PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दिलीप महतोको हत्यामा संलग्न ३ जना दोषी ठहर, ४ जनाले सफाइ पाउँदा परिवार असन्तुष्ट



पहिलोपोस्ट

दिलीप महतोको हत्यामा संलग्न ३ जना दोषी ठहर, ४ जनाले सफाइ पाउँदा परिवार असन्तुष्ट

जनकपुरधाम : क्रसर व्यवसायीहरुले गर्दै आएको अवैध उत्खनन रोक्न खोज्दा हत्या गरिएका दिलीिप महतोलाई मनसायपूर्वक हत्या गरिएको जिल्ला अदालत धनुषाले ठहर गरेको छ।

जिल्ला अदालत धनुषाले दिलीपको हत्यामा विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोलाई दोषी ठहर गरेको हो। जिल्ला न्यायधीश चित्रबहादुर गुरुङको एकल इजलासले दिलीपको हत्यामा विपिन र मुनिन्द्रलाई प्रमुख कसुरदार र जितेन्द्रलाई मतियारको रुपमा ठहर गरेको छ।

दिलीपको हत्यामा संलग्न रहेको आरोप लागेका शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो र रोशनकुमार यादवलाई भने अदालतले सफाई दिइएको श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए।

दोषी ठहर गरिएकाहरुलाई आगामी फागुन १२ गते सजाय निर्धारण गरिनेछ।

मिथिला नगरपालिका-५ का २४ वर्षीय दिलीपको २०७६ पुस २५ गते हत्या गरिएको थियो।

यता, जिल्ला अदालतको फैसलामा दिलीप महतोको परिवारले असन्तुष्टि जनाएका छन्। सातै जनाको मिलेमतोमा दिलीपको हत्या गरिएको भए पनि अदालतले चारजनालाई सफाइ दिएकोमा दिलीपको परिवारले असन्तुष्टि जनाएको हो।

दिलीपकी बहिनी लक्ष्मीले भनिन्,‘हामीले न्याय पाएको अनुभूति भएको छैन। सातैजना मिलेर मेरो दाईको हत्या गरेका थिए। अहिले चारजनालाई सफाइ दिन मिल्दैन। हामी चुप बस्दैनौं। उच्च अदालत जान्छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell