकारमा भएका बेला बिद्रोहबाट पल्टाउने अनेक प्रयास भए। कारण केही पनि छैन। प्रधानमन्त्री निवास घेर्ने? कहिले इनफ इज इनफ भन्ने। त्यति राम्ररी भइरहेको विकास त्यसलाई सहन नसकेर त्यस प्रकारका सेन्टीमेन्टल कुरा भए। विभिन्न समयका निर्वाचनसम्म पनि सेन्टीमेन्टलको प्रतिबिम्ब भए,' ओलीले भनेका छन्।

भित्र र बाहिरका शक्ति सत्ता ढाल्न क्रियाशिल!

ओलीले एमालेमाथि फेरि प्रहार हुन सक्ने बताए। त्यसको असर अहिलेको सरकारको नितरन्तामा पर्ने उनको भनाइ छ। संसदमा पनि कसैको बहुमत नभएकाले अस्थिरता उत्पन्न हुन सक्ने उनको भनाइ छ। 'संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको बनावट छ। बहुमत कसैको छैन, हाम्रो पार्टीसँग पनि छैन। बहुमतभन्दा निकै तल सिट छ। भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बर्बाद पार्न क्रियाशील छन्,' ओलीले भने। उनले एमालेमाथि प्रहार गरेमात्रै अहिलेको सरकार ढाल्न सकिने भन्दै त्यसका लागि प्रयास भएको टिप्पणी गरे। भने, 'कुनै डाँकाले बैंकमा डकैत गर्न सबैभन्दा पहिला पालेलाई प्रहार गर्छ। नेकपा एमाले यो देशमा डकैती गर्न नदिन पाले हो। त्यसकारण यसमाथि प्रहार हुन सक्छ। भइआएको छ। फेरि पनि हुदैँन भन्न सकिदैँन।'  

ओलीले प्रज्ञा प्रतिष्ठानबाट राजनीतिक उतारचढाव आउनसक्ने बताएकै अघिल्लो दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रुपन्देहीमा सत्ता गठबन्धन ढल्न लागेको दाबी गरेका थिए। एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि पुस १० को सहमति पालना नभए सरकारको स्थायित्वबारे सोच्नुपर्ने पहिलोपोस्टलाई बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell