PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

२४ किलो चरेशसहित चार थाइ नागरिक विमानस्थलबाट, लागूऔषधवापतको रकम लिन सुन्धारा उत्रेका भारतीय पक्राउ



रासस

२४ किलो चरेशसहित चार थाइ नागरिक विमानस्थलबाट, लागूऔषधवापतको रकम लिन सुन्धारा उत्रेका भारतीय पक्राउ

काठमाडौं : अन्तरदेशीय अवैध लागूऔषध चरेश कारोबारीमा थाइ नागरिक पनि संलग्न भएको पाइएको छ। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँका अनुसार चरेश नेपालबाट थाइल्यान्ड लैजान खोज्ने उनीहरूको प्रयास भने असफल भएको छ।

जाँच गर्दा उनीहरूबाट झण्डै २४ किलो चरेश फेला परेको ब्युरोका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए। यसरी चरेश लैजान खोज्ने थाइ नागरिक येवालुक ज्वाब्स्री, परिचार्ट पम्परुक, न्याटपोल ट्रीचैया र न्याट्नरी ट्रीचैयालाई पक्राउ गरिएको उनले बताए। उनका अनुसार उनीहरू थाइलाइन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट थाइल्यान्डको बैंकक जान लागेका थिए। सूक्ष्म निगरानीमा निस्किएको प्रहरीले उनीहरूको गतिविधि शंकास्पद देखेपछि लगेज जाँच गर्दा फल्स बटम बनाई लागूऔषध ओसारपसार गर्न लागिएको फेला परेको पनि रञ्जितकारले बताए।

उनीहरूले फल्स बटम बनाएर लुकाई लैजान लागेको अवस्थामा २३  दशमलव आठ किलोग्राम चरेश बरामद गरिएको छ। उनीहरूले कोसँग कसरी चरेश खरिद गरेका थिए भन्ने कुरा खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको उनले बताए। यसैबीच प्रहरीले विशेष सूचनाका आधारमा निरन्तर निगरानी पश्चात नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगनलगायत केही नेपालीलाई पक्राउ गरेको उनले बताए।

ठूलो परिमाणको नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याब्लेट तथा अन्य लागूऔषध २० हजार एम्पुल तथा नगद चार लाख १७ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट प्राप्त सूचनालाई विश्लेषण गरी निरन्तर निगरानीपछि उनीहरूलाई पक्रन ब्युरो सफल भएको बताइएको छ। पक्राउ परेका सोलुखुम्बुका लाक्पा शेर्पाबाट लागूऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन गरी २० हजार ३०० एम्पुल, नाइट्राभेट १२ हजार ९५० ट्याब्लेट र रु ४, लाख ५ हजार नगद बरामद गरिएको छ। शेर्पा विसं २०७० असारमा हातहतियार मुद्दामा पक्राउ परी तीन वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन्।

सुन्धारास्थित सडक किनारबाट शेर्पालाई बिक्री गरेको लागूऔषधवापतको रकम लिन भारत मधुवनीबाट काठमाडौँ आएका ३८ वर्षका फैज अहमदल र धनुषाका २९ वर्षीय रिहासद भन्ने अयान रेजालाई पक्राउ गरी काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell