काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजको स्कटल्याण्ड विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्ता दिएका हुन्।
नेपालको प्लेइङ ११ मा नामिबियासँग खेल्दाको भन्दा एक परिवर्तन छ। ललित नारायण राजवंशीको स्थानमा आजको खेलमा गुलसन झाले स्थान बनाएका छन्।
त्रिकोणात्मक सिरिजमा यी दुबै टोलीले सुखद सुरुवात गरिसकेका छन्। नेपालले सिरिजको पहिलो खेलमा नामिबियामाथि २ विकेटको रोमाञ्चक जित निकाल्दा दोस्रो खेलमा स्कटल्याण्डले नामिबियालाई नै १० विकेटको फराकिलो अन्तरले हराएको थियो।
स्कटल्याण्ड र नेपाल यसअघि चार पटक एकदिवसीय क्रिकेटमा आमनेसामने भइसकेका छन्। जसमा स्कटल्याण्डले तीन पटक र नेपालले एकपटक जित हात पारेका छन्।
नेपाली टोली:
रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, मोहम्मद आशिफ शेख, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, गुलसन झा, सन्दीप जोरा, कुशल मल्ल