काठमाडौँ: नेपाली क्रिकेट टोलीले आज बलियो प्रतिद्वन्दी स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजको आज हुने खेलमा नेपाल र स्कटल्याण्ड आमने सामने हुँदैछन्। खेल बिहान ९ बजे कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।
त्रिकोणात्मक सिरिजमा यी दुबै टोलीले सुखद सुरुवात गरिसकेका छन्। नेपालले सिरिजको पहिलो खेलमा नामिबियामाथि २ विकेटको रोमाञ्चक जित निकाल्दा दोस्रो खेलमा स्कटल्याण्डले नामिबियालाई नै १० विकेटको फराकिलो अन्तरले हराएको थियो।
स्कटल्याण्ड र नेपाल यसअघि चार पटक एकदिवसीय क्रिकेटमा आमनेसामने भइसकेका छन्। जसमा स्कटल्याण्डले तीन पटक र नेपालले एकपटक जित हात पारेका छन्।
स्कटल्याण्डलाई हराउन नामिबियासँगको खेलमा देखिएको ब्याटिङको लयलाई निरन्तरता दिने चुनौती नेपाललाई हुनेछ। नामिबियालाई हराउन कुशल भुर्तेलको शतकीय र कप्तान रोहित पौडेलको अर्धशतकीय पारि महत्वपूर्ण थियो।
'अहिले बनेको 'मोमेन्टम'लाई हामीले अघि बढाउनुपर्ने हुन्छ। पहिलो खेलमा यतिको ठूलो स्कोर पछ्याउन सफल हुनु बाँकी तीन म्याचका लागि बुस्टर हो हाम्रो लागि।' नामिबियालाई हराएपछि नेपालका कप्तान रोहित कुमार पौडेलले भनेका थिए।
अर्कोतर्फ लिग २ को च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई हराउन सहज भने नेपाललाई हुनेछैन। उच्च लयमा रहेको स्कटल्याण्डले ३३ खेलबाट ४८ अंक जोडिसकेको छ। तालिकाको छैटौँ स्थानमा रहेको नेपालको २५ खेलबाट २० अंक छ। नेपाल भन्दा अघि पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलबाट २७ अंक छ। त्यस्तै चौथो स्थानमा रहेको अमेरिकाले सबै ३६ खेल खेल्दै ३५ अंक जोडेको छ। शीर्ष पाँचमा पर्न अझै ८ खेल जित्ने दवाब नेपाललाई छ। नेपालले अब ११ खेल खेल्न बाँकी छ।
आजको खेलमा नेपाल जितको दवाबमा खेल्नेछ भने स्कटल्याण्डलाई जितको दवाब हुने छैन।