PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

ग्यास सिलिन्डरबाट बारम्बार भइरहेका दुर्घटना, कसरी बच्न सकिन्छ?



शुक्र गिरी

ग्यास सिलिन्डरबाट बारम्बार भइरहेका दुर्घटना, कसरी बच्न सकिन्छ?
फाइल फोटो

काठमाडौंः बुधबार राति १० बजे कांग्रेस नेता सबुज बानियाँको छोराको विवाह पार्टीमा सहभागी भएर आएका सांसद चन्द्र भण्डारी भान्सा कोठा छिर्नुअघि ग्यासको गन्ध आएको थाहा पाए।

उनले गन्ध आएको भनेपछि अर्को कोठामा सुतिरहेकी ८६ वर्षीय आमा हरिकला भण्डारी भान्सातिर आइन्। भण्डारीले भानसाको ढोका खोलेर बत्ती बाल्ने बित्तिकै कोठामा आगोले छोप्यो। आमासँगै भण्डारीलाई पनि आगोको लप्काले भेट्यो।

उनीहरु आगोको लप्काले छट्पटाइरहेका बेला भाईको परिवार माथिल्लो तलामा थिए। आएर हेर्दा दाई र आमा आगोमा जलिरहेका थिए। हारगुहार गरेर दुबैलाई अस्पताल लगियो। कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमाको निधन भएको छ भने चन्द्रलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको छ।

प्रहरीले घटनाको मुचुल्का समेत उठाइसकेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ग्यास लिक भएर कोठामा फिँजिएको थियो। त्यही बेलामा बिजुलीको बाल्दा स्वीच अन गर्दा निस्किने स्पार्क (झिल्का) बाट आगो लाग्यो। कोठाभरी एकैपटक आगो लाग्दा आमा र कोठाभित्र छिरेका चन्द्रलाई आगोले भेट्यो।

नेपाल आयल निगम एलपीजी विभागका प्रमुख नेत्र काफ्लेले ग्यास लिक भएर कोठाभरि भएको बेला ‘स्वीच अन’ गर्दा आगो लागेको बताए। ‘सिलिण्डर र रेगुलेटर केही भएको छैन। त्यो भनेको ग्यास लिक भएर अचानक बत्ती बाल्दा आएको झिल्काले आगो लागेको प्रहरीको मुचुल्कामा उल्लेख भएको जानकारी आएको छ,’ उनले भने।

यो दुर्घटनापछि फेरि ग्यासको सुरक्षाबारे जवर्जस्त रुपमा प्रश्न उठेको छ। केहीले सिलिन्डर बमको रुपमा परिभाषित गरिरहेका छन् भने कतिपयले बोटलिङ प्लान्टको गैरजिम्मेवारपनले यस्ता गम्भीर दुर्घटना हुने गरेको टिप्पणी गरेका छन्।

ग्यासबाट भएको दुर्घटना यो पहिलो होइन। यसअघि पनि २०६८ साउनमा ग्यास लिक भएर नेकपा माओवादी सभासद रामकुमारी यादवको निधन भएको थियो। यादवको निधनपछि ग्यास बोटलिङ प्लान्टको गैरजिम्मेवारपन बाहिर आएको थियो। त्यसबेला वाणिज्य विभाग, ग्यास बिक्रेता महासंघ नेपाल, गुणस्तर तथा नापतौल विभाग, आयल नियम र उपभोक्ता अधिकारवादी संघसंस्थाहरूले यसलाई संवेदनशील रुपमा लिएपछि अध्ययन समिति नै बन्यो।

समितिले सिलिन्डरबाट ग्यास चुहावट भएको, म्याद गुज्रिएका सिलिन्डर प्रयोग भएको, भल्भ र डिप वाटर टेस्टसमेत नगरेको भन्दै प्रतिवेदन दिएको थियो। त्यसपछि ग्यास बोटलिङ प्लान्टमा समेत सुधार आएको थियो। तर अझै पनि केही कम्पनीले गुणस्तरमा सम्झौता गरेर उपभोक्तामाझ ग्यास पठाइरहेका छन्।

यस्ता घटना आम नागरिको लापारबाहीका कारण धेरै हुने गरेको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार केही समय अगाडि गरिएको एक अध्ययनले ७५ प्रतिशत मानिस आफ्नै लापरबाहीका कारण ग्यास विस्फोट भएर ज्यान गुमाउने गरेका निगमका उपनिर्देशक विनितमणि उपध्याय बताउँछन्।

चेकजाँच गर्ने तेस्रो निकाय आवश्यक

नयाँ सिलिन्डर लिएपछि सात वर्षमा चेक जाँच गरिन्छ। त्यसपछि ५ वर्षपछि हरेक ५ वर्षमा त्यो सिलिन्डर प्रयोग गर्न मिल्छ वा मिल्दैन भन्ने कुराको चेक जाँच गर्नु पर्ने सुरक्षाको प्रावधान छ।

तर नेपालमा ग्यास उद्योगले नै सिलिन्डर चेक जाँच गर्ने प्रावधान रहेको छ। त्यो हुँदा उद्योगहरुले सिलिन्डर कतिको सुरक्षित छ भनेर प्रमाणित गर्ने निकाय नभएको ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल बताउँछन्।

‘उद्योग आफैं सिलिन्डर पनि निर्माण गर्छ। आफैं गुणस्तर पनि चेकजाँच गर्छ,’ उनले भने, ‘यसले कसरी प्रमाणित गर्न सकिन्छ कि सिलिन्डर सुरक्षित छन्? उद्योगले एउटा टाँसेको नम्बरको भरमा यो ग्यास सिलिन्डर सुरक्षित छ भनेर सरकार चुप लागेर बस्नु मुख्य कमजोरी हो।’

अर्यालका अनुसार सरकारले गुणस्तर र सुरक्षाको बारेमा निरीक्षण गर्न तेस्रो हाइड्रोस्टाटिक निकाय निर्माण गर्न सकेमा मात्रै सुरक्षाको प्रत्याभूत हुन्छ।

त्यो निकायले स्वतन्त्र रुपमा परीक्षण गर्न थालेपछि उद्योगीलाई पनि गुणस्तर कायम गर्न दबाब सिर्जना हुने उनी बताउँछन्।

सरकारले अहिलेसम्म पेट्रोलियम ऐन नै बनाउन सकेको छैन। त्यसमा पनि ग्यासजस्तो संवदेनशील वस्तुको कारोबार नियमन गर्ने कानुन नहुँदा समस्या बल्झिरहेको छ।

उनका अनुसार तालिम प्राप्त बिक्रेता नहुँदा पनि यस्ता समस्या देखा पर्ने गर्छन।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्र विभागले हरेक पटक ग्यास सिलिन्डर चेकजाँच गर्ने गरेको बताउँछ्न।

‘विभागले सिलिन्डरको नमूना छनोट गरेर विभागमा परीक्षण गर्छ। त्यही अनुसार हामीले उक्त सिलिन्डर प्रयोग गर्न मिल्ने गरी प्रमाणित गर्ने गर्छौं,’ उनले भने, ‘त्यसपछि सिलिन्डरको म्याद सकिने मिति टाँसेर राखिएका हुन्छन्।’

गुणस्तर मापदण्ड भएका सामान प्रयोग नगर्दा दुर्घटना

बजारमा पाइने सस्ता मापदण्ड नभएका रेगुलेटर र पाइपका कारण पनि दुर्घटना हुने गरेको छ। ग्यास सिलिन्डरमा प्रयोग गरिने पाइप एलपीजी सुरक्षा प्रयोग प्रमाणित हुनुपर्छ।

यसरी पाइप प्लास्टिकवाला प्रयोग नगरी पहलो रंगको भित्र तार प्रयोग गर्नु पर्छ। प्लास्टिकको पाइप मुसाले सजिलै काट्न सक्छ। त्यही पाइपबाट ग्यास लिक भएर ठूलो मानवीय क्षति समेत हुनसक्छ।

त्यस्तै रेगुलेटर पनि नेपालमा उत्पादन भएको हकमा नेपाल गुणस्तर र भारतमा उत्पादन भएकोले भारतीय स्ट्यान्डर्ड भएको मात्रै प्रयोग गर्नुपर्छ। तर अर्याल बजारमा कम गुणस्तरका सामान बेच्ने र उपभोक्ताले सस्तोमा पाए भन्दै किन्ने प्रवृतिले अवस्था जोखिमपूर्ण बनेको बताउँछन्। रेगुलेटरको ६ महिनादेखि एक वर्षसम्मको वारेन्टी हुने विभागका महानिर्देशक मिश्र बताउँछन्। तर रेगुलेटर पाँच/सात वर्षसम्म पनि नफेर्ने प्रवृति छ।

ग्यास प्रयोग गर्दा यो कुरा ध्यान दिउँ

त्योबाहेक पनि भान्छामा पर्याप्त हावा छिर्ने भेन्टिलेसन हुनुपर्छ र झ्याल पनि खुला राख्नुपर्छ। त्योबाहेक बेलुका सुत्ने बेलामा रेगुलेटर बन्द गर्नुपर्छ।

त्यसैगरी आफू भान्सामा बस्दा सूतीको एप्रोन मात्र प्रयोग गर्दा राम्रो हुन्छ। यस्तै ग्यास सकिएपछि घोप्टो पार्ने, ढल्काएर बाल्ने गर्दा पनि सिलिण्डर विस्फोट हुने खतरा हुने अर्याल बताउँछन्। यस्तै ग्यास जमेको भनेर सिलिन्डरमा तातो पानी हालेर ग्यास बाल्ने गरिन्छ। यसो गर्दा पनि ग्यास लिक भएर विस्फोट हुन सक्ने उनी बताउँछन्।

कसरी हेर्ने सिलिन्डर सुरक्षित छ भनेर?

सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन्। त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्ने अर्याल बताउँछन्।

जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६ लगायतका अंक लेखिएका हुन्छन्। उक्त अंकले वर्षलाई बुझाउँछ। ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३/३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन्।

‘ए’ लेखिएको अंकले वर्षको पहिलो ३ महिना जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ। ‘बी’ ले अप्रिल, मे र जून महिनालाई जनाउँछ भने ‘सी’ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई संकेत गर्छ। यस्तै ‘डी’ ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई संकेत गर्छ।

यसरी सिलिन्डरमा राखिएका नम्बरले सिलिन्डरको म्याद सकिने भन्ने बुझाउँछ। साथै म्याद बाँकी भएपनि सिलिन्डरका कुनै पनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्ने अर्याल बताउँछन्।

लोडिङ तथा अनलोडिङ सिस्टम नै खाराब रहेको उनले बताए।

उपभोक्ता जागरण अभियान आवश्यक

ग्यास प्रयोग सम्वन्धि देशैभरि उपभोक्ता जागरण अभियान चलाउनुपर्ने ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र थापा बताउँछन्।

‘हामीले स्थापनाकाल देखिनै ग्यास प्रयोगको जनचेतना कार्यक्रम गर्दै आएका छौं। संस्थाको बलवुताले भ्याएसम्म ग्यासको प्रयोगलाई सुरक्षित बनाउने प्रयासमा लागेका हौं,’ उनले भने, ‘त्यही भएर केही समय अघि महासंघले स्थानीय तहसँग मिलेर देशैभरी जनचेतना कार्यक्रम मिलाउने निर्णय समेत गरेको थियो।’

थापाका अनुसार तीन साता अघि महासंघको प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई समेत भेटेर जनचेतनाका कार्यक्रम बजेटमै राख्न आग्रह गरिएको थियो।

उनका अनुसार केही दिनभित्रै काठमाडौं उपत्यकाका महानगर र नगरपालिकासँग सम्झौता गरेर जनचेतना कार्यक्रम अघि बढाइनेछ। निगमले पनि ग्यास प्रयोगको जनचेतनालाई अघि बढाउने तयारी गरेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले पछिल्लो समय ग्यास प्रयोग सम्वन्धि जनचेतना कम भएको स्वीकार गर्दै अब प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell