PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

‘फ्लाइओभर’ निर्माण सुरु भएसँगै ग्वार्को चोकमा सवारी जामको समस्या, विकल्प खोज्दै ट्राफिक प्रहरी

‘फ्लाइओभर’ निर्माण सुरु भएसँगै ग्वार्को चोकमा सवारी जामको समस्या, विकल्प खोज्दै ट्राफिक प्रहरी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : ललितपुरको ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण आइतवारदेखि सुरु भएको छ। सडक विभागले चार लेन सडकको बिचमा निर्माण सुरु गरेसँगै सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ।

‘फ्लाइओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ। कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ। केही दिनयता सवारीसाधन दुई घण्टासम्म पनि रोकिने अवस्था आएको बताइएको छ।

हाल बालकुमारी पुलदेखि ग्वार्को चोकसम्म सडक छेउका दुई-दुई लेनमा मात्रै यातायात सञ्चालन भइरहेका छन्। अहिले सर्भिस लेन र सर्भिस ट्र्याकबाट मात्रै सवारीसाधन चलिरहेका छन्।

‘फ्लाई ओभर’को निर्माण सकिन एक डेढ वर्ष लाग्ने र तबसम्म उक्त रुटमा चल्ने सवारीसाधनले विकल्प खोज्नुपर्ने देखिन्छ। कोटेश्वरदेखि ललितपुरतर्फ जाने सवारीसाधन बालकुमारी पुलको बाटो नभइ जडीबुटीदेखि टिकाथली वा इमाडोल हुँदै सातदोबाटो पुग्न सक्छन्।

निर्माण सुरु भएपछि सोही सडकमा सबै गाडी गुडाउँदा समस्या हुने भएपछि सवारीसाधन व्यवस्थापनका लागि डाइभर्ट गर्नुपर्ने सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीको भनाइ छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘फ्लाइओभर’को उचाइ ६ मिटर हुने गरि निर्माण सुरु गरिएको छ। फ्लाइओभरमा पुग्न बालकुमारीतर्फबाट चार प्रतिशतको ग्रेडमा चढ्नुपर्नेछ।

बालकुमारीतर्फ २८० मिटर र सातादोबाटोतर्फ १७५ मिटर लम्बाइको ‘र्‍याम्प’ हुनेछ। ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाइओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ।

फ्लाइ ओभर निर्माणका लागि गत वर्ष फागुनमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो। फ्लाइ ओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँ खर्च हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell