PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पूर्वका औद्योगिक क्षेत्रमा तीन महिनादेखि अघोषित लोडसेडिङ : प्राधिकरणको लापरवाहीले उद्योगको लागत बढ्दै, उत्पादन घट्दै



अनन्तराज न्यौपाने

पूर्वका औद्योगिक क्षेत्रमा तीन महिनादेखि अघोषित लोडसेडिङ : प्राधिकरणको लापरवाहीले उद्योगको लागत बढ्दै, उत्पादन घट्दै
सिनेन्ट उद्योगको फाइल तस्विर : रासस

विराटनगर : पूर्वी नेपालमा भारतको कटैयाबाट आउने बिजुली विगत तीन महिनादेखि अवरूद्ध भएपछि मोरङ र सुनसरीका ठुला उद्योगले आफ्नो उत्पादनमा ६० प्रतिशतसम्मले कटौती गरेका छन्। मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा ठुला उद्योग सञ्चालन गरिरहेका व्यवसायीले उत्पादनमा ६० प्रतिशतले कटौती गर्नुपरेका बताएका हुन् ।

उद्योग सङ्गठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले प्राधिकरणले 'अघोषित लोडसेडिङ' गरिरहेको आरोप लगाउँदै औद्योगिक क्षेत्रमा यसको ठुलो असर परेको दाबी गरे। राठीका अनुसार लोडसेडिङको सबैभन्दा ठुलो असर स्टिल, सिमेन्ट र प्लास्टिकजस्ता धेरै विद्युत् खपत गर्ने उद्योगलाई परेको छ।

प्लास्टिकका फर्निचर र अन्य सामग्री उत्पादन गर्ने लोटस इन्डस्ट्रिजका सञ्चालकसमेत रहेका राठीले भने, ‘सामान्यतया बिहान र साँझमा विद्युतको लाइन काटिन्छ। तर यसको निश्चित समय भने छैन। कहिले २ घण्टा पनि काटिएको छ र कहिले ६ घण्टासम्म पनि। कुन समयमा लाइन काटिने हो हामीलाई जानकारी छैन। लाइन काट्नुभन्दा ५ मिनटअघि मात्र हामीलाई लाइन काटिँदैछ भन्ने म्यासेज मोबाइलमा आइपुग्छ। यसपछि हामी केही उपाय गर्न सक्दैनौं।’

उनका अनुसार प्लास्टिक उद्योगले वस्तु उत्पादन गर्न प्लास्टिक दानालाई साढे दुई घण्टा प्रशोधन गर्नुपर्छ। यस क्रममा प्लास्टिक दानाका अतिरिक्त रङ र अन्य केमिकल सहितका सहायक कच्चा सामग्री पनि सँगसँगै प्रशोधनमा हुन्छन्। यही बेला अकस्मात् विद्युत् कटौती हुँदा प्रशोधनमा राखिएका सम्पूर्ण कच्चा र सहायक कच्चा सामग्रीमध्ये अधिकांश काम नलाग्ने हुन्छन् र तिनलाई 'स्क्रयाप' बिक्री गर्नुपर्ने हुन्छ।

केहीलाई भने ‘रिसाइकल’ गर्न मिल्छ। यसरी एक प्लास्टिक उद्योगमा अकस्मात् दुई मिनेटभन्दा बढी समय विद्युत् अवरूद्ध हुँदा लाखौँको नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ।

‘त्यत्तिकै पनि उत्पादनको बिक्री छैन, भएको बिक्रीको पनि भुक्तानी संकलन हुँदैन’, उनले भने, ‘त्यसमाथि बिहान-बेलुका हुने अघोषित र अनियमित लोडसेडिङले उद्योगको उत्पादन-लागत बढाइरहेको छ। अहिलेका उद्योगले उत्पादनमा ६० प्रतिशतसम्मले कटौती गरिरहेका छन्। यसको मुख्य कारण अघोषित लोडसेडिङ पनि हो।’

टीएमटी छड लगायतका स्टिल सामग्रीको उत्पादन गरिरहेको सुनसरीको उद्योग प्रिमियर स्टिलका सञ्चालक सौरभ शारडाले औद्योगिक क्षेत्रमा बिहान र बेलुका गरी दैनिक ४ देखि ६ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको जानकारी दिए। शारडाका अनुसार अघोषित लोडसेडिङले पूर्वका प्रिमियर, पशुपति र स्वस्तिकजस्ता मेल्टिङमा आधारित उद्योगले ठुलो घाटा ब्यहोर्नु परेको छ।

शारडाले भने, ‘हामीले स्क्रयाप र अन्य सहायक कच्चा सामग्रीलाई साढे दुई घण्टा भट्टीमा राखेर प्रशोधन गर्नुपर्छ। प्रशोधनका क्रममा पग्लिएर तरल अवस्थामा आइसकेको कच्चा पदार्थ एक्कासि विद्यु्त् कटौती गरिँदा फेरि जम्छ र त्यसलाई पुनः पगाल्नुपर्ने हुन्छ। यसले विद्युत् महसुललाई ह्वात्तै बढाइदिन्छ । यसको सिधा असर उत्पादन–लागतमै पर्छ।’

उनले 'मेल्टिङ'मा आधारित फलामे उद्योगमा एक्कासि विद्युत् कटौती गरिँदा भट्टी नै विष्फोट भएर धनजनको अकल्पनीय क्षतिसम्मको जोखिम हुने प्राविधिकको भनाइ रहेको जिकिर गरे।

‘बिहान–बेलुका कति बेला लाइन जाने वा आउने हो टुङ्गो हुँदैन’, उनको भनाइ छ, ‘यस्तो परिस्थितिमा हामीले कति कामदारलाई तयार अवस्थामा राख्ने भन्ने अर्को समस्या परेको छ। विद्युत् कटौती हुन्छ भनेर कामदारलाई घर फर्काइदिऊँ लाइन नजान सक्छ। कामदारलाई राखिराखूँ, विद्युत् काटिन सक्छ। यसरी अघोषित लोडसेडिङले मजदुरको व्यवस्थापन गर्न पनि कठिन भइरहेको छ।’

उनले विद्युत् प्राधिकरणले यो समयमा विद्युत् कटौती गरिन्छ भनेर समय तोकेर लोडसेडिङ घोषणा गर्नुपर्ने आग्रह गरे। उनले प्राधिकरणले निश्चित लोडसेडिङको घोषणा गरिदिएमा उद्योगलाई उत्पादनको व्यवस्थापन गर्न सजिलो हुने र लागतमा असर नपर्ने धारणा प्रकट गरे।

उद्योगी शारडाको भनाइ थियो, ‘बरु प्राधिकरणले हामीलाई दिन र समय तोकेर हप्तामा २ दिन मात्र लाइन देओस्। यसबाट हामी केही व्यवस्थित हुनसक्छौं। लाइन नआउने दिन कामदारलाई बिदा दिन्छौं। तर एक्कासि विद्युत् अवरूद्ध नगरियोस्।’

सप्तकोसी सिमेन्ट उद्योगका इलेक्ट्रिक इन्जिनियर राकेश मिश्रले आफ्नो उद्योगले अघोषित लोडसेडिङका साथसाथै अस्थिर भोल्टेज र ट्रिपिङको समस्या पनि भोगिरहेको जानकारी दिए।

इन्जिनियर अटलका अनुसार मोरङको कटहरी औद्योगिक क्षेत्रमा पर्ने यो उद्योग सामान्यतया राति ११ देखि बिहान ८ बजेसम्म सञ्चालन गरिन्छ । राति उद्योग चलाउँदा विद्युत् महसुलमा सहुलियत भएकाले यसो गरिएको हो।

प्राविधिक मिश्रले भने, ‘हरेक पटक ट्रिपिङ भएर विद्युत् आपूर्ति बन्द हुँदा कारखानाभित्र ४० मिनट निष्क्रिय समय सृजना हुन्छ। यसबाट उत्पादनमा ह्रास आउने, उत्पादन नै बन्द हुने र उत्पादित मालवस्तुको गुणस्तरसमेत बिग्रने खतरा हुन्छ।’

अटलले उद्योग चलिरहेका बखत समयमा कुनै सूचना नदिई अकस्मात् विद्युत् कटौती गर्दा पनि यस्तै समस्या हुने जिकिर गरे। उनले अघोषित लोडसेडिङ र ट्रिपिङका कारण उद्योगले बर्सेनि करोडौँ रुपैयाँको कच्चा र सहायक कच्चा सामग्री फालिरहेको दाबी गरे।

‘हामीसँग दुई हजार केभिएको जेनेरेटर पनि छ’, उनले सुनाए, ‘तर जेनेरेटरबाट कारखानाको सञ्चालन गर्दा झन् धेरै लागत पर्छ। एक बोरा सिमेन्टमै कम्तीमा १० रुपैयाँले मूल्यवृद्धि गर्नुपर्ने हुन्छ।’

उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईले पुस लागेपछि सामान्यतया बिहान ७ देखि १० र बेलुका ५ देखि साढे ९ बजेभित्र कुनै पनि बेला लोडसेडिङको सन्देश आउने गरेको बताए।

महानिर्देशक भट्टराईको भनाइ छ, ‘तर यस्तो सन्देश विद्युत् कटौती हुने बेलामा मात्र आइपुग्छ। प्राधिकरणले कमसेकम अघिल्लै दिन जानकारी गराएदेखि उद्योगले आफ्नो व्यवस्थापनमा सहज अवसर पाउने थिए।’

भट्टराईले पुसयता प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न हरेक दिन टेन्डर हालिरहेको र टेन्डर परेका दिन मात्र उद्योग सुचारु हुनसकेको उल्लेख गरे।

पूर्वमा विद्युतको आपूर्ति गरिरहेको नेपाल विद्युत् प्राधिकरण दुहबी शाखाका प्रबन्धक राजेश रेग्मीले भारतको कटैयाबाट आइरहेको दैनिक १५० मेगावाट विद्युत् विगत ३ महिनायता अवरूद्ध रहेको जानकारी दिए। प्रबन्धक रेग्मीले पूर्वमा विद्युत् आपूर्ति सहज हुननसक्नुमा कटैयाको लाइन मुख्य भएको स्पष्ट पारे।

रेग्मीका अनुसार तीन महिनाअघिसम्म कटैयाबाट नियमित रूपमा १५० मेगावाट विद्युत् आउँथ्यो। कहिलेकाहीँ त २०० मेगावाट पनि आएको छ।प्राधिकरणले कटैयाको विद्युत् अवरूद्ध भएपछि नेपालकै ढल्केवर–मिर्चैया प्रसारण लाइनबाट २०० मेगावाट विद्युत् पूर्व ल्याइरहेको छ। तर उक्त विद्युत्मा लाहानले ३०, मिर्चैैयाले ३० र रुपनीले २५ मेगावाट खपत गर्छन्।

यसप्रकार उक्त प्रसारण लाइनबाट ११५ मेगावाट विद्युत् मात्र कोसीपूर्व आइपुग्छ। यसबाहेक पूर्वमा विद्युतको ठुलो माग धानिरहेको काबेली जलविद्युत् आयोजनाको उत्पादन पनि हिउँद लागेपछि नराम्ररी खस्किएको छ।

काबेलीले सिजनमा २४० मेगावाट उत्पादन गरिरहेकोमा हिउँद लागेपछि ३५ देखि ४० मेगावाट मात्र उत्पादन गरेको छ। प्रबन्धक रेग्मीले भने, ‘कोसीपूर्वमा हामीलाई चाहिने विद्युत् २४० मेगावाट हो तर हामीसित अहिले पुगनपुग १५० मेगावाट मात्र छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell