काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। शुक्रवार दिउँसो प्रचण्ड बालकोटस्थित ओली निवास गएका हुन्।
सत्ता गठबन्धनमा राष्ट्रपतिको उम्मेदवारबारे विवाद भइरहेका बेला प्रचण्ड र ओली लगातार छलफल गरिरहेका छन्। यसअघि पनि ओली-प्रचण्डबिच राष्ट्रपतिबारे छलफल हुने गरेको थियो।
प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका छन् भने ओलीले एमालेकै राष्ट्रपति हुनुपर्ने अडान राखेका छन्। बिहीवार पनि बालुवाटारमा प्रचण्ड र ओलीबिच छलफल भएको थियो। माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समेत समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताइरहेको छ।