PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

काठमाडौंका डाँडैडाँडा कुदाउन मञ्जुश्री अल्ट्रा ट्रेल रेस, ४० देशका धावक दौडने



पहिलोपोस्ट

काठमाडौंका डाँडैडाँडा कुदाउन मञ्जुश्री अल्ट्रा ट्रेल रेस, ४० देशका धावक दौडने
फाइल फोटो

काठमाडौं : मञ्जुश्री अल्ट्रा रेसको तेस्रो संस्करण फागुन २० बाट शुरु हुने भएको छ। काठमाडौं उपत्यकाको तीनैवटा जिल्लालाई समेट्ने यो रेस वाग्मती प्रदेश खेलकुद विकास परिषद, वाग्मती प्रदेश र स्वतन्त्र सामाजिक प्रतिष्ठानको संयुक्त आयोजनामा हुन लागेको हो। रेस तीन दिनसम्म चल्नेछ।

प्रतयोगिताका लागि प्रदेश खेलकुद विकास परिषदले ५० लाख रुपैयाँ प्रदान गर्ने परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले बताए।

'विश्वभरबाट सहभागी गराएर नेपालीले जित्ने गरि प्रतियोगिता गर्ने योजनाअनुसार धेरै अध्ययनपछि लगानी गरेका हौँ,' सदस्य सचिव भण्डारीले भने, 'यो सुरुवात हो। यसको निरन्तरता प्रदेशको उच्च प्राथमिकतामा छ।'

उनले रेसका लागि रुट सुरक्षा र मापदण्डका हिसाबले उपयुक्त भएको उल्लेख गर्दै यसमा पर्यटन बोर्ड र निजी संस्थाहरुबाट पनि सहयोगको अपेक्षा रहेको बताए।

अल्ट्रा धाविका मीरा राईले अन्तर्राष्ट्रिय ट्रेल रनिङ महासंघ (आइटीआरए)को मापदण्डभित्र रहेका कारण 'एलिट' खेलाडीको वरीयता प्रभावित हुने बताइन्। यसको कारण विश्वभरका शीर्ष अल्ट्रा धावकहरु नेपाल आउन चाहेको बताइन्।

कालु पाण्डे पार्कबाट सुरु हुने यो रेस काठमाडौँ उपत्यकाका सात ठूला पहाड हुँदै कालु पाण्डे पार्कमै आएर टुंगिनेछ। मञ्जश्री ट्रेलको वेबसाइटमा उल्लेख भएअनुसार यो १७५.१८ किलोमिटर क्षेत्र कभर गर्छ। जसमा जामाचो, शिवपुरी, नगरकोट, फुलचोकी, चम्पादेवी, बसमन्दुर र चम्पादेवीका डाँडाहरु पर्दछन्।

प्रतियोगितामा हालसम्म ४० देशका ३५० जना धावकले सहभागिता जनाउने पक्का गरेको भए पनि प्रतियोगिता सुरु हुने समयसम्म ५ सयभन्दा बढी धावकले सहभागिता जनाउने अनुमान रहेको मीरा राईले बताइन्।

प्रतियोगितामा ६ विधा रहेका छन्। जसमा १०० माइलको महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा रेस, १०० किमीको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेस, ५४ किमीको महिला तथा पुरुष अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस, २४ किमीको अन्तर्राष्ट्रिय ट्रेल रेस, १० किमीको अन्तर्राष्ट्रिय ट्रेल रेस, ५ किमीको अन्तर्राष्ट्रिय ट्रेल रेस छन्।

सबै विधाका पहिलो दोस्रो र तेस्रो हुने धावकले नगद पुरस्कार प्राप्त गर्नेछन्। १०० माइल र १०० किमीको विजेताले सर्वाधिक ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell