काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताएका छन्। आइतवार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने सहमतिको आवश्यकता भएको प्रचण्डले बताए।
जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव रहेको उनको भनाइ छ। ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौँदेखिको नेपाल र नेपाली जनताको विकास र समृद्धिको राष्ट्रिय आकांक्ष पूरा गर्न सकिन्छ,’ प्रचण्डले भने।
आर्थिक जीवनमा गुणात्मक रूपान्तरणको माध्यमबाट मात्र सामाजिक न्यायको प्रत्याभूत गर्न सकिने उनले बताए। प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ एवं प्रभावकारी कार्यान्वयन गरेर नै मुलुकको लोकतान्त्रिक प्रणाली र संविधानको प्रगतिशील कार्यान्वयन सम्भव भएको पनि बताएका छन्।
देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको प्रचण्डको भनाइ थियो।