PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

चीन-अमेरिका सम्बन्धमा बेलुन संकट : वाक युद्धमा दुई देशका संसद्, म्युनिखमा होला वाङ र ब्लिङ्कनबीच भेट?



विधुर ढकाल

चीन-अमेरिका सम्बन्धमा बेलुन संकट : वाक युद्धमा दुई देशका संसद्, म्युनिखमा होला वाङ र ब्लिङ्कनबीच भेट?

सांघाई: चीन र अमेरिकाबीचको 'बेलुन संकट' अझै शान्त हुन सकिरहेको छैन। यसैबीच बिहीबार अमेरिकी संसदले चिनियाँ बेलुनविरुद्ध दुई वटा प्रस्तावलाई पारित त्यसको निन्दा गरेको छ। जसमध्ये पहिलो एउटा प्रस्तावले "चिनियाँ कम्युनिष्ट पार्टीले निगरानी गर्न संयुक्त राज्य अमेरिकाको हवाई क्षेत्र माथिको आक्रमणको निन्दा" गर्दछ भनेको छ। यो प्रस्तावले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई "यस पछिल्लो जासुसी घटना र चिनियाँ कम्युनिस्ट  पार्टीका अन्य सबै प्रयासहरूको बारेमा अमेरिकी जनता र कांग्रेससँग पारदर्शी हुन" भनेको छ। 

अर्को प्रस्तावले "जनगणतन्त्र चीनद्वारा संयुक्त राज्य अमेरिकाको भूभागमा उच्च उचाइको निगरानी बेलुनको प्रयोगलाई संयुक्त राज्यको सार्वभौमसत्ताको निर्लज्ज उल्लंघनको रूपमा निन्दा गर्दछ।"

अमेरिकी सिनेटको आर्म सर्भिस कमिटीमा फेब्रुअरी ९ मा पेस भएको यो प्रस्तावलाई सदनले पास गरेको हो। 

प्रस्तावमा पहिलोपटक चिनियाँ बेलुन जनवरी २८ मा अलस्कामा देखिएको उल्लेख छ। त्यस्तै जनवरी ३१ मा मोन्टानामा चिनियाँ बेलुन देखिएको उल्लेख छ। जसलाई, फेब्रुअरी २ मा मात्र अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको प्रस्तावमा भनिएको छ। चिनियाँ जासुसी बेलुन फेब्रुअरी ३ मा मिसुरीमा देखिएको र फेब्रुअरी ४ मा अमेरिकी सेनाले साउद क्यारोलिनामा खसालेको बताइएको छ। 

सिनेटले पारित गरेको प्रस्तावमा अमेरिकी हवाइ क्षेत्रमा चिनियाँ कम्युनिस्ट पार्टीले गरेको अतिक्रमणको निन्दा गरिएको छ। त्यस्तै अमेरिकी हवाइ क्षेत्रको सार्वौभौमिकता र अखण्डता विशेष गरी जन गणतन्त्र चीनको होस्टाइलबाट रक्षा गर्ने अमेरिकी नीति रहेको बताइएको छ। 

यो प्रस्तावले राष्ट्रपति बाइडेनलाई पछिल्लो जासुसी घटना क्रममा र चिनियाँ कम्युनिस्ट पार्टीले अमेरिकी जनता, भुगोल र सम्पत्तिमाथि गरेको निगरानीको पारदर्शी जनाकारी दिन निर्देशनसमेत दिएको छ। 

बिहीबार मात्रै चिनियाँ जनकंग्रेसले अमेरिकी संसदबाट पारित प्रस्तावको विरोध गरेको छ। चिनियाँ राष्ट्रिय जनकंग्रेसको विदेश मामिला समितिले अमेरिकी संसदले पारित गरेको प्रस्तावको कडा शब्तमा निन्दा गर्दै यसलाई खारेज गरेको हो। उसले प्रस्ताव पारित गर्नु तनाब बढाउने 'रोगी मानसिकता' भएको बताएको छ। 

'चीन एक जिम्मेवार देश हो जसले अन्तर्राष्ट्रिय कानुनको कडाइका साथ पालना गर्दछ, सबै देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्दछ र कुनै पनि सार्वभौम देशको भूभाग र हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै मनसाय छैन,' समितिले भनेको छ।

अमेरिकी कंग्रेसका केही राजनीतिज्ञहरूले यस घटनालाई द्विपक्षीय तनावलाई अझ भड्काउन प्रयोग गरिरहेको आरोप चिनियाँ संसदको समितिले लगाएको छ। 

अमेरिकाले नै अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, सार्वभौमिकताको उल्लङ्घन गर्ने र अन्य देशमाथि निगरानी गतिविधि सञ्चालन गर्ने गरेको आरोपसमेत संसदीय समितिले लगाएको छ।

'तथ्यको सम्मान गर्न, अन्तर्राष्ट्रिय कानुनको भावना र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने आधारभूत मान्यताको सम्मान गर्न, चीनलाई बदनाम गर्ने गलत अभ्यास तत्काल बन्द गर्न र स्थितिलाई थप जटिल बनाउन सक्ने कुनै पनि कदम नचाल्न हामी अमेरिकी कंग्रेसलाई जोडदार आग्रह गर्दछौं,' समितिले भनेको छ।

चिनियाँ विदेश मन्त्रालयले पनि अमेरिकी सदनले पारित गरेको प्रस्तावले तथ्यबाट प्रमाणित हुन नसक्ने भन्दै खण्डन गरेको छ।  

'यी प्रस्तावहरूले आधारभूत तथ्यहरू प्रतिबिम्बित गर्दैनन्। तिनीहरू विशुद्ध रूपमा राजनीतिक अंक प्राप्त गर्न र परिस्थितिलाई नाटकीय बनाउनको लागि हुन्,' चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले भनेका छन्, 'चीनले यसको कडा विरोध गर्छ। तथ्यको सम्मान गर्न, अन्तर्राष्ट्रिय कानुनको भावना र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूको सम्मान गर्न, चीनलाई बदनाम गर्न तत्काल बन्द गर्न र स्थितिलाई अझ बिगार्न सक्ने कार्य बन्द गर्न हामी अमेरिकी कंग्रेसलाई जोडदार आग्रह गर्दछौं।'

यता चिनियाँ विदेश मन्त्रालयले पनि यस वर्ष यता मात्र अमेरिकी बेलुन चीनको सिनचियाङ र तिब्बत क्षेत्रमा १० पटक बढी उडेको आरोप लगाएको छ। 

म्युनिखमा हुन सक्छ चीन-अमेरिकी उच्च कूटनीतिज्ञको भेट
यता दुई देशबीच बढ्दो तनाबबीच केही सकरात्मक संकेत देखिरहेका छन्। बाइडेन प्रशासनका केही उच्च अधिकारीहरुले तनाब कम गर्न संवादको पक्षमा उभिएका छन्। यसले युरोपमा दुई देशका उच्च कूटीतिज्ञबीच भेट हुने सम्भावना रहेको छ। 

चिनियाँ राष्ट्रपतिका प्रमुख कूटनीतिक सल्लाहकार तथा स्टेट काउन्सिलर वाङ यी र अमेरिकी विदेशमन्त्री एन्डोनी ब्लिंकनबीच म्युनिखमा भेट हुने सम्भावान छ। 

अमेरिकी उपमन्त्री वेन्डी शेरमानले दुई देशले संवादलाई कहिल्यै पनि नरोकेको र एकअर्कालाई बुझ्ने प्रयास जारी रहेको प्रतिक्रिया दिएकी छन्। उनले चीनसँगको सम्बादलाई निरन्तरता दिइएको बताउँदै ब्लिंकनको चीन भ्रमण रद्ध गरिएको नभई सारिएको बताएकी छन्। छिट्टै यो भ्रमणलाई तालिकामा राखिनेसमेत उनले बताएकी छन्। 

अमेरिकी सञ्चार माध्यमहरुले म्युनिख सुरक्षा सम्मेलनको साइडलाइनमा ब्लिङकन र वाङबीचको सम्भावित हुन सक्ने भेटको तयारी बाइडेन प्रशासनले गरिरहेको जनाएका छन्। यस विषयमा चिनियाँ विदेश मन्त्रालयले भने पुष्टि गरेको छैन।

चिनियाँ स्टेट काउन्सिलर वाङ म्युनिख सम्मेलनमा सहभागी हुन त्यसतर्फ लागेका छन्। यस क्रममा उनी पेरिसमा पुगेर फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँका कूटनीतिक सल्लाहकार इमानुएल बोनेसँग भेट गरेका छन्। यो भेटमा दुई देशबीचको सम्बन्धका साथै चीन युरोपियन युनियनबीचको साझेदारीको विषयमा छलफल भएको बताइएको छ। 

सिपीसीको पोलिटब्यूरो सदस्यसमेत रहेका वाङले चीन फ्रान्ससँग उच्च तहको आदानप्रदानलाई मजबुत बनाउन चाहेको बताएका थिए। यो सम्बन्धले चीन-इयू सम्बन्धलाई पनि मजमुत पार्ने उनको भनाइ थियो। वाङको फ्रान्स भ्रमणकै क्रममा फ्रान्सले चिनियाँ नागरिकमाथि लगाइएको यात्रा प्रावधान हटाएको थियो। 

साता लामो युरोप भ्रमणका लागि निस्किएका वाङ रोम पुगेर इटलीसँगको सम्बन्धको विषयमा चर्चा गेका छन्। उनले त्यहाँ उपप्रधानमन्त्री  तथा विदेश मन्त्रीसँग भेट गरे। यी भेटमा युक्रेन संकटको विषयमा छलफल भएको समेत बताइएको छ। 

चीनले युक्रेन संकटमा आफूले लिएको अडान शान्ति र स्थायित्वका लागि भएको स्पष्ट पारेको छ। वाङ म्युनिख सम्मेलनमा भाग लिएपछि रुस जाने छन्। दुई देशबीच उच्चस्तरीय राजनीतिक वार्ता हुने बताइएको छ। उनको यो मस्को भ्रमण राष्ट्रपति सि चिनफिङको मस्को भ्रमणको तयारीको रुपमा लिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell