PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

त्रिकोणात्मक सिरिजको लगातार तेस्रो खेलमा नेपालको जित, शेख र मल्लको कीर्तिमानी साझेदारी



पहिलोपोस्ट

त्रिकोणात्मक सिरिजको लगातार तेस्रो खेलमा नेपालको जित, शेख र मल्लको कीर्तिमानी साझेदारी
Photo: CAN

काठमाडौं : नामिबियालाई हराउँदै नेपालले जारी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले नामिबियामाथि ३ विकेटको जित निकालेसँगै नेपालले ‘ब्याक-टू-ब्याक’ तीनवटा जित निकालेको हो।

यसअघि नेपालले सिरिजको आफ्नो पहिलो खेलमै नामबियालाई २ विकेटले हराएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो।

शनिवार टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाका लागि जेन ग्रिनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक अविजित ७५ रन बनाउँदा त्यस्तै पिक्की या फ्रान्सले ४९ रन, लो-हान्द्रे लोउरेन्सले ४१, मिचेल भान लिन्गेनले २२ तथा कार्ल ब्रिकेनस्टकले २० रन बनाएका थिए। त्यस्तै, आक्रामक ब्याटिङ गर्दै रुबेन ट्रम्पेलम्यानले ७ बलमा २४ रन बनाएका थिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा महँगो सावित भएका करण केसीले एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ओपनर कुशल भुर्तेललाई एक रनमै गुमाएको थियो। तर, आशिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी साझेदारी बनाउँदै अर्धशतकीय पारि खेले। शेखले सर्वाधिक ८१ रन बनाउँदा मल्लले ६५ रन बनाए।

यस क्रममा शेख र मल्लले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी बनाए। यो एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी हो। यसअघि जारी सिरिजकै नामिबियाविरुद्धकै खेलमा कुशल भुर्तेल र रोहितकुमार पौडेलले बनाएको १३३ रनको साझेदारी सबैभन्दा उच्च साझेदारी थियो। तेस्रो उच्च साझेदारी १२९ रनको छ। यो यूएईविरुद्ध ज्ञानेन्द्र मल्ल र आशिफ शेखले बनाएका थिए।

त्यस्तै, कप्तान रोहित कुमार पौडेल र कुशल मल्लले पनि ठूलो साझेदारी बनाउँदै टोलीलाई जिततर्फ डोहोर्‍याए। उनीहरुले ९२ रनको साझेदारी बनाए। लगातार दुई खेलमा अर्धशतक प्रहार गरेका कुशल मल्लले ६२ रन बनाउँदा रोहितकुमार पौडेलले ३९ रन बनाए।

बलिङतर्फ नामिबियाका रुबेन ट्रेम्पलमनले ३ विकेट लिँदा बर्नार्ड स्कल्चले २ तथा तानगेनी लुन्गामेनी र पिक्की या फ्रान्सले समान १ विकेट लिए।

जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो। योसँगै नेपालले २७ खेलबाट २४ अंक जोडेको छ। अर्कोतर्फ तीनवटा खेलमा लगातार पराजय ब्यहोरेको नामिबिया ३३ खेलबाट ३७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा कायम छ। सिरिजको अर्को खेलमा सोमवान नामिबिया र स्कटल्याण्ड तथा मंगलवार नेपाल र स्कटल्याण्ड भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell