काठमाडौँ: मनाङ मर्स्याङदी क्लबले दीप कार्कीलाई कप्तानको जिम्मेवारी दिएको छ। राष्ट्रिय टोलीको समेत गोलपोस्ट सम्हालिसकेका कार्कीलाई कप्तानको जिम्मेवारी दिएको मनाङले एक विज्ञप्ति निकाल्दै जनाएको हो।
'यस मनाङ मस्र्याङ्दी क्लबले कप्तानको रुपमा दीप कार्कीलाई नियुक्त गरेको छ,' मनाङ मर्स्याङदी क्लबको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय फुटबल टिमका गोलकिपर समेत रहिसकेका कार्कीलाई यस सिजनको ए डिभिजन लिगका लागि कप्तान नियुक्ति गरिएको छ। कार्कीको कप्तानीमा क्लबले यस सिजन उत्कृष्ट नतिजा निकाल्ने विश्वास क्लब परिवारले लिएको छ।'
अघिल्लो सिजन मनाङ मर्स्याङदी क्लबले अञ्जन बिस्टको कप्तानीमा लिग खेलेको थियो। बिस्ट लगायत पुजन उपरकोटी, दिनेश राजवंशीलगायतका महत्वपूर्ण खेलाडीले टोली छाडिसकेका छन्।
मनाङले यो सिजन युरोपका ठूला लिग खेलिसकेका हाइ प्रोफाइल खेलाडी भित्र्याएको छ। जसमा ला लिगा क्लब बार्सिलोनाबाट खेलेका डिआवान्डोउ डिआग्नेदेखि उज्बेकिस्तानका सइदजामोलसम्म छन्।
यो सिजनका लागि मनाङको प्रशिक्षण राष्ट्रिय टोलीको सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठले गर्नेछन् भने गोलकिपर प्रशिक्षकमा प्रविण श्रेष्ठ रहेका छन्।
यस सिजनका लागि मनाङले अनुबन्ध गरिएका खेलाडीमा दिप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशनराना मगर छन्।
नयाँ सिजनको लिगमा युवा खेलाडीमाथि विश्वास गर्दै उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनबुन्ध गरेको जनाएको छ।
शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ।