PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

'इन्स्टाग्राम स्टोरी'का कारण घरमै नजरबन्द छिन् रसियाकी ओलेस्या, 'सबैलाई जेलमा कैद गर्न उनीहरुले सक्दैनन्'



पहिलोपोस्ट

'इन्स्टाग्राम स्टोरी'का कारण घरमै नजरबन्द छिन् रसियाकी ओलेस्या, 'सबैलाई जेलमा कैद गर्न उनीहरुले सक्दैनन्'
Photo : BBC

रसियाकी ओलेस्या क्रिभ्टशोभा विश्वविद्यालय जान नपाएको धेरै भयो। उनको खुट्टामा 'इलेक्ट्रोनिक ट्याग' लगाइएको छ, जसबाट प्रहरीले उनको हरेक गतिविधि नियालिरहेको हुन्छ। राज्य विरोधी गतिविधिमा संलग्न भएको र आतंवादलाई प्रश्रय दिएको आरोपमा ओलेस्यालाई घर नै नजरबन्दमा राखिएको हो।

२० वर्षीया ओलेस्याको गल्ती के थियो ? सन् २०२२ को अक्टोबरमा रसिया र क्रिमिया जोड्ने पुल धवस्त हुँदा सामाजिक संजलमा गरेको पोस्टले नै उनको नाम इस्लामिक समुहसँगैको सूचीमा पुर्‍यायो।

'मैले पुलको बारेमा इनस्टाग्राम स्टोरी राखेको थिएँ। युक्रेनी नागरिकहरु पुल धवस्त हुँदा खुसी भएको कुरा सो स्टोरीमा थियो,' ओलेस्याले भनिन्। उनले आफ्नो साथीले युद्धबारे गरेको 'पोस्ट' पनि 'सेयर' गरेकी थिइन्। र, सुरु त्यसपछि भयो 'ड्रामा'।

'म फोनमा आमासँग कुरा गरिरहेकी थिएँ,' उनले सम्झिँदै भनिन्, 'मेरो घरको मुख्यद्वार खुल्यो। धेरै प्रहरी भित्र आए। उनीहरुले मेरो फोन लिए र भुइँमा बस्न भन्दै कराए।'

आतंकवादलाई प्रश्रय दिएको र रसियाली सुरक्षाफौजलाई बदनाम गराएको उनीमाथि आरोप छ। हाल अदालतमा मुद्दा खेपिरहेकी उनीमाथि लगाइएको आरोप पुष्टि भए ओलेस्यालाई १० वर्षसम्मको जेल सजाय हुन सक्छ।

'इन्टरनेटमा केही कुरा लेखेको भरमा यति लामो जेल सजाय हुन सक्छ भनेर मैले कल्पना गरेकी थिइन,' उनले भनिन्, 'मैले रसियामा केही 'क्रेजी भर्डिसक्ट' हरु दिएको रिपोर्ट सुनेकी थिएँ। तर मैले त्यसबारे धेरै मतलब नगरी बोलिरहेँ।'

नर्थन फेडरल विश्वविद्यालयमा अध्ययनरत् ओलेस्यालाई आतंकवादी र उग्रवादीहरुको औपचारिक सूचीमा रसियाले राखेको छ।

'जब मलाई थाहा भयो कि मेरो नाम विद्यालयमा गोली चलाउने र इस्लामिक स्टेट समूहसँग राखिएको छ, मलाई त्यो निकै 'क्रेजी' लाग्यो,' उनले भनेकी छिन्। घरमा नजरबन्दमा रहँदा उनलाई फोनमा कुराकानी गर्न र अनलाइन बस्न रोक लगाइएको छ।

ओलेस्याको बायाँ खुट्टामा एउटा 'स्ट्राइकिङ' ट्याटु खोपिएको छ। जसमा रसियाका राष्ट्रपति भ्लादमीर पुटिनलाई माकुराको रुपमा चित्रण गरिएको छ। जसमा लेखिएको छ : बिग ब्रडर इज वाचिङ यु!

तर, ओलेस्याको मुद्दामा भने 'बिग ब्रडर'ले नभइ उनका साथीहरुले नै उनलाई हेरिरहेका थिए।

'एकजना साथीले मलाई च्याटमा एउटा पोस्ट देखायो। जसमा म विशेष सैन्य अपरेशनको विरुद्धमा उभिएको भनेर चित्रण गरिएको थियो,' उनले भनिन्, 'सो च्याटमा कमेन्ट गर्नेहरु धेरैजसो इतिहासका विद्यार्थी थिए। उनीहरु मलाई सुरक्षा अधिकारीहरु सामु मलाई कसरी अपराधी साबित गर्ने भन्दै छलफल गरिरहेका थिए।'

च्याटको एउटा कमेन्टमा एकजनाले ओलेस्यामाथि 'पराजयवादी र चरमपन्थी' चरित्रको उत्तेजक पोस्टहरू गरेको आरोप लगाएका छन्। धेरैले उनलाई अपराधीको संज्ञा कमेन्टहरुमा दिएका छन्।

जब अदालतमा उनीविरुद्धका मुद्दाको सुनुवाइका क्रममा प्रत्यक्षदर्शीको नाम लिइरहेको थियो, त्यसमा च्याटमा कमेन्ट गरिरहेका विद्यार्थीहरुको नाम उनले फेला पारिन्।

रसियाले युक्रेनको दुईवटा विद्रोही क्षेत्रलाई 'स्वतन्त्र राज्य' घोषणा गरेको एक वर्ष पुग्न लागेको छ। अहिले दुवै देश युद्धमै छन्। केहीसमय अघिमात्रै रसियाली राष्ट्रपति पुटिनले समाजमा शान्ति स्थापना गर्दै 'देशद्रोही र जासुस'हरुलाई खोज्न पनि निर्देशन दिएका थिए।

'विदेशी गुप्तचहरुको कार्यलाई दबाउन गम्भीर भएर लाग्नुपर्ने बेला भइसकेको छ। देशद्रोही, जासुस र सरकारविरुद्ध प्रदर्शनमा उत्रनेहरुको पहिचान गर्न आवश्यक छ,' पुटिनले भनेका थिए। पुटिनको सो निर्देशनपछि रसियामा युद्धका आलोचकहरुमाथि सोभियत युनियन शैलीमा धरपकड भइरहेको रिपोर्ट सार्वजनिक भएका छन्। जसमा विद्यार्थीदेखि मजदुरहरुसम्म छन्।

रसियामा अहिले युक्रेनमाथि आक्रमणको विरोध गर्नु, वा त्यसको विरोधमा आलोचकहरुले लेखेको केही 'रिपोस्ट' गर्नु खतरनाक भएको छ। यदि कोही रसियाको कदमको विरोधमा छ भने सबैभन्दा राम्रो उ चुप लाग्नु नै हो। यदि कोही चुप लाग्दैन भने उनीहरुविरुद्ध कडा कानुनी कारवाही हुने पक्का छ। गलत सूचना प्रवाह गरेको र सेनालाई अपमान गरेको आरोपमा उनीहरुलाई कारवाही गरिन्छ।

रसियाको अर्खानजेल्स्कमा रहेको नौ तल्ले भवनमा युक्रेनमा मारिएका एक रसियाली सैनिकको ठूलो चित्र बनाइएको छ। जसमा लेखिएको छ : योद्धा हुनु भनेको सधैंभरिका लागि बाँच्नु हो।

भित्तामा लेखिएको सो सन्देश निकै देशभक्ति प्रेरक छ। त्यहाँका मानिसमा युद्ध विरोधी टिप्पणी गर्नेविरुद्ध अभियोग सामना गरिरहेकाहरूप्रति थोरै सहानुभूति मात्रै छ।

'हाम्रो सेनाको अबमुल्यन गर्ने र गलत सूचना फैलाउनेहरु दिमागदेखि नै बिरामी छन्,' अर्खानजेल्स्ककी कोन्टान्टिनले भनिन्। उनी आलोचना गर्नेहरुलाई युद्धमैदानमा सबैभन्दा अघि पठाएर सबक सिकाउनुपर्ने मत राख्छिन्।

यस्तै, सोही क्षेत्रकी एकटरिनले भनिन्, 'विशेष अपरेन्सनका आलोचकविरुद्ध मेरो नकारात्मक धारणा छ।'

अनलाइनमा केही लेखेकै भरमा लामो सजाय पाउनु कति जायज हो भनेर सोधिएको प्रश्नमा उनले भनिन् : मानिसहरुले उनीहरुको दिमाग प्रयोग गर्नुपर्छ। यदि उनीहरु यो देशमा बस्छदन्, यहाँका सेवा सुविधा प्रयोग गर्छन्, उनीहरु राष्ट्रवादी हुन् भने उनीहरुले कानुनको पालना गर्नुपर्छ।

ओलेस्यालाई अदालतले फेरि पनि घरमै नजरबन्द गर्न आदेश दिएको छ। उनी भन्छिन्, ' राज्यसँग प्रजातन्त्र र स्वतन्त्रताका लागि बहस गर्ने क्षमता नै छैन। तर, सबैलाई जेलभित्र कैद गर्न उनीहरुले सक्दैनन्। कुनै न कुनै विन्दुमा उनीहरुसँग मान्छे कैद गर्न जेल नै हुनेछैन।'

बीबीसीमा प्रकाशित कथाको भावनुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell