PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

विश्वप्रकाश शर्मा पोलिटिक्सबाट कहिले रिटायर हुने? आफ्नै प्रश्नको जवाफ भेटेनन् महामन्त्री शर्माले



पहिलोपोस्ट

विश्वप्रकाश शर्मा पोलिटिक्सबाट कहिले रिटायर हुने? आफ्नै प्रश्नको जवाफ भेटेनन् महामन्त्री शर्माले

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा 'एक्जिट पोलिसी' नहुँदा अहिलेको विकराल समस्या निस्किएको बताए। कर्णाली उत्सवको कुडा कर्णाली अन्तरगत तेस्रो दिन 'सग्लो समाज र सङ्लो राजनीति' सेसनमा शर्माले उक्त भनाइ राखेका हुन्।

राजनीतिमा पस्ने ढोका भए पनि निस्कने ढोका नहुँदा शक्ति घट्ने भय नेताहरुमा हुने शर्माको भनाई थियो। 'एक्जिट पोलिसी भएन पोलिटिक्समा। यहाँ कसैले विश्वप्रकाश शर्मा पोलिटिक्सबाट कहिले रिटायर हुने? भन्यो भने मसँग उत्तर हुनुपर्‍यो नि। हामीसँग त्यो उत्तर भएन,' उनले भने, 'मैले भनेको छु। एउटा मान्छे राष्ट्रपति बन्छ भने एकपटकमात्र। प्रधानमन्त्री बन्छ भने पटक तेहेर्‍याउने हैन। मन्त्री बन्छ तीनपटक बनोस्। सांसद बन्छ भने चार पटक। त्यसो भए ७० वर्ष पुग्यो भन्नै पर्दैन। ६० वर्षमै रिटायर हुन्छ।'

रिटायर समय तोकिए शक्तिमा बस्न न्यायालयदेखि विभिन्न आयोगमा आफ्नै मान्छे चाहिने भन्ने भय हट्ने उनको भनाई थियो। 'आउने ढोका थाह छ फर्किने कसरी थाह छैन। त्यसपछि भय हुन्छ,' शर्माले भने, 'पावरमा बस्न रुचाउँछ। न्यायालयमा मेरै मान्छ चाहियो। अख्तियारमा मेरै मान्छे चाहियो भन्ने छ। निर्वाचन आयोगमा मेरो मान्छे चाहियो। सर्टेन टाइममा म रिटायर हुन्छु भन्यो भने त्यो भय हुन्न।'

शर्माले कर्णालीबाट काठमाडौंले धेरै कुरा सिक्न सक्नेसमेत बताए। 'कर्णालीबाट काठमाडौंले दुईटा कुरा सिक्न सकिन्छ,' उनले भने, 'त्यो हो संयम र संघर्ष। नेपाल देशमा आत्महत्या गरेको रेकर्ड हेर्ने हो भने वाग्मती प्रदेशमा धेरैले गरेको पाउनुहुन्छ। काठमाडौंमा सबैथोक हुँदाहुँदै काठमाडौंमा किन भइरहेको छ। तर कर्णालीमा संयमतासाथ बाँचिरहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell