काठमाडौं : नेपाल कला, भाषा र साँस्कृतिक विविधताले भरिपूर्ण देश हो। जसमध्ये मगरको कौरा, लिम्बुको हाक्पारे, च्याब्रुङ नाच, ख्याली र पालम चर्चित छन्। त्यसैगरी, नेवार समुदायको दाफा खल: र गन्धर्व समुदायको गीतसंगीत पनि नेपालको पहिचान हुन्। तिनै संस्कृति झल्काउने सांगीतिक कार्यक्रम झम्सीखेलस्थित 'पोर्क हब'मा हिजो देख्न पाइयो।
कार्यक्रममा स्थानीय समुदायको संस्कृति झल्किने भेषभुषासहितको प्रस्तुतिमा दर्शकहरु कलाकारहरुसँगै झुमे। स्थानीय कलाकारसँगै दर्शक नाच्दा माहोल तातेको थियो।
जुन वातावरण बनाएको थियो गायिका झुमा लिम्बुको रैथाने समुहले। रैथानले काठमाडौं ज्याज कन्जर्भेटरी (केजेसी) र डज इन भ्यालीसँगको सहकार्यमा नेपाल आदिवासी जनजातिको लोक र जातीय संगीतको प्रवर्द्धन र संरक्षण गर्न यो कार्यक्रम आयोजना गरेको हो। जुन कार्यक्रमको नाम 'ट्राइबल हाट फेज १' राखिएको थियो।
आ-आफ्नै भेषभुषामा सजिएका उनीहरुले एकअर्काको सांगीतिक प्रस्तुतिमा साथ दिए। नेवारी समुदायका मगरको कौडामा नाँचिरहेका थिए भने मगरहरु नेवारको दाफा खल:मा।
यसरी उनीहरु रमेको देख्दा फरक समुदायलाई पनि संस्कृतिले बाँधेको राखेको प्रष्ट थाहा हुन्थ्यो। त्यस्तै, हजुरबा/हजुरआमासँग नातिनीले सँगसँगै प्रस्तुति गरेर संस्कृति हस्तातरण भइरहेको भान हुन्थ्यो।
त्यसैगरी, कार्यक्रममा विभिन्न समुदायका रैथाने खाना परिकार, परम्परागत पोशाक, स्थानीय हस्त निर्मित उत्पादन, सारङ्गी, पेय पदार्थहरु पनि स्टलमा प्रदर्शन तथा बिक्रीमा राखिएको थियो।
रैथाने समूह लोक संगीतको क्षेत्रमा सक्रिय संगीतकार, गायक, पत्रकार, अनुसन्धानकर्ता र समीक्षकहरूको समूह हो। जुन सन् २०२२ मा गायिका झुमा लिम्बुको नेतृत्वमा खुलेको हो। नेपालको विभिन्न सङ्गीत संस्कृतिबाट उत्पन्न हुने सङ्गीतको अध्ययन र अनुसन्धान गरी छापा तथा श्रव्य–दृश्य माध्यमबाट संरक्षण गर्नेतर्फ कदम चाल्नु रैथानेको पहिलो प्राथमिकता हो।