यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सी बोरुसिया डर्टमण्डसँग पराजित भएको छ। सिग्नल इडुना पार्क स्टेडियममा सम्पन्न खेलमा जर्मन टोली डर्टमण्डले इङ्ग्लिस क्लब चेल्सीलाई १-० गोलअन्तरले हराएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीलाई जित दिलाउन करिम अदियेनीले निर्णायक गोल गरे। उनले खेलको ६३ औं मिनेटमा गरेको गोल डर्टमण्डको जितका लागि पर्याप्त बन्यो। अर्कोतर्फ खेलमा राम्रो पकड बनाएको चेल्सीले पटकपटक अवसर पाएर पनि गोल फर्काउन सकेन। रीस जेम्समा बलिया दुई प्रहारहरु डर्टमण्डका गोलकिपर ग्रेगोर कोबेलले बचाएका थिए भने पहिलो हाफमा जोआओ फिलिक्सको उत्कृष्ट प्रहार गोलपोस्टमा ठोक्किँदै बाहिरिएको थियो।
यी दुई टोली दोस्रो लेगको खेलमा ७ मार्चमा चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा आमनेसामने हुनेछन्।
गएराति नै सम्पन्न च्याम्पियन्स लिगको अन्तिम १६ को अर्को खेलमा पोर्चुगिच क्लब बेनफिकाले बेल्जियन क्लब क्लब ब्रुगीलाई २-० गोलअन्तरले हरायो। बेनफिकाको जितमा जोआओ मारियोले पेनाल्टीमार्फत ५१ औं मिनेटमा पहिलो गोल गर्दा ८८ औं मिनेटमा डेभिड नेरेसले ८८ औं मिनेटमा गोल गरे।