बुटवलः लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाएको छ। ३ फागुन २०७४ मा पहिलोपटक प्रदेशमा सरकार गठन भएको थियो। प्रदेश सरकार स्थापना भएको दिनलाई सरकारले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ। स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको थियो।
प्रदेश सरकारले स्थापना दिवसमा प्रदेश पदक महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरेको छ भने विभिन्न समुदायको झाँकी सहितको कला संस्कृति प्रस्तुत गरेर दिवस मनाइएको छ।
सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले कृषि र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गरेर लुम्बिनीलाई समृद्ध र समुन्नत प्रदेश बनाउने बताए।
‘हामी जनतालाई समृद्ध र आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँ, नागरिकलाई परिवर्तनको आभाष दिलाउने गरी काम गर्छौँ’, मुख्यमन्त्री गिरीले भने।
संविधानले ३ तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यावहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको धारणा उनले राखे। आगामी पाँच वर्षभित्रमा प्रदेशको राजधानीलाई नमुना सहरका रुपमा विकास गर्ने योजनासहित सरकारले काम गरिरहेको उनले बताए।
प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न ६१ जनालाई विभूषित गरिएको छ। प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जीतबहादुर थापालाई विभूषित गरिएको छ। यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा योग्दान दिएकोमा विभूषित गरिएको हो। मुख्यमन्त्री प्रज्वलदीप पदकबाट डा मोहिउद्दिन किदवाई, डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ।