PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

स्रोतमा फोहर वर्गीकरण किन हुन सकिरहेको छैन?



पहिलोपोस्ट

स्रोतमा फोहर वर्गीकरण किन हुन सकिरहेको छैन?

काठमाडौं : काठमाडौं महानगरपालिकाले सात महिनादेखि स्रोतमा फोहर वर्गीकरण गरि अन्तिम व्यवस्थापन गर्ने भने पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

फोहर व्यवस्थापन कार्य प्रभावकारी बनाउन कामपाले गत साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहर वर्गीकरणको काम थालेको थियो। तर, महानगरको ३२ वटै वडामा फोहरको वर्गीकरण हुन सकेको छैन। सुरुमा केही दिन नगरवासीले घरबाट नै फोहर वर्गीकरण गरि ल्याउने गरे पनि अहिले सबै किसिमको फोहर एउटै भाँडोमा राखेर व्यवस्थापनको काम भइरहेको छ।

महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहर वर्गीकरण गरि ल्याइन्छ। केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ।

श्रेष्ठले भने, 'कुहिने फोहर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ। त्यसबारे महानगरले केन्द्र सरकारसँग छलफल गरिरहेको छ। स्थान प्राप्त हुनेबित्तिकै स्रोतमा नै फोहरको वर्गीकरण गरि प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ।'

परीक्षणका रुपमा यसै हप्तादेखि टेकु ट्रान्सफर स्टेसनमा नै कुहिने फोरलाई मल बनाउने काम सुरु हुने उनले बताए।

'यो सँगै उपत्यकाको अन्य केही स्थान र काठमाडौं उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थान बञ्चरेडाँडामा पनि कुहिने फोहर अलग राखेर मल बनाउने काम सुरु गर्ने तयारी महानगरको छ', श्रेष्ठले भने।

तत्कालका लागि स्थान अभावकै कारणले फोहर वर्गीकरणको काम प्रभावकारी हुन नसकेको महानगरको दाबी छ। महानगरको कूल ३२ मध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। वर्गीकरण योजना सबै वडामा लागू गरिएको छ तर कार्यान्वयन हुन सकेको छेन।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी महानगरबाट पाँच सय मेट्रिक टन फोहर जान्छ। निजी क्षेत्रबाट व्यवस्थापन हुने र महानगरको गरि दैनिक कम्तीमा दुई सय गाडीले फोहर ओसार्छन्।

अन्तिम फोहर व्यवस्थापन स्थान बञ्चरेडाँडामा दैनिक एक हजारदेखि एक हजार दुई सय मेट्रिक टनसम्म फोहर जाने गरेको छ। उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा उक्त स्थानमा पुग्छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिँदै आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell