PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भण्डारीलाई उपचारका लागि भारत लैजान सात घन्टाको त्यो दौडधुप



प्रकाश भण्डारी

भण्डारीलाई उपचारका लागि भारत लैजान सात घन्टाको त्यो दौडधुप

काठमाडौं : बिहीबार बिहान उज्यालो हुनासाथ कीर्तिपुर अस्पतालमा भीड बढ्यो। ‘आगलागीबाट गम्भीर घाइते सांसद् चन्द्र भण्डारीको उपचार हुँदै, आमाको अवस्था जटिल’ यस्तै हेडलाइनका समाचार आउन थालेपछि भण्डारीका शुभेच्छुकदेखि कांग्रेस नेता/कार्यकर्ता हतारहतार अस्पताल पुगे। राति नै अस्पताल पुग्नेले समाजिक सञ्जालमार्फत जानकारी दिइसकेकै थिए सांसद भण्डारी र आमा हरिकलाको स्वास्थ्यबारे।

अस्पतालको भीड व्यवस्थानका लागि सशस्त्र प्रहरी नै परिचालन गर्नुपर्‍यो। उनको स्वास्थ्यलाभको कामना गर्न आएकाहरुको गाडी र मोटरसाइकलको पार्किङ मिलाउनै सकस भइरहेको थियो प्रहरीलाई। नगरपालिकाको नयाँ भवनदेखि पुरानो भवनसम्म सडक छेउमै पार्किङ गरिएका थिए गाडी मोटरसाइकल। हतार हतार पुग्नेको जिज्ञासा हुने गरेको थियो - चन्द्र दाईको अवस्था के छ? यता नहुने भयो रे है? अस्पताल बाहिरै कुरिरहनुर्ने भएपछि घटनाबारे अनेक अड्कलबाजी लगाइरहेका थिए।

‘ग्यास त पड्किएको थिएन। म त उहाँको छिमेकी हो। चन्द्र दाइले भने अनुसार बत्तीको स्विच थिच्ने बेला आगो लाग्यो। कोठामा ग्यास लिक भएर भरिएको थियो कि,’ भण्डारीको छिमेकी भन्दै एक जना भनिरहेका थिए। भण्डारीकी कान्छी आमा मुना भण्डारीले दाबी गरिन्, ‘बिजुली बालौंभन्दा आगो लागेको हो। हामी त त्यसपछि कुदाकुद नै भइहाल्यो। घटनाको सबैकुरा हामीलाई थाहा छैन। आमा र चन्द्र मात्रै थिए त्यतिबेला।’

चन्द्र भन्दा धेरै जलेकी आमा, अस्पताल पुर्‍याउनै ढिला

हुन त सांसद तथा नेपाली कांग्रेसका नेता भण्डारी र उनकी आमा हरिकलाई बुधबार राति नै अस्पताल पुर्‍याइएको थियो। राति साढे १० वजे नै अस्पताल पुर्‍याइएका चन्द्रलाई भन्दा केही समयपछि मात्रै पर्‍याइएको थियो आमालाई। 

छोराभन्दा बढी जलेकी थिइन आमा। तर उनलाई त्यसअघि सिभिल अस्पतालमा लगियो। ७० प्रतिशत जलेकी हरिकलाको बिहीबार बिहान निधन भइसकेको छ।

अनुहार, हात र खुट्टामा गरी ३० प्रतिशत जलेका चन्द्रलाई नेपालमा उपचार सम्भव भएन। भारतको मुम्बई स्थिति नेशनल बर्न सेन्टरमा लगिएको छ।

+++

बिहान ९ बजे नै अस्पतालले भण्डारीको थप उपचार नेपालमा सम्भव नभएको निचोड निकाल्यो। कीर्तिपुर बर्न अस्पतालमा भएका उपकरणले उनको उपचार सम्भव नहुने भन्दै अस्पतालले विज्ञप्ति जारी गरेर भारत लैजान सुझायो। ‘स्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ। हालको स्रोत र सधानको अवस्थामा उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुबिधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ।

उक्त सुझावपछि नेपाली कांग्रेस र सरकार उनलाई भारत लैजाने चाँजोपाँजो मिलाउन जुट्यो। पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अस्पतालमै पुगेर भण्डारीको स्वास्थ्यबारे जानकारी लिए। स्वास्थ्यमन्त्री पदम गिरी, कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा पनि अस्पतालमै खटिरहे। नेताहरु प्रकाशशरण महत, मीनेन्द्र रिजाल, एनपी साउद लगायत पनि अस्पतालमै उनलाई भारत लैजाने तयारीमा खटे।

किन भएन तत्काल लैजान सम्भव?

तत्काल भारत लैजनका लागि कतिसम्म तयारी गरियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारम्बार फोन गरेर कांग्रेसका नेतारुहरुलाई सरकारले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताइरहेका थिए। मुख्यसचिव शंकरदास बैरागीले कांग्रेस नेता शंकर भण्डारीलाई फोन गरेर सरकारले गर्नुपर्ने सबै सयोग गर्ने बताए।

सरकार र नेपाली कांग्रसेको शक्ति परिचालन हुँदा पनि उनलाई तत्कालै भारत लैजान भने सकिएन। 

सुरुमा भण्डारीले नै नेपालमै उपचार गर्ने इच्छा व्यक्त गरे। उनलाई नेपाली कांग्रेसका नेताले बल्लतल्ल मनाएपछि भारत लैजाने कसरी? कठिन यसैमा थियो। अस्पतालबाट एयरपोर्टसम्म र त्यसबाट भारत लैजान सजिलो नभएपछि प्रक्रिया मिलाउन दिनभर लाग्यो। किनभने भण्डारीलाई एअर एम्बुलेन्सको खाँचो पर्‍यो। नेपालबाट भारतमा एयर एम्बुलेन्सका लागि अनुमति लिनुपर्ने भयो। त्यो प्रक्रिया मिलाउनै समय लाग्यो। 

त्यो मिलिसकेपछि समस्या अर्को पनि थियो एम्बुलेन्सको। उनलाई कीर्तिपुर अस्पतालको एम्बुलेन्समार्फत विमानस्थल लिन नसकिने चिकित्सकले बताएपछि नर्भिक अस्पतालसँग सहकार्य गर्नुपर्‍यो। सुबिधासम्पन्न एम्बुलेन्स चाहिने डाक्टरहरुले बताएका थिए। तर एम्बुलेन्स पनि समयमा आउनै सकेन। तारन्तार नेपाली कांग्रेसका नेताले फोन गरे पनि एम्बुलेन्स करिब डेढ घण्टा लाग्यो। एम्बुलेन्स कीर्तिपुर अस्पतालमा पुगेपछि पनि केही समय अस्पतालको बेडबाट एम्बुलेन्समा सार्नै समय लाग्यो। किनभने उनलाई सजिलै सार्न मुस्किल थियो। श्री एअरलाइन्सको जहाजमा स्वास्थ्य उपकरण जडान गरेर एयर एम्बुलेन्स बनाइएपछि चिकित्सकको टोलीसहित उनलाई बिहीबार सवा ४ बजेमात्रै भारत लगियो। 

‘नेतालाई त यस्तो सर्वसाधारणलाई कस्तो होला?’

व्यवस्थापन नै जटिल किन बनिरहेको थियो भने एक त उनलाई पाइपमार्फत स्वाशप्रश्वास गराइरहनुपर्ने थियो भने अर्कोतिर स्वास्वनलीमा हुने संक्रमण हुन नदिने गरी लानुपर्ने थियो। बिहान १० बजे नै श्री एयरलाइन्समा लैजाने तयारी भए पनि उनलाई दिनभर अस्पतालमै राखेर चिकित्सकले उपचार गरे। सात घन्टापछि मात्र भण्डारीलाई उपचारका लागि भारत लैजान सम्भव भयो। 

भारत लैजाने तयारी भएर लामो समयसम्म अस्पतालमै कुर्नु परेपछि भण्डारीका शुभचिन्तक तथा कांग्रेसका नेता/कार्यकर्तामा छटपटी थियो। ‘यस्तो तरिकाले त कहिले पुर्‍याउने? नेतालाई त यस्तो छ हामीलाई भए झन् कस्तो होला?’ भण्डारी स्वास्थ्यलाभको कामना गरिरहेका एक नेपाली कांग्रेसका कार्यकर्ता भन्दै थिए।

बेला बेलामा उनीहरुबीच चर्चा हुनेगरेको अर्को विषय पनि थियो -नेपालको स्वास्थ्य प्रणाली। म नेपालमै उपचार गर्छु भन्दा पनि उपचार गर्न नसक्ने देश कस्तो? यस्तो प्रश्न गर्नेहरु पनि थिए। गम्भीर जलेका बिरामीलाई नेपालमा उपचार गर्न नसकिने मात्रै होइन नेपालबाट बाहिर लिन नसकिएको अवस्थामा मृत्यु समेत भइरहेको छ। सामाजिक सञ्जालमार्फत पनि अहिले सरकारमाथि प्रश्न उठिरहेको छ -सरकारले जलेका बिरामीको लागि सुबिधा सम्पन्न अस्पताल किन खोल्न सक्दैन्? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell