काठमाडौं : नयाँ बसपार्क क्षेत्रमा सोमवार मोबाइल लुटपाट गर्ने समूहका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। उनीहरुलाई पक्राउ गरी बुधवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसरको टोलीले सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा दैलेख भगवती गाउँपालिका वडा नं. ३ का तारकेश्वर बस्ने वर्ष २४ की चिरन रेग्मी, काठमाडौँ महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने वर्ष ३५ को नविन खड्गी, रुपन्देही खैरेनी नगरपालिका ५ स्थायी घर भइ काठमाडौं वडा २६ बस्ने सुजन खत्री र झापा शिवसताक्षी नगरपालिका वडा ४ घर भई हाल काठमाडौं वडा नं. १५ स्वयम्भु बस्ने प्रदिप बस्नेत रहेका छन्।
चार जनालाई अनुसन्धानका लागि ४ दिन म्याद थप गरिएको छ। 'पक्राउ परेका व्यक्तिहरुलाई मुलुको अपराध संहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसुरमा सम्मानित काठमाडौ जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमती प्राप्त गरी प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ,' जिल्ला प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक सीताराम रिजालले भने।
उनीहरुको साथबाट प्रहरीले विभिन्न मोडलका स्मार्टफोन र स्मार्ट घडीसमेत बरामद गरेको जनायो। यसैगरी प्रहरीले शंकास्पथ थप १० जनासमेत पक्राउ गरी अनुसन्धान थालेको प्रहरीको दाबी छ।
यसैगरी प्रहरीको गाडी तोडफोडमा उत्रिएका ६ जनालाई पनि पक्राउ गरिएको छ। प्रहरीको बा २ झ १४४ नम्बरको स्कारपियो र बा १ झ ७२२४ नम्बरको माज्दा गाडीमा तोडफोड तथा आगलागी भएको थियो। उक्त गाडीमा आगजानीमा संलग्नको आरोपमा उदयपुर बलमता गाउँपालिका वडा २ का विक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका वडा ३ का रामहरी भण्डारी, लमजुङ बेशीशहर नगरपालिका वडा नं. ५ विवेक श्रेष्ठ, काभ्रेपलान्चोक मानेडाडाँ गाउँपालिकाका राजेश तामाङ, प्युठान कडी गाउँपालिका वडा १ दिपेन्द्र पुन मगर, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका वडा २ का आशिष खड्का रहेका छन्।
बालाजु क्षेत्रमा यातायात मजदुर संगठनले गरेको प्रदर्शनमा मिसिएर नयाँ बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलमा ढुंगामुढासँगै लुटपाट गरेका थिए। त्यसपछि प्रहरीले पसलमा तथा अन्य ठाउँमा जडित सिसिक्यामरा फूटेजको आधारमा संलग्नलाई पक्राउ गरेको थियो। संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। व्यवसायीहरुले ८ करोड रुपैयाँ बराबरको सामान चोरी भएको दाबी गरेका छन्।
सोमबारको घटनलाई लिएर सडकदेखि संसदसम्म सरकारको र प्रहरी संगठनको आलोचना भइरहेको छ। त्यस्तै चोरी प्रकरणमा संलग्नलाई तत्काल पक्राउ गरी पीडितलाई क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ।