काठमाडौं : सोमवार गोंगबु, नयाँ बसपार्क क्षेत्रमा प्रहरीको गाडीमा तोडफोड र आगजनी भयो। यतिमात्र हैन भीड ल्होत्से मल फोडेर मोबाइल लुटपाटमै उत्रियो।
राजधानीमा दिनदहाडै यस्तो घटना भएपछि प्रहरीको सुरक्षा व्यवस्थापनमा प्रश्न उठ्ने नै भयो। नागरिक समाज, व्यवसायीले मात्र हैन, संसदमै सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठ्यो।
प्रहरीले भने संयमता अपनाएकोले ठुलो क्षति हुनबाट बचेको भन्दै आफ्नो संगठनको बचाउ गर्दै आएको छ। उसो त प्रहरीले बालाजु परिसरका डिएसपी रविन विष्टलाई रानीपोखरी तानिसकेको छ कारबाहीस्वरुप।
अखिर त्यो दिन किन प्रहरीले संयमता अपनायो त?
यसबारे प्रहरीलाई प्रश्न उठिरहेकै छ। बुधवार उक्त घटनामा संलग्न १० जना पक्रेपछि सार्वजनिक कार्यक्रममा पत्रकारले सोधे : किन संयमता अपनायो त प्रहरीले?
'विशिष्ट व्यक्तिको आगमन भएकोले पनि संयमता अपनाएको थियो प्रहरीले,' जिल्ला प्रहरी कार्यालय एसएसपी दानबहादुर कार्कीले जवाफ दिए। उक्त दिन भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं उत्रेका थिए।