PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रशिक्षक देसाइको पहिलो रणनीति 'ह्याप्पी ड्रेसिङ रुम'कति सफल?



मुकुन्द घिमिरे

प्रशिक्षक देसाइको पहिलो रणनीति 'ह्याप्पी ड्रेसिङ रुम'कति सफल?

काठामाडौँ: माघको अन्तिम सातातिर नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षक मोन्टी देशाईलाई औपचारिक रुपमा सार्वजनिक गर्दा उनले एउटै लक्ष्य भएको बताएका थिए: ह्याप्पी ड्रेसिङ रुम।

सायद उनले नेपाली टोलीभित्रको पछिल्ला किस्साहरुलाई नजिकबाटै बुझेका थिए। त्यसैले पनि 'ह्याप्पी ड्रेसिङ रुम'को उनको रणनीति नै बनाएर उनी आए। जसरी एकताका फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अघि सारेका थिए, 'वान टिम, वान गोल, जय नेपाल'।

देसाइभन्दा अघिका प्रशिक्षक मनोज प्रभाकर छँदा होस् या उनीभन्दा अघिका प्रशिक्षक पुबुदु दासानयके छँदा: नेपालको ड्रेसिङ रुमको समस्या बाहिर छताछुल्ल भएको थियो। ज्ञानेन्द्र मल्लले कप्तानीबाट हात धुँदा र ४ खेलाडीले कारबाही ब्यहोर्दा गुटउपगुट सतहमा आएको थियो। पछि सन्दीप लामिछाने कप्तानीमा आएपछि यो पक्ष थप छताछुल्ल भएको थियो। यो कुरालाई तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले पनि स्वीकारेका थिए। त्यसपछि आएका मनोज प्रभाकरको सम्बन्ध खेलाडीसँगै जमेन। केन्या टुरमा केही सिनियर खेलाडीसँग भनाभन नै भएको किस्सा बाहिर आएको थियो।

खैर, ड्रेसिङ रुमको सम्बन्ध राम्रो बनाउनु पर्ने आवश्यकता बुझेका देसाइले आफ्नो रणनीतिमा सुरुमै पासा फाले: ह्याप्पी ड्रेसिङ रुम।

+++

देसाइको प्रशिक्षणमा नेपाल टोलीले दुई हप्ता पनि प्रशिक्षण गर्न नपाउँदै लिग २ को सिरिज सुरु भयो। लिगटू का दुई हेभिवेट स्कटल्याण्ड र नामिबियासँगको सिरिज घरेलु मैदानमा जारी छ। नेपालमाथि लिग २ को शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायर्समा पुग्ने भन्दा पनि एकदिवसीय मान्यतालाई नै जोगाउने सकस थियो/छ।

तर, कीर्तिपुरमा जारी सिरिजमा नेपालले दुई ब्याकटूब्याक जित निकाल्न सफल भयो पहिलो खेलमा नामिबियामाथि २ विकेट र दोस्रो खेलमा स्कटल्याण्डमाथि ३ विकेटको जित निकालेको नेपाललाई ४ अंकको राहत मिलेको छ।

ब्याकटूब्याक हेबिवेट टिममाथिको जित देसाइको ह्याप्पी ड्रेसिङ रुम रणनीतिकै सफलता हो?

'अहिलेको टिमको नजिताहरुले राम्रो ड्रेसिङ रुमको महत्वपूर्ण प्रस्तुत गर्छ,' प्रशिक्षक देशाइले खेलपछि भने, 'आजको चेज फरक थियो। हामीले केही विकेट चाँडै गुमाएका थियौँ। फेरि ड्रेसिङ रुमले कसरी काम गर्छ भन्नेमा केन्द्रित हुन चाहन्छु। ड्रेसिङ रूमभित्रको शान्ति फेरि पनि महत्वपूर्ण हुन्छ। मध्यक्रममा कसरी पार्टनरसीप भयो र खेलमा फर्कियो भन्ने हेर्न सकिन्छ।'

नेपाली टोलीसँग १५ दिन अभ्यास गराउँदा दिएको मुख्य सुझाव के हो भन्ने प्रश्नमा देसाइ यो विषय सुझावको मात्र विषय नभएको बताउँछन्।

'मैले उनीहरुलाई सुझाव दिनेभन्दा बढी उनीहरुको स्कीलको पहिचान गरेको छु। मैले क्याम्पमा उनीहरु ठूलो स्कोर बनाउन योग्य रहेको पाएँ,' देसाइ भन्छ्न्, 'उनीहरुको राम्रो पक्षहरु थाहा पाएँ। उनीहरुले पनि राम्रो एफोर्ड लगाएका छन्। उनीहरु यो ड्रेसिङरुमा बनाउन कडा मेहेनत गरिरहेका छन्।'

पहिलो खेलमा नामिबियासँगको जितपछि कप्तान रोहितकुमार पौडेलले पनि ड्रेसिङ रुममा फर्किएको माहोलबारे चर्चा गरेका थिए। उनले कोचले खुलेर खेल्न प्रोत्साहित गरिरहेको बताए।

स्कटल्याण्डविरुद्ध म्यान अफ दि म्याच बनेका दीपेन्द्रसिंह ऐरी पनि ड्रेसिङ रुममा परिवर्तन भएको स्वीकार्छन्।

'उहाँ एकदमै सकारात्मक हुनुहुन्छ हरेक कुरामा। सकारात्मक दृष्टिकोण राख्नुहुन्छ। टिममा नकारात्मक कुरा कोइ नगरोस भन्ने चाहनुहुन्छ। भन्नु हुन्छ,' ऐरी भन्छन्, 'टिममा हरेकजना सकारात्मक छन्। राम्रो पनि भइरहेको छ।'

त्यसअघि अघिल्लो खेलमा शतक प्रहार गरेका कुशल भुर्तेलले पनि ड्रेसिङ रुममा सकारात्मक माहोल बनेको चर्चा गरेका थिए।

'टिममा सबैजना सकारात्मक छन्। सबैले एकअर्कालाई सहयोग गरिरहेका छन्। सन्दीप पनि धेरै पछि आयो। उसलाई पनि सपोर्ट नै गरिरहेका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell