PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

सरकारी एम्बुलेन्स आठ वर्षदेखि सडक छेउमा अलपत्र, महँगो भाडा तिरेर निजी एम्बुलेन्स प्रयोग गर्न बिरामी बाध्य



रासस

सरकारी एम्बुलेन्स आठ वर्षदेखि सडक छेउमा अलपत्र, महँगो भाडा तिरेर निजी एम्बुलेन्स प्रयोग गर्न बिरामी बाध्य
फाइल फोटो।

सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका-६ स्थित हुलाकी सडक छेउमा सरकारी एम्बुलेन्स अलपत्र रहेको करिब आठ वर्ष भयो। सोही वडामा रहेको ईश्वरपुर स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्स हुलाकी सडक छेउमा करिब आठ वर्षदेखि अलपत्र हुँदासमेत सरोकारवाला निकाय मौन छ।

देश सङ्घीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै अलपत्र अवस्थामा छाडिएको छ। ना १ झ ९६८ नम्बरको एम्बुलेन्समा स्थानीय सरकारको नजर पुगेको छैन भने सेवाग्राहीहरु महँगो भाडा तिरेर निजी एम्बुलेन्सको प्रयोग गर्न बाध्य भएका छन्।

भारत सरकारको सौजन्यमा खरिद भएको उक्त एम्बुलेन्स सोही चौकीको एम्बुलेन्स सञ्चालन समितिमार्फत सञ्चालनमा हुँदै आएकामा स्थानीय तहका पूर्वजनप्रतिनिधि र समितिबिचको विवादका कारण बेवारिसे भएको हो। समितिको खातामा करिब सात लाख रुपैयाँ बचत रहे पनि एम्बुलेन्स मर्मतमा कसैको पनि ध्यान नपुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

उक्त एम्बुलेन्स विगत लामो समयदेखि बेवारिसे छ। एम्बुलेन्स मर्मत गरी सञ्चालनमा ल्याउन आफूहरुले पूर्व नगरप्रमुखसँग पटक-पटक आग्रह गरे पनि उनले वास्ता नगरेको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले बताए।

उनका अनुसार लामो समय भैसकेकाले अब मर्मत गरेर पनि एम्बुलेन्स प्रयोगमा ल्याउन सकिने अवस्था छैन। तर, समितिको खातामा करिब सात लाख रुपैयाँ रकम रहेकाले त्यसको सट्टामा अर्को एम्बुलेन्स खरिद सकिने उनको भनाइ छ।

तत्कालीन नगरप्रमुख मनोज कुमार देवकोटाले उक्त एम्बुलेन्स नगरपालिकाका नाममा आउने भए मर्मत गर्ने नत्र नगर्ने बताएपछि सरकारी एम्बुलेन्स थन्किएको एम्बुलेन्स सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष अवध रौनियारले बताए।

पूर्व नगरप्रमुख देवकोटाले उक्त एम्बुलेन्स मर्मत नहुने भएका कारण १० लाख रुपैयाँको लागतमा अर्को एम्बुलेन्स खरिद गरी वडा नम्बर ३ को भक्तिपुर स्वास्थ्य चौकीमा पठाएका थिए। उनका अनुसार सो एम्बुलेन्स मर्मत नहुने भएपछि लिलामी गर्न पनि दाताका नाममा रहेका कारण समस्या भएको थियो। पन्ध्र वटा वडा रहेको उक्त नगरपालिकामा पाँचवटा स्वास्थ्य चौकी, सात वडा सामुदायिक आधारभूत स्वास्थ्य केन्द्र र एउटा नगर अस्पताल गरी १३ वटा सरकारी स्वास्थ्य संस्थामा एउटामात्र सरकारी एम्बुलेन्स रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ।

नगरपालिकाभित्र करिब २० वटा निजी एम्बुलेन्स छन्। नगरपालिकाको एउटा मात्र सरकारी एम्बुलेन्स हुँदा यहाँका बिरामी निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य भएका स्थानीय सुरेश साफीले बताए। उनका अनुसार नगरपालिकाका १५ वटा वडामध्ये १३ वटा वडामा सरकारी स्वास्थ्य संस्था छन्। निजी एम्बुलेन्स लिएर जाँदा महँगो रकम तिर्नुपरेको छ।

नगर स्वास्थ्य शाखाका अनुसार नगरबाहिर उपचारका लागि बिरामी पठाउनु पर्दा जिल्लाका अरू स्थानीय तहहरुसँग एम्बुलेन्स माग्नुपर्ने बाध्यता छ। समयमै एम्बुलेन्स नपाउँदा बिरामीहरुको अकालमै ज्यानसमेत जाने गरेको स्थानीयवासीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell