काठमाडौं : भारतसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ। नेपालले भारतसँग गत बुधवार र शनिवार दुई मैत्रीपूर्ण खेल खेलेको थियो।
भारतको चेन्नइस्थित जवहारलाल नेहरु स्टेडियममा सम्पन्न दुवै खेलमा नेपाल र भारत बराबरीमा रोकिएका छन्। पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारत २-२ गोल र दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएका हुन्।
स्वदेश फर्किएका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरुले स्वागत गरेका थिए।
नेपाल र भारत ओलम्पिक छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलेका हुन्। ओलम्पिकको एसियाली छनोटको पहिलो ‘राउण्ड’लाई चार टिम सम्मिलितको पाँच समूह र तीन टिमको दुई समूह गरि सात समूहमा विभाजन गरिएको छ।
ओलम्पिक क्वालिफायर्समा भारत, कीर्गिस्तान र तुर्किमेनिस्तान समूह ‘जी’मा छन्। नेपाल समूह ‘सी’मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँग छ। छनोटका खेलहरु अप्रिल ३ देखि ११ सम्म हुनेछ।