PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

नेपाल भर्सेस भारत : 'फुटबलमा लय समात्ने' भारतीय रणनीति, नेपालको के?



पहिलोपोस्ट

नेपाल भर्सेस भारत : 'फुटबलमा लय समात्ने' भारतीय रणनीति, नेपालको के?
Photo: AIFF

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतसँगै मैत्रीपूर्ण खेल खेल्दैछ। भारतको चेन्नइस्थित जवहारलाल नेहरु स्टेडियममा साँझ पौने ८ बजे खेल सुरु हुनेछ।

भारतीय फुटबल टोलीका प्रशिक्षक थोमस डेनब्रीले नेपालसँगको खेललाई ओलम्पिक छनोटको तयारीका रुपमा लिएको बताएका छन्।

'हामी अहिले नतिजा खोजिरहेका छैनौं। हाम्रो मुख्य उद्देश्य ओलम्पिक क्वालिफायरका लागि टोली निर्माण गर्नु हो। नेपालसँगका यी खेलहरू त्यस प्रक्रियाको हिस्सा हुन्,' उनले खेलअघि पत्रकार सम्मेलनमा भने।

नेपाल र भारतीय महिला फुटबल टोलीले अब खेल्नु पर्ने मुख्य प्रतियोगिता भनेको ओलम्पिक छनोट हो। ओलम्पिकको एसियाली छनोटको पहिलो 'राउण्ड'लाई चार टिम सम्मिलितको पाँच समूह र तीन टिमको दुई समूह गरि सात समूहमा विभाजन गरिएको छ।

ओलम्पिक क्वालिफायर्समा भारत, कीर्गिस्तान र तुर्किमेनिस्तान समूह 'जी' मा छन्। नेपाल समूह 'सी'मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँग छ। छनोटका खेलहरु अप्रिल ३ देखि ११ सम्म हुनेछ।

भारतीय फुटबल संघ (एआईएफएफ)को वेबसाइटमा साफ च्याम्पियनसीपमा नेपालसँगको पराजयलाई उल्लेख गर्दै नेपालसँगको प्रतिस्पर्धा 'टफ' हुने उल्लेख गरिएको छ। नेपालले पछिल्लो समय साफ यू २० मा पनि भारतलाई ३-१ गोलअन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो।

'नेपाल अवश्य पनि राम्रो टोली हो। यी खेल हाम्रा खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय फुटबलको गतिमा फर्किने राम्रो अवसर हुनेछ,' डेनर्बीले भने, 'हामीले चेन्नईमा प्रशिक्षण गरिरहेका छौं। अन्तर्राष्ट्रिय खेलहरू त्यसै पनि महत्वपूर्ण छन्। यो क्वालिफायरको लागि तयारी गर्ने राम्रो तरिका हो।'

अर्कोतर्फ नेपाली टोलीका प्रशिक्षक अनन्त थापाले भारतीय टोली बलियो प्रतिस्पर्धी भएको भन्दै आफ्नो टोलीले पनि राम्रो तयारी गरेको बताए।

'तयारी राम्रो भएको छ। एन्फा कम्प्लेक्समा तयारी गरेका थियौं दुई हप्ता देखि। टिममा राम्रो कम्बिनेसन भएको छ,' तयारीबारे भारत जानुअघि अनन्त थापाले भनेका थिए, 'भारत दक्षिण एसिया कै टफ टोली हो। एउटा राम्रो प्रतिष्पर्धात्मक खेल हुन्छ जस्तो लाग्छ।'

थापाले दक्षिण एसियाली खेलकुदका सबै खेललाई नजिकबाट नियालेको भन्दै त्यहाँ गरेका गल्तीलाई सुधार्ने काम गरेको बताउँछन्।

'छोटो समय भए पनि राम्रोसँग टिम हेरेको छ। त्यसलाई हेरेर सुधार गर्नुपर्ने पक्षमा काम गरेको छु,' उनले भनेका थिए, 'नेपाली टोलीले नयाँ शैलीले खेल्नेछ र कसरी खेल्छ भन्ने सन्देश दिन चाहन्छ। महिला टोली सशक्त टोली भएर निस्कनेछ।'

महिला फुटबलमा नेपाल र भारतको प्रतिद्वन्दीता पुरानो हो। क्षेत्रिय प्रतियोगिता साफ च्याम्पियनसीपमा अधिकांश समय भारत नेपालको तगारो बन्दै आएको छ। पछिल्लो संस्करणमा मात्र नेपालले पहिलो पटक साफमा पराजित गर्दै इतिहास बनाएको थियो। त्यही लयलाई निरन्तरता दिने चुनौती नेपाललाई हुनेछ। केहीदिन अघि बंगलादेशमा भएको साफ यु-२० मा नेपाली महिला टोलीले भारतलाई पराजित गरेको थियो। त्यसैले पनि भारतसँगको खेलमा जित निकाल्न नेपाली राष्ट्रिय टोलीलाई दबाब हुनेछ।

गत असोजमा भारतीय टोली नेपालमा पराजित हुँदा केही महत्वपूर्ण भारतीय खेलाडी टिम बाहिर थिए। त्यसमध्येकी एक हुन् : इन्दुमथि कथिरेसन्। उनले घरेलु मैदानमा नेपालमाथि जित निकाल्ने लक्ष्य लिएको बताइन्।

'म यति लामो समयदेखि खेलिरहेको छु तर मैले मेरो घरेलु मैदानमा (तमिलनाडू) राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएको छैन। अब मैले यहाँ यति लामो 'क्याम्प' गरेको छु र अब यहाँ तमिलनाडुमा खेल्न पाउनेछु। यी दुई खेलको लागि साँच्चै उत्साहित छु।'

भारतीय टोलीसँग यसपटक कप्तान असलता देवी दुबै खेलमा उपलब्ध हुनेछैनन्। चोटबाट गुज्रिरहेकी उनलाई ठीक हुन अझै कम्तीमा १० दिन लाग्ने बताइएको छ। त्यस्तै मिडफिल्डर रतनवाला देवी पनि उपलब्ध नहुने स्पोर्टस् स्टारले जनाएको छ।

फर्वाड सन्धिया रंगनाथनले नेपालविरुद्धको खेलमा ठूलो संख्यामा दर्शकको उपस्थिति हुने विश्वास लिएको बताइन्।

'मलाई याद छ, हामी उनीहरूविरुद्ध खेल्न नेपाल जाँदा हामीलाई उनीहरुको समर्थकको भीडले स्वागत गर्दथ्यो। अब जब उनीहरू हाम्रो घरमा आउँदै छन्, उनीहरुलाई पनि हाम्रो समर्थकको भीडले स्वागत गरुन् भन्ने चाहन्छु।'

नेपाल र भारतबिचको खेल स्ट्रिमिङ प्लेटफर्म 'फ्यानकोड'ले प्रत्यक्ष प्रसारण गर्ने एआईएफएफले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell