PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कीर्तिपुरमा नामिबियामाथि जितका रोचक किस्सा : फुटबलमा वर्षा झैं क्रिकेटमा के छ 'भ्यालेन्टाइन डे'को कनेक्सन?



मुकुन्द घिमिरे

कीर्तिपुरमा नामिबियामाथि जितका रोचक किस्सा : फुटबलमा वर्षा झैं क्रिकेटमा के छ 'भ्यालेन्टाइन डे'को कनेक्सन?
सबै तस्बिरहरु: क्यान

काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा मंगलवार नेपालले नामिबियालाई हराउँदै त्रिकोणात्मक सिरिजमा सुखद सुरुवात गर्‍यो।

नामिबियालाई ओडिआईमा पहिलो पटक हराउँदा धेरै कीर्तिमानहरु पनि बने। इतिहासलाई सम्झिएर हसीमजाक पनि भयो। इतिहास अर्थात पाँच वर्षअगाडिको आजैको दिन। फेब्रुअरी १४- भ्यालेन्टाइन डे। डिभिजन २ को क्यानडाविरुद्धको खेलमा करण केसीले अविश्वसनीय पारि खेल्दै नेपाललाई एकदिवसीय मान्यता दिलाउन अहम् भूमिका खेलेका थिए। त्यसैले त क्रिकेट समर्थकहरु करणलाई 'भ्यालेन्टाइन ब्वाइ' भन्न रुचाउँछन्।

नामिबियाविरुद्धको मंगलवारको खेलमा पनि करणको प्रदर्शन उच्च रह्यो। बलिङतर्फ ६.१० को इकोनमीमा ५ विकेट लिए केसीले। त्यस्तै ब्याटिङतर्फ २० रनमा अविजित रहे। पानी परे नेपाली फुटबलमा जित निकाल्न सजिलो हुन्छ भन्ने ठट्टा झैं खेलपछि करण केसीको पारिको चर्चा गरे कप्तान रोहित पौडेलले। उनी ठट्टा गर्दै थिए: नेपालको महत्वपूर्ण खेलहरु भ्यालेन्टाइन डे मै राख्नुपर्छ जस्तो छ।

करणबाहेक चर्चाको शिखरमा रहे कुशल भुर्तेल। घरेलु मैदानमा शतक प्रहार गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने उनी चौथो नेपाली खेलाडी बने। त्यस्तै एकदिवसीय र टी २० दुबैमा शतक प्रहार गर्ने तेस्रो खेलाडी।

'पहिलो पटक शतक प्रहार गर्दा खुशी लागेको छ। हामीले सोचेजसरी राम्रो भएको छ,' खेलपछि भुर्तेलेले भने, 'आफ्नो भन्दा पनि टिमको राम्रो भएकोमा खुशी छु। अन्तिममा फिनिसिङ गर्न पाएको भए अझ खुशी हुने थिएँ।'

ऐतिहासिक स्कोर

नेपालले नामिबियालाई हराउने क्रममा इतिहासकै सबैभन्दा ठूलो स्कोर बनायो आज। नेपालले यसअघि बनाएको सबैभन्दा ठूलो स्कोर थियो: २८६। यो स्कोर नेपालले कीर्तिपुरकै मैदानमा पपुवा न्युगिनीविरुद्ध बनाएको थियो।

आजको खेलमा लक्ष्य थियो २८६ रन। अन्तिम बलमा सोमपाल कामीले चौका प्रहार गरेसँगै नेपालको स्कोर भयो २८७ अर्थात कीर्तिमानी रन स्कोर।

'आज इतिहास बन्यो। आजसम्म २८६ रन पछ्याउन सकिएको थिएन। आज सकियो,' कप्तान पौडेलले भने, 'मोमेन्टमा सिर्जना भएको छ। यसलाई निरन्तरता गर्नुपर्ने हुन्छ। यही लयलाई पछाडिको खेलमा पनि लैजाने चुनौती छ।'

नामिबियामाथि ऐतिहासिक जित

घरेलु मैदानमा सिरिजको सुखद सुरुवात गर्ने क्रममा नेपालले नामिबियामाथि ऐतिहासिक जित निकालेको छ। नेपालले यसअघि नामिबियासँग चारपटक एकदिवसीय क्रिकेट खेल्दा जित निकाल्न सकेको थिएन। यसपटक घरेलु मैदानमा नामिवियामाथि ऐतिहासिक जित निकालेको हो।

'पहिलो पारि सकिएपछि डगआउटमा प्यानिक नहोउ। चेज गर्छौँ हामी। विश्वास राख भन्नु भएको थियो कोचले। फ्रीलि खेल्न दिइरहनु भएको थियो,' कप्तान रोहित भन्छन्, 'प्रधानमन्त्री कपमा आर्मी र पुलिसको खेल हुँदा ३ सयभन्दा माथि चेज गरेका थियौँ। आज पनि सक्छौँ भन्ने कुरा भएको थियो।'

रोहित र कुशलको कीर्तिमानी साझेदारी

रोहित र कुशलले नामिबियाविरुद्धको खेलमा १३३ रनको साझेदारी गरे। यो नेपाली क्रिकेट टोलीकोतर्फबाट एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी हो।

रोहित र कुशलले कीर्तिमान बनाउने क्रममा देव खनाल र दीपेन्द्रसिंह ऐरीको अघिल्लो वर्ष पपुवा न्युगिनीविरुद्धको खेलमा बनेको कीर्तिमानलाई पछि पारे। खनाल र ऐरीले १२९ रनको साझेदारी गरेको थिए।

ठूलो साझेदारीको सूचीमा तेस्रो स्थानमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखको साझेदारी छ। उनीहरुले कीर्तिपुरमा यूएईविरुद्ध १२२ रनको साझेदारी गरेका थिए।

लिन्गेनको शतक, करणको पाँच विकेट

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले नेपालसामू विशाल लक्ष्य प्रस्तुत गरेको थियो। नामिबियाका लागि शतकीय पारि खेल्दै मिचेल भान लिन्गेनले सर्वाधिक १ सय ३३ रन बनाए। त्यस्तै कप्तान गेहर्राड इरसमसले ५६ रन बनाउँदा जेन ग्रीनले ३४ रन बनाए।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले समान १ विकेट लिए।

समर्थकको बाक्लो उपस्थिति

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल चलिरहँदा दर्शकको बाक्लो उपस्थिति थियो। पहिलो पारि सकिँदा गेट ठेलेर धेरै संख्यामा दर्शकहरु भित्र प्रवेश गरेका थिए। 

एकदिवसीयमा रोहितको हजार रन पुरा, चौथो अर्धशतक

आजको खेलबाट कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा हजार रनको कोशेढुंगा पार गरेका छन्। उनले आजको ७२ रनसहित ओडिआईमा १०१७ रन बनाएका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा हजार रन पुरा गर्ने पौडेल एकमात्र खेलाडी हुन्। उनी पछि ज्ञानेन्द्र मल्लको ७३४ रन छ भने तेस्रो स्थानमा रहेका आशिफ शेखको ६५५ रन छ।

त्यस्तै पौडेलले एकदिवसीय करियरको चौथो अर्धशतक पनि पुरा गरेका छन्।

'रेकर्डलाई लिएर एकदमै खुशी छु। ब्याटिङ कन्फिडेन्टली गरिरहेको छु,' कप्तान पौडेल भन्छन्, 'यसैलाई अघि बढाउनेछु। करियरको अन्त्यसम्म यति नै बनाउछु भन्ने लक्ष्य बनाएको छैन।'

अंकतालिका

जितसँगै लिग टू मा ब्याकटूब्याक पराजय ब्यहोरिरहेको नेपाललाई राहत मिलेको छ। २५ खेलबाट नेपालले २० अंक जोड्दै छैटौँ स्थानमा कायम छ। पाँचौँ स्थानको यूएईभन्दा नेपाल ७ अंकले पछाडि छ। अर्थात यूएईले २६ खेल खेलेर २७ अंक जोडेको छ। नेपाल भन्दा पछाडि सातौँ स्थानमा ५ अंक जोडेको पपुवा न्युगिनीमात्र छ।

तालिकाको शीर्षस्थानमा ३२ खेलबाट ४६ अंक जोडेको स्कटल्याण्ड रहँदा दोस्रो स्थानमा ३६ खेलबाट ४४ अंक जोडेको ओमन छ। त्यस्तै नामिबिया ३१ खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा रहँदा ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell