काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोगंबु घटना छानबिन गर्न निर्देशन दिएका छन्। सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा निकायलाई प्रचण्डले निर्देशन दिएका हुन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्रीले अन्याय परेकालाई न्याय हुनेगरी दोषीमाथि कार्वाही गर्न भनेका हुन्।
'गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ,' प्रचण्डले भने,' घटनाको पृष्ठभूमि के छ? के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो?' लुटपाटको घटना झन् गम्भीर भएको प्रचण्डले बताएको उनको सचिवालयले जानकारी दिएको छ।
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतको सहभागिता थियो। बसपार्क क्षेत्रमा केही विवाद भए अप्रिय घटनाबारे पूर्वअनुमान नै नगरेको सुरक्षा निकायका प्रमुखले बताएका थिए।
घटनामा ३३ प्रहरी घाइते भएको उनीहरुको ब्रिफिङ थियो। शान्ति सुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बिच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको सुरक्षा निकायका प्रमुखले बताएका छन्।घटनाको छानविन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएको पनि उनीहरुले बताएका छन्।