PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

मानवअधिकार आयोगलाई बलियो बनाउने प्रचण्डको चाहना



पहिलोपोस्ट

मानवअधिकार आयोगलाई बलियो बनाउने प्रचण्डको चाहना

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउनुपर्ने बताएका छन्। बुधवार दिउँसो सिंहदरबारमा आयोगका पदाधिकारीहरूसँग भएको बैठकमा प्रधानमन्त्रीले आयोगलाई बलियो बनाउनुपर्ने बताएका हुन्।

'राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ,' प्रधानमन्त्रीले सरकार मानवअधिकारप्रति संवेदनशील भएको भन्दै भने, 'लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा म पुरै गम्भीर छु। आयोगका सातवटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्छ।'

प्रचण्डले नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिने पनि बताए।

'आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधनस्रोतले कति सवल छ भन्ने कुराले नेपालको मानवअधिकारको स्थिति के छ? भन्ने कुरा मापन हुन्छ। तसर्थ, आयोगलाई शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठूलो महत्व र भूमिका छ,' प्रधानमन्त्रीले भने।

बैठकमा आयोगका पदाधिकारीहरूले संघीय संरचनाअनुसार आयोगको पुनर्संरचना आवश्यक रहेको बताएका थिए। साथै साधनस्रोत र पर्याप्त बजेटका निम्ति सरकारसँग सहयोगको अपेक्षा आयोगका पदाधिकारीले राखेका थिए। यस्तै, मानवअधिकार आयोगका निम्ति आवश्यक पर्ने ऐनहरू र नियमावली निर्माणलाई प्राथमिकतामा राख्न पनि आग्रह गरिएको छ।

प्रचण्डले आयोगका पदाधिकारीले राखेका मागहरु योजनाबद्ध रूपमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell