काठमाडौँ: नेपाली फुटबल टोली भारतसँग बराबरीमा रोकिएको छ। भारतको चेन्नइस्थित जवहारलाल नेहरु स्टेडियममा सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारत २-२ गोलको बराबरीमा रोकिएका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा भारतले दोस्रो हाफमा अग्रता बनाएको थियो। त्यसअघि नेपालले पहिलो हाफमा केही राम्रा अवसरहरु बनाए पनि फिनिसिङमा कमजोर देखिएको थियो।
खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले भारतलाई अग्रता दिलाइन्। त्यस्तै ६८ औं मिनेटमा इन्दुमती काथिरेसनले गोल गर्दै अग्रता दोब्बर बनाइन्। अर्कोतर्फ नेपालका लागि साबित्रा भण्डारीले गोल फर्काउँदै नेपाललाई खेलमा फर्काइन्। उनले खेलको ९० औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै पहिलो गोल गरेकी थिइन्। भारतीय डिफेन्डरले पेनाल्डी क्षेत्रभित्र ह्याण्डबल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो। त्यस्तै इन्ज्युरी समयमा साबित्राले नै अर्को गोल थप्दा दुई गोलले पछिपरेको अवस्थाबाट पुनरागमन गर्दै नेपालले खेल बराबरी गर्न सफल भयो।
दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र भारत शनिवार आमनेसामने हुनेछन्।