PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

नेपथ्यको सांगीतिक यात्रा सकियो अस्ट्रेलिया पुगेर



पहिलोपोस्ट

नेपथ्यको सांगीतिक यात्रा सकियो अस्ट्रेलिया पुगेर
तस्विर: सुजन अर्याल र शिबिर शाक्य (नेपालय)

सांगीतिक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा सम्पन्न गरेको छ। अष्ट्रेलियाली टापु तासमानियामा गत शुक्रवार बेलुकी अन्तिम प्रस्तुतिसँगै नेपथ्य अष्ट्रेलिया यात्राको समापन भएको छ।

अष्ट्रेलियाका अन्य प्रान्तीय राजधानीहरुभन्दा शान्त होबार्ट सहरमा १ सय ७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो। नेपथ्यलाई दोश्रोपटक सहरमा पाएर नेपालीहरुले नेपथ्यका गीतमा कलाकारसँगै गीत गाउँदै रमाएका थिए।

कार्यक्रममा ब्याण्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ बाट सुरु गरियो। त्यो गीतबाटै हलभरिका दर्शकले साथसाथै गाएर कन्सर्टको माहोल तातेको थियो।

झण्डै अढाइ लाख जनसंख्या भएको अष्ट्रेलियाकै यो सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय विस्तारै नेपाली संख्या बढ्न थालेको छ। यतिबेला यो प्रदेशमै अंग्रेजीपछि सबैभन्दा बढी बोलिने दोस्रो भाषा नै नेपाली बन्नपुगेको स्थानीय रेकर्डले दर्शाउँछ। केहि वर्षअघिसम्म दोश्रो बढी बोलिने भाषा चिनियाँ रहेकामा पछिल्लो समय भुटानी शरणार्थीहरुको समेत आप्रवासन गराइएपछि र नेपालबाटै आएका तन्नेरीहरु पनि बढ्दै गएपछि चिनियाँहरुभन्दा बढी नेपालीभाषी देखिएका हुन्।

विशेषगरि अष्ट्रेलिया र फ्रान्सका नाविकहरुको निम्ति एन्टार्कटिका यात्रा गर्दाको यो बिसौनीरुपी सहर प्रशान्त महासागरको गहिरो किनारासँग जोडिएको छ।

‘यति महत्वको स्थानमा यहाँ बोलिने दोस्रो भाषा नेपाली रहेको थाहा पाएर असाध्यै गौरव महसुस भएको छ। भाषा रहेमात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततिसम्मै जोगाएर विस्तार गरौं,’ गायक एवं ब्याण्डका अगुवा अमृत गुरुङले दर्शकसँग भने।

दोस्रो प्रस्तुतिका रुपमा ‘छेक्यो छेक्यो’ र त्यसपछि पनि क्रमशः ‘भेंडाको ऊन’ र ‘लामपाते सुरती’ लगायतका प्रस्तुति नेपथ्यले दिएको थियो। नेपथ्य ‘म्युजिक फर ह्युमानिटी अस्ट्रेलिया टुर २०२३’ नाम दिइएको यो यात्रा जनवरी २५ मा डार्बिन सुरु भएको थियो। तासमानियाको कन्सर्टको आठौं प्रस्तुति थियो। नेपथ्यले डार्बिन र तासमानियाको साथै एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट गरेको थियो।

कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell