PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

धर्मराएको नेपालको ब्याटिङमा ठूलो साझेदारी बनाउँदा कुशल र दीपेन्द्रबीच क्रिजमा के थियो योजना?



मुकुन्द घिमिरे

धर्मराएको नेपालको ब्याटिङमा ठूलो साझेदारी बनाउँदा कुशल र दीपेन्द्रबीच क्रिजमा के थियो योजना?

काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले ब्याक टू ब्याक जित निकालेको छ। पहिलो खेलमा नामिबियालाई हराएको नेपालले दोस्रो खेलमा लिग जितिसकेको स्कटल्याण्डलाई हराउन सफल भयो।

टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७ ओभरको समाप्तीमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो।

नेपालको धर्मराएको ब्याटिङ लाइनमा ठूलो साझेदारी गरेर लक्ष्य पछ्याउन ठूलो योगदान रह्यो दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको। यी दुईले सय रनको साझेदारी गर्दै ७७ रनमा ५ विकेट गुमाइसकेको नेपाललाई लयमा फर्काएका थिए।

'टिममा मलाई जे भूमिका दिएको थियो त्यही गरिरहेको थिएँ। त्यति खेरको अवस्थामा साझेदारी चाहिएको थियो,' ब्याटिङमा अविजित ८५ रन र बलिङमा ५ को इकोनमीमा १ विकेट लिएका दीपेन्द्रसिंह ऐरीले भने, 'अन्तिममा फिनिसिङ गर्ने भूमिका थियो, फिनिसिङ गरेँ। त्यस्तो दवाब थिएन।'

खेलको म्यान अफ दि म्याच समेत भएका ऐरीले आफ्नो भूमिका टप अर्डरमा या मिडल अर्डरमा जहाँ भए पनि आफू खेल फिनिसिङ गर्न इन्जोए गर्ने गरेको बताए।

'टप अर्डर खेलेर फिनिसिङसम्म आएँ भने पनि इन्जोए नै हो त्यो पनि। पछाडि खेलेर पनि फिनिसिङ गर्न सकेँ भने इन्जोए नै गर्छु,' ऐरीले भने, 'फिनिसिङको भूमिका पाएँ भने चाहिँ भित्रैबाट खुसी लाग्छ।'

ठूलो साझेदारी बनाइरहँदा कुशलसँग के संवाद भइरहेको थियो? ऐरीले क्रिजको कथा सुनाए।

'कुशलले एग्रेसिभ खेलिरह्यो। आफ्नो रेन्जमा आएको बाहिर कटाउन सक्छस् भने कटा। हैन भने सिंगल गर। म यताबाट रोटेट गरिरहेको छू। साथ दिन्छु भनेको थिएँ। त्यही कुरा भएको थियो,' ऐरीले भने, 'वान बल अन ब्याट भन्ने सोचेको थिएँ।'

ऐरीले टिममा राम्रो माहोल बनिरहेको भन्दै कोच मोन्टी देसाइले भने जस्तो अगाडिका १० वटा खेलमा सबै खेललाई फाइनल ठानेर खेल्ने बताए।

'अहिले टिममा राम्रो माहोल बनिरहेको छ। सरले भन्नु भएको अब १२ वटा खेल छ। १२ वटा नै फाइनल खेल हो हाम्रो लागि,' उनले अगाडि भने, 'दुई वटा जितियो। अब १० वटा फाइनल बाँकी छ। अब एउटा एउटा गरेर नै हेर्ने हो। अगाडिका खेल जित्ने लक्ष्य छ।'

स्कटल्याण्डमाथि रोमाञ्चक जित

सुरुवाती ब्याटिङ गरेको स्कटल्याण्डका लागि मिचेल लिस्कले शतकीय पारि खेल्दै सर्वाधिक अविजित १०७ रन बनाएका थिए। त्यस्तै, ज्याक जार्भिसले २६, क्रिस्टोफर म्याकब्रिड र ब्रान्डन म्याकमुलनले समान २२ रन बनाउँदा म्याक वाटले २० रन बनाएका थिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ तथा कुशल भुर्तेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले दमदार रन बनाएर सुरुवात गरे पनि विकेट जोगाउन भने संघर्ष गर्‍यो। ओपनर कुशल भुर्तेलले १६ रन बनाउँदा अर्का ओपनर आशिफ शेख ९ रनमा आउट भए। त्यस्तै, अन्य ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ४, कप्तान रोहित पौडेलले ६ तथा सुन्दीप जोराले ५ रन बनाउँदा नेपालको ब्याटिङ दबाबमा आएको थियो।

धर्मराएको नेपालको ब्याटिङलाई कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले सय रनको साझेदारी बनाउँदै उकासे। मल्ल ८१ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले गुलसन झा र सोमपाल कामीसँग साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्‍याए। ऐरीले अविजित ८५ रन बनाउँदा सोमपाल कामीले अविजित २४ रन बनाए। त्यस्तै, गुलसन झा १७ रन बनाएर आउट भए।

जितसँगै नेपाल क्रिकेट विश्वकप लिग २ को अंकतालिकामा २६ खेलबाट २२ अंक जोड्दै छैटौँ स्थानमा कायम छ। ४८ अंक जोडेको स्कटल्याण्ड भने यसअघि लिग २ को च्याम्पियन बनिसकेको छ।

नेपालले अर्को खेलमा शनिवार नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell