काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले ‘ब्याक-टू-ब्याक’ जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शुक्रवार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डमाथि तीन विकेटले हराउँदै सिरिजमा ‘ब्याक-टू-ब्याक’ जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७ ओभरको समाप्तीमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो।
सुरुवाती ब्याटिङ गरेको स्कटल्याण्डका लागि मिचेल लिस्कले शतकीय पारि खेल्दै सर्वाधिक अविजित १०७ रन बनाएका थिए। त्यस्तै, ज्याक जार्भिसले २६, क्रिस्टोफर म्याकब्रिड र ब्रान्डन म्याकमुलनले समान २२ रन बनाउँदा म्याक वाटले २० रन बनाएका थिए।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ तथा कुशल भुर्तेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले दमदार रन बनाएर सुरुवात गरे पनि विकेट जोगाउन भने संघर्ष गर्यो। ओपनर कुशल भुर्तेलले १६ रन बनाउँदा अर्का ओपनर आशिफ शेख ९ रनमा आउट भए। त्यस्तै, अन्य ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ४, कप्तान रोहित पौडेलले ६ तथा सुन्दीप जोराले ५ रन बनाउँदा नेपालको ब्याटिङ दबाबमा आएको थियो।
धर्मराएको नेपालको ब्याटिङलाई कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले सय रनको साझेदारी बनाउँदै उकासे। मल्ल ८१ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले गुलसन झा र सोमपाल कामीसँग साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्याए। ऐरीले अविजित ८५ रन बनाउँदा सोमपाल कामीले अविजित २४ रन बनाए। त्यस्तै, गुलसन झा १७ रन बनाएर आउट भए।
जितसँगै नेपाल क्रिकेट विश्वकप लिग २ को अंकतालिकामा २६ खेलबाट २२ अंक जोड्दै छैटौँ स्थानमा कायम छ। ४८ अंक जोडेको स्कटल्याण्ड भने यसअघि लिग २ को च्याम्पियन बनिसकेको छ।
नेपालले अर्को खेलमा शनिवार नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।