PahiloPost

Dec 8, 2024 | २३ मंसिर २०८१

यसपाला राष्ट्रपतिको सवारीमा कमसेकम भित्तापट्टी त फर्किन परेन ... (ब्लग)



हेम रोकाहा

यसपाला राष्ट्रपतिको सवारीमा कमसेकम भित्तापट्टी त फर्किन परेन ... (ब्लग)
फाइल फोटो

बिहान ११ बजे, भोक मेटाउने मुडमा निस्किए कार्यालयबाट।

होटल याक एन्ड यती हुँदै दरबारमार्गतिर पाइला अघि बढाएँ।

शिवरात्रिको दिन। अझ आज त शनिवार।

कार्यालय नजिकका रेस्टुराँ बन्द थिए। त्यसै म लागें नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सडकतिर।

अलि अघि बढ्दा प्राय खुल्ला हुने यो सडक बाइकले भरिएको थियो। अगाडि दुईतिर ट्राफिक उभिएका।

सोचेँ – ट्राफिक प्रहरी बिहानै मापसे, गाँपासे चेकिङमा उत्रिसकेछन्। शिवरात्रिको मौका छोपेर।

पैदलै भएकोले म रोकिनुपरेन। पर पुग्दा जाँचको केही मेलोमेसो देखिनँ।

बरु दरबारमार्गको सडक पुरै खाली। शनिवारको दिन सडकमा सवारी पातलै हुन्छ। तर सडक खालीमात्र हैन पैदलयात्री पनि बाटो छेउ उभिनुपरेको दृश्य। प्रहरी सडक छेउछाउमा प्रशस्तै खटिएका।

ए, भीआइपी सवारी रहेछ क्यारे - सोच्दै अघि बढे राजा महेन्द्रको शालिकतिर।

यहीबेला मनमा एउटा दृश्य झट्ट आइहाल्यो - न्युजिल्यान्डकी जासिन्डा आर्डेर्न प्रधानमन्त्री छँदा सडकमा आँफै कार हाँकेर निस्किएकी थिइन्। त्यति नै बेला उनलाई अर्को कार हाँकिरहेका सर्वसाधारणले अभिवादन गरेका थिए। त्यहाँ नेपालको जस्तो भीआइपीको सवारी हुँदा मानिसहरु रोकिएको दृश्य देखिएको थिएन। खैर, संसारका धेरै देशमा भीआइपीको सवारीका बेला अन्य सवारी रोकिन्छन्। त्यसैले मलाई यो कुरा खासै ठूलो लाग्दैन। यतिमात्रै हो - एक/दुई घण्टाअघि देखि नै बाटो खाली गराउन सर्वसाधारणलाई नरोक्दिएहुन्थ्यो।

यसरी नै सवारी व्यवस्थापन गर्न चुक्दा नराम्री आलोचित बनिसकेकी थिइन् राष्ट्रपति विद्यादेवी भण्डारी। माघ २७ गते संसदमा सम्बोधन गर्न हिँडेकी राष्ट्रपति भण्डारीको सवारीमा डाक्टरले कुटाई खानुपर्‍यो। यसको विरोधमा डाक्टरहरु धेरैजसो अस्पतालको आकस्मिकबाहेक अरु सेवा नै बन्द गरे भोलिपल्ट।

डाक्टरले कुटाइ खानुपरेको देशमा मैले कुटाई भेट्न के बेर। साथमा कार्ड नभएकोले केही डर पनि लाग्यो। खैर भोक त बढिरहेकै थियो। रेस्टुराँको तलासमा अघि बढि नै रहेँ।  

केएफसीनेरको जेब्राक्रस पार गर्ने तयारी गर्दैथिएँ - सवारीको तामझाममा उत्रिएका प्रहरीले बाटो क्रस गर्नै दिएनन्। हिँड्दै शालिक भएनेर पुग्दानपुग्दै पछाडिबाट प्रहरीले जोडसँग सिठी फुके। पछाडि हेरें - एउटा सेतो जिप तुफान आउँदै रहेछ। त्यही जिपलाई रोक्न एक जना प्रहरी दुवै हात फैलाएर बिच सडकमा उभिए। अनि साइड लगाउन भने। साइड लगाउँदै गर्दा ड्राइभरले केही भन्न खोज्दै थिए प्रहरीले उताउता भन्दै बाटोको छेरतिर संकेत गरे अनि ड्राइभरतिरको ढोकामा ड्याम्म मुक्का बजारे।

भीआइपी सवारीमा सधैँको ‍दृश्य, सोच्दै अघि बढेँ म।

शालिकनेर पुग्नै लागेकोमात्र थिएँ।

‘भाइ, हात गोजीमा राखेर नहिँड्दिनुस्’ एक जना प्रहरीले मतिर औँला ठड्याउँदै आदेश दिए। कस्तो अचम्मको आदेश। तर मैले पालना गरें आदेश। दुवै हात निकालेर केही खतरा नभएको भावमा प्रहरीलाई देखाएँ। लगत्तै उनी बाटोतिर फर्किए। ‘गोजीमा हात हालेर हिँड्दा पनि भीआइपीले असुरक्षित मान्नुपर्ने कस्तो देशमा जन्मेछु,’ यही कुराले खिन्न बनायो मन।

के गरौँ, कसो गरौँ भयो। बाटोमा उभिइरहन पनि मन लागेन। बाटो क्रस गरेर पारी जाने अवस्था पनि रहेन। शालिकनेरबाट देब्रे हुँदै फेरि अफिसतिर फर्किन खोज्दै थिएँ, तीन धारानेर थुप्रै बाइक रोकिएका थिए। त्यतिमै दरबारमार्गको सडकबाट सवारीको लामो लस्कर आइपुग्यो। सवारीमा राष्ट्रपति, प्रधानमन्त्री वा अन्य विशिष्ट व्यक्ति, जो कोही थिए – मौका यही हो विरोधको, सायद सर्वसाधारणलाई यही लाग्यो, धेरै अघिबाट रोकिएको रिस पोख्दै थिए चर्को हर्न बजाउँदै।

अलि पहिलेको कुरा हो। दरबारमार्गमा हिँड्दै थिएँ। त्यतिबेला राष्ट्रपतिको सवारी रहेछ। शालिकनेरबाट घण्टाघरतिर जाँदै गर्दा सवारी आइपुग्यो। फुटपाथमा हिँडिरहेको मलाई एकजना प्रहरीले रोकेर भित्तापट्टी फर्किन लगाएका थिए। सोचें, यसपटक लोकतन्त्रमा नागरिकको स्वतन्त्रता केही फुकुवा भएको हो कि?

कमसेकम भित्तापट्टी फर्किन त परेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell