काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले म्याद गुज्रिएका बियर जफत गरेको छ। बुधवार टोलीले काठमाडौंको सिनामंगलमा रहेको संस्कार ड्रेस प्रालिको गोदाम लगायतबाट ६ सय ६० कार्टुन बियर बरामद गरेको विभागका सूचना अधिकारी कमल प्रसाद भुसालले जानकारी दिए।
त्यस्तै, सिनामंगलको सीके ट्रेसर्डबाट पनि म्याद गुज्रिएको बियर बरामद गरिएको छ। विभागको टोलीले दुई वटै गोदाममा सिलबन्दी गरेको छ। टुबोर्ग, मुस्ताङ, कार्ल्स्बर्ग, नेपाल आइस, गोर्खालगायतका बियरमा म्याद गुज्रिएको भेटिएको हो। बरामद बियरको बजार मूल्य २२ लाख रुपैयाँ रहेको छ।
यसैगरी, मंगलवार मात्रै विभागले धुम्बाराहीस्थित याक ब्रुअरी कम्पनीबाट उत्पादित बियर कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिको गोदाममा फेला परेको थियो। तीन वटा गोदामबाट २१ सय कार्टुन बियर बरामद गरेको विभागले जानकारी दिएको छ।
६५० मिलिलिटर र ३ सय ३० मिलिलिटरको बजार मूल्य ६० लाख रुपैयाँ पर्ने बियर बरामद गरेको हो। यस्ता म्याद गुज्रिएका बियर पार्टी, भोजभतेर र रात्रिकालीन रेष्टुरेन्टहरुमा प्रयोग हुने गरेको सूचना आएको थियो।