दक्षिण कोरियाको राजधानी सियोलमा महिलाका लागि मात्र तोकिएको पार्किङ क्षेत्र हटाउने निर्णय गरिएको छ। ‘बेसमेन्ट’मा लैङ्गिक हिंसाका घटना बढेपछि सन् २००९ मा यो नियम लागू गरिएको थियो। जसअनुसार पार्किङ क्षेत्रमा महिलाका लागि छुट्टै गाडी राख्न स्थान तोकिएको थियो।
१४ वर्षपछि सो नियम परिवर्तन भएपछि आलोचना पनि भइरहेको छ। आलोचकहरुले यसलाई सरकारको महिला अधिकार विरोधी ‘एन्टी फेमिनिस्ट’ निर्णय पनि भनेका छन्। पछिल्लो समय दक्षिण कोरियामा ‘एन्टी फेमिनिस्ट’ अभियान बढ्दै गएको महिला अधिकारकर्मी बताउँछन्।
नियम अनुसार सियोलमा ३० भन्दा बढी कार पार्क गर्न मिल्ने स्थानमा १० प्रतिशत स्थान महिलाका लागि मात्रै तोकिनु पर्थ्यो। शहरभर रहेको १६ हजार ६४० पार्किङ क्षेत्रमा दुई हजार पार्किङ क्षेत्र ‘वुमन ओन्ली’ (महिलाका लागि मात्रै) थियो। भवनको प्रवेशद्वारसँगै रहेका पार्किङ क्षेत्रमा यस्तो छुट्टै व्यवस्था गरिएको थियो ताकि महिलाहरु रातको समयमा बेसमेन्टमा जान नपरोस्।
सन् २०२१ को सरकारी तथ्याङ्क अनुसार सियोलका कार पार्किङ क्षेत्रमा भएका घटनामा दुई तिहाई घटना यौन दुर्व्यवहारसँग सम्बन्धित थिए।
५५ वर्षीया चुन उन जुङका अनुसार पार्किङ क्षेत्रमा महिलाका लागि मात्र गाडी राख्न ठाउँ तोकिँदा उनी सुरक्षित महसुस गर्थिन्। यसरी छुट्याइएको क्षेत्रमा खतरनाक व्यक्तिहरु नहुने आफूले महसुस गर्ने गरेको उनले सुनाइन्। जुङकी २७ वर्षीया छोरी पार्क योङ सियो पनि यो निर्णयबाट खुसी छैनन्।
‘महिलाहरुलाई सुरक्षित महसुस गराउने यो व्यवस्था हटाउन खोज्नु अचम्म हो,’ उनले भनिन्।
प्राथमिकतामा परिवार कि बढ्दो एन्टी फेमिनिजमको असर?
सियोलका मेयर ओ से हुन भने अहिलेको अवस्थामा ‘परिवारका लागि’ स्थान छुट्याउनुपर्ने बताउँछन्। से हुनले नै १४ वर्ष अघि यो नीति शहरमा लागू गरेका थिए। उनका अनुसार अब पार्किङ क्षेत्रमा ‘फेमिली स्पट’ तोकिनेछ। ती क्षेत्रमा गर्भवती महिला र बालबालिकासँग यात्रा गरिरहेका व्यक्तिहरुका लागि पार्किङको सुविधा दिइनेछ।
आलोचकहरुले भने केही वर्ष यता दक्षिण कोरियाली राजनीतिक ‘एन्टी फेमिनिस्ट’ हुँदै गएको र महिलाका लागि तोकिएको पार्किङ हटाउनु त्यसैको उदाहरण भएको बताउँछन्। दक्षिण कोरियाका पुरुषहरुले महिलाका लागि भनेर लागू गरिएका नीतिहरु ‘विभेदकारी’ भएको भन्दै बहस गर्ने गरेका छन्।
वर्तमान सरकारले ‘स्कुल इथिक्स करिकुलम’बाट लैङ्गिक समानता (जेन्डर इक्वालिटी) भन्ने शब्द हटाएको छ। दक्षिण कोरियाले ‘जेन्डर इक्वालिटी’ मन्त्रालय पनि बन्द गर्ने रणनीति लिएको छ। दक्षिण कोरियाली राष्ट्रपति युन सुक युउलले आफ्नो मन्त्रिपरिषद्मा ‘जेन्डर कोटा’ समेत समाप्त गरेका छन्।
राष्ट्रपति युन सुक युउलका पछिल्ला कदमहरु ‘एन्टी फेमिनिस्ट’ भएको आरोप लाग्दै आएको छ। कन्जर्भेटिभ कोरियन पार्टीका रुपमा परिचित राष्ट्रपति युनको पिपल पावर पार्टी (पीपीपी) ‘एन्टी फेमिनिस्ट’ विचारधाराका लागि पनि चिनिन्छ।
गर्भपतन, लैङ्गिक अल्पसंख्यक समुदायप्रति यो पार्टी सकारात्मक नरहेको बताइन्छ। राष्ट्रपति निर्वाचनका लागि भएको चुनावी अभियानका क्रममा उनले महिलामाथि ‘संरचनात्मक विभेद’ अस्तित्वमा नै नभएको बताएका थिए।
राष्ट्रपति निर्वाचनको नतिजाबाट युउल दक्षिण कोरियाको सर्वोच्च पदमा पुग्ने निश्चित भएपछि ‘द टाइम’मा एमी गुनियाले लेखेकी थिइन् : युउलले नारीवादी विरोधीहरुलाई आफ्नो पुँजी बनाए।
महिलाहरुले पाउँदै आएका सुविधानबाट चिन्तित बनेका पुरुषहरुलाई युउलले चुनावमा आफूतर्फ आकर्षित गर्न सफल भएको उनको विश्लेषण थियो। निर्वाचनको बेला तीनवटा दक्षिण कोरियाली ब्रोडकास्टरहरुले गरेको ‘एक्जिट पोल’मा २० देखि ३० वर्ष उमेर समूहका ५९ प्रतिशत पुरुष, ३० वर्षमाथिका ५३ प्रतिशत पुरुषले उनलाई समर्थन गरेका थिए। युउलको पक्षमा २० वर्षदेखि ३० वर्ष सम्मकी ३४ प्रतिशत महिलाले मात्रै समर्थन जनाएका थिए।
वर्तमान राष्ट्रपति युउलका लागि महिलामाथि हुने संरचनात्मक मात्र नभई आर्थिक र शारीरिक विभेद अस्तित्वमा नै नरहकोले उनलाई ‘जेन्डर इक्वालिटी’ मन्त्रालय पनि आवश्यक नरहेको कार्ला डेलहायीले उल्लेख गरेकी छिन्।
सो मन्त्रालयले परिवार र युवाको विषय पनि हेर्ने भएपनि दक्षिण कोरियामा अझै लैङ्गिक विषयका मुद्दाहरु उठ्न बाँकी रहेको उनी बताउँछन्। धेरै महिलाहरु बालबालिकाको स्याहारमा लाग्नुपर्दा उनीहरुले जागिर र पढाइ छाड्नु परेको छ।
‘जेन्डर इक्वालिटी’ मन्त्रालयले महिलालाई बालबालिकाको हेरचाहसँगै काम गर्ने वातावरण बनाउन समाधानहरु निकालेको छ। वास्तवमा सो मन्त्रालयले दक्षिण कोरियामा लैङ्गिकमैत्री नीति बनाउन र कार्यान्वयनमा ल्याउन अहम भूमिका खेल्दै आएको छ।
त्यसैले परिवार र बालबालिकाका लागि बनाइएका नीतिहरुले दक्षिण कोरियामा रहेको रुढीवादी र पितृसत्तात्मक सोचलाई समाप्त नपार्ने डेलहायीले उल्लेख गरेकी छिन्। राष्ट्रपति युउलले पारिवारिक संवेदना देखाएर महिलामैत्री अभियानलाई नै धक्का पुर्याउन खोजेको आरोप पनि लाग्दै आएको छ।
किन थपिँदैछ चिन्ता?
कोरियन वुमन्स एसोसिएसनकी ओ कुङ जिन महिलाका लागि छुट्याइएको पार्किङ क्षेत्र हटाएकोमा दु:खी छिन्। तर, अब यस्तै ‘ट्रेन्ड’ बढ्दै जाने हो कि भन्ने विषयले भने उनलाई थप चिन्तित बनाएको छ।
‘जेन्डर इक्वालिटी’ मन्त्रालय खारेजीको प्रयास हुनु, महिलाका लागि मात्रै तोकिएको पार्किङ क्षेत्र हट्नु, सरकारका नीतिहरु महिला मैत्री नहुनु लगायतका घटना घट्नुले दक्षिण कोरियाली समाज ‘एन्टी फेमिनिस्ट’ हुँदै गएको महिला अधिकारकर्मीको दाबी छ।
‘सरकारले एन्टी फेमिनिस्ट नीतिहरु लागू गर्ने प्रयास गरिरहेको छ। सरकारको त्यो नीतिहरु स्थानीय सरकारको माध्यमबाट लागू गर्ने प्रयत्न भएको छ,’ उनले भनिन्।
तर, पुरुष पाइलट चो योङ जाइ भने महिलाका लागि मात्रै तोकिएको क्षेत्र हट्नै पर्ने मत राख्छन्।
‘१०० मिटर बढी हिँड्दा तपाईं कम सुरक्षित हुने भन्ने होइन। अहिले पार्किङ क्षेत्रहरूमा निगरानी राख्न सीसीटीभी क्यामेरा राखिएका हुन्छन्,’ उनले भने।
‘वुमन ओन्ली कार स्पेस’को सुरुवात सन् १९९० मा जर्मनीबाट भएको थियो। तर, दक्षिण कोरियामा भने यो नीति निकै विवादास्पद हुँदै आएको थियो।
मार्च महिनाको अन्तिम सातादेखि सियोलमा महिलामैत्री पार्किङलाई परिवारमैत्री बनाउने योजना सुरु हुनेछ।
‘जेन्डर इन जियो पोलिटिक्स’ र ‘द टाइम’मा प्रकाशित सामाग्रीको ‘इन्पुट’सहित बीबीसीमा प्रकाशित सामाग्रीको भावनुवाद