PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

दिनभर ‘अभियन्ता’, मौका पाएपछि साँझमा लुटेरा!



पहिलोपोस्ट

दिनभर ‘अभियन्ता’, मौका पाएपछि साँझमा लुटेरा!

काठमाडौं : फागुन १ गते काठमाठौंको माछापोखरी, बालाजु र गोगंबुलगायत क्षेत्रमा तोडफोड, आगजनी तथा मोबाइल लुटपाटमा संलग्नलाई प्रहरीले पक्राउ तथा खोजी गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

तीन वटै टोलीले अहिलेसम्म ४५ जना भन्दा बढीलाई पक्राउ गरेको छ। जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दा र आपराधिक उपद्रव गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ। त्यस्तै, सामाजिक सञ्जाल, सीसीटीभी फुटेजलगायत विभिन्न प्राविधिक पक्षको सहयोगमा पक्राउ गर्ने क्रम जारी रहेको पनि प्रहरीले जनाएको छ।

‘हाम्रो टोलीले विभिन्न कोणबाट अनुसन्धान गरेर नियन्त्रणमा लिने काम भइरहेको छ। पक्राउ क्रम जारी रहेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने।

प्रहरीले पक्राउ गरेकाहरूमा गाडीका सहचालकदेखि यात्रु समेत भेटिएका छन्। मजदुरहरूको सङ्ख्या पनि उत्तिकै रहेको छ। त्यस्तै, दिनभर अभियन्ता बनेर साँझ परेपछि मोबाइल लुटपाटमा संलग्न भएको पनि खुलेको छ।

गोङ्गबुस्थित ल्होत्से मलमा तोडफोड तथा मोबाइल लुटपाट भएको थियो। मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोन लगायत सामग्री लुटपाट गरेका थिए।

पछिल्लो समय प्रहरीले कृष्ण श्रीवास्तव नाम गरेका युवालाई पक्राउ गरेको छ। उनी एक आश्रममा हुर्किएको खुलेको छ। उनी सामाजिक अभियन्ता समेत बताउँदै आएका थिए।

घटना भएको दिनभर उनी बसपार्क क्षेत्रमा देखिन्छन्। सुरुमा उनले आन्दोलनकारी र प्रहरी दुवैलाई संयम हुन अनुरोध गरिरहेका थिए। आन्दोलनकारीलाई पनि गाडीमा तोडफोड नगर्न तथा ढुङ्गा-मुढा नगर्न अनुरोध गरिरहेका थिए।

‘उसले दिउँसो राम्रो भूमिका खेलेको थियो। आन्दोलनकारीलाई समेत सम्झाएको थियो,’ एक प्रहरी अधिकृतले भने।

तर, जब मलको मोबाइल पसलमा लुटपाट भयो त्यसपछि उसको अर्कै रूप देखिएको थियो। दिनभर अरूलाई सम्झाउने युवक पसलमा लुटपाटमा संलग्न भएको देखिन्छ।

सामाजिक सञ्जालमा दिनभर घटनामा देखाएको भूमिका र त्यसपछि मोबाइल पसलमा भएको लुटपाटमा संलग्न दुवै भिडियोसमेत भाइरल भएको छ। प्रहरीले त्यही भिडियोको आधारमा शुक्रवार पक्राउ गरेको हो।

हुलियाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। केहीले भने हुलिया फेरेर पनि मोबाइल लुटपाटमा संलग्न भएको देखिएको छ।

तर, पसलबाट चोरी भएको कुनै पनि सामाग्री उनको साथबाट भेटिएको छैन। अहिलेसम्म प्रहरीले पक्राउ गरेका व्यक्तिबाट चोरीका सामाग्री सोचे अनुसारको बरामद गर्न सकेको छैन।

चोरी गरेको सामान बिक्री गरिसेको पनि हुनसक्ने वा अन्य कारण केही हुनसक्ने आशङ्कामा अनुसन्धान गरिरहेको छ प्रहरी। केही व्यक्तिले आफन्तलाई चोरेको मोबाइल उपहार समेत दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

प्रहरीले सामाजिक सञ्जालमा भाइरल भएका भिडियोको आधारमा कुसैले कुनै व्यक्तिलाई चिनेको खण्डमा प्रहरीलाई जानकारी दिन समेत अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell