
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा गणतन्त्रविरोधी गतिविधिबारे प्रश्न नउठेकोमा अचम्म मानेका छन्। आफूले नेपालको गणतन्त्र पटकपटक खतरामा छ भन्दै प्रश्न उठाउँदै आएको उल्लेख गर्दै केसीले सत्ताधारी दलकै नेताले गणतन्त्र विरोधी अभियान शुरु गरेको बताए।
सत्तामा रहेको प्रमुख दल एमालेतिर लक्षित गर्दे केसीले भने, 'नेपालमा गणतन्त्रमाथि खतरा गणतन्त्र पक्षधरबाटै छ। गणतन्त्र मुखले स्विकारे पनि व्यवहार गणतन्त्र विरोधी छ। सत्ता र शक्तिमा रजाईका लागि गणतन्त्र सिध्याउन लागिरहेका छन्।'
फागुन १ गते एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा गणतन्त्रविरोधी अभियान चलाएका थिए। यसबारे संसदमा कुनै सांसदले नबोलेकोमा आफूलाई अचम्म लागेको केसीको भनाई थियो। 'केही दिन पहिले सत्ताधारी दलकै केन्द्रीय सदस्यको नेतृत्वमा झापामा जुन दृश्य देख्यौ। गणतन्त्रको विरुद्धमा चलेको यो अभियानले गणतन्त्रमाथि मडारिएको कालो बादल सबैले देख्नुभएको होला नि। त्यसमाथि त कुरा चलेन त। मैले त आशा गर्या थिए। देशको गणतन्त्रमाथि आक्रमण शुरु भइसकेको छ,' केसीले भने, 'गणतन्त्र कसैको निगाहले दाइजो दिएको हैन। गणतन्त्र पक्षधरबीचको लुछाचुडीले गणतन्त्र नै धरापमा पर्ने खतरा छ।'
भारतीय चलखेलको विरोध
केसीले राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा भारतीय विदेश सचिवको भ्रमणबारे प्रश्नसमेत उठाए। उनले भारतको एउटा कर्मचारी आउँदा राष्ट्रप्रमुखदेखि सरकार प्रमुखले लम्पसार परेर भेटेकोमा अचम्म माने।
'एक दुई दिन पहिले भारतको परराष्ट्र सचिवको आगमान भयो। एउटा कर्मचारी। उहाँले राष्ट्रप्रमुखदेखि सरकारप्रमुखका बीचमा भेटघाटको अभियान चलाउनुभयो,' केसीले भने, 'भारत ठुलो होला। तर सर्वभौमसत्ताको हिसाबले राष्ट्र ठुलो सानो हुँदैन। नेपालबाट मन्त्रीहरु जाँदा भारतीय शासकहरु भेट्नै सक्दैनन्। उहाँहरु निराश भएर फर्कनुहुन्छ। छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्रप्रमुख विभिन्न तहका मान्छेहरु किन विदेशीको अगाडि लम्पसार परिरहेका छन्? लाज पनि लाग्दैन।'
नेताहरुले विदेशी शक्तिको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काममा लाग्दा राष्ट्रको सर्वभौमसत्तामाथि खलल पुगेको उनको भनाई थियो। 'अहिले चर्चाको विषय छ राष्ट्रपति कसलाई बनाउने? शक्ति राष्ट्रहरुले राष्ट्रपतिको नाममा प्रत्यक्ष आफ्नो देशको अनुकुल मान्छे बनाउने खेल भइरहेको छ,' उनले भने, यसले नेपालको सर्वभौमसत्तामा दखल पुगिरहेको छ। हामीलाई लाज लाग्दैन? कि विदेशी शक्तिका मानिस आउँदा लम्पसार परेर उनीहरुको आशीर्वादबाट हाम्रो दुनो सोझ्याउने कामले राष्ट्रको सर्वभौममाथि खलल पुगिरहेको छ।'