PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जनकपुर साहित्य महोत्सवको चौथो संस्करण फागुन ११ गतेदेखि हुने



पहिलोपोस्ट

जनकपुर साहित्य महोत्सवको चौथो संस्करण फागुन ११ गतेदेखि हुने

जनकपुरधाम : जनकपुरधाममा फागुन ११ गतेदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव-२०२३’ हुन लागेको छ। 
नवमिथिला फाउण्डेशनको आयोजनामा हुन लागेको महोत्सवको चौथो संस्करण फागुन ११ गते देखि १३ गतेसम्म चल्ने भएको हो।

२०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन-एयर प्यानलमा छलफल हुने आयोजक नवमिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए।

जनकपुर साहित्य महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखकलगायतको सहभागिता रहने उनले बताए। महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरूको सहभागिता रहनेसमेत उनले जानकारी दिए।

साहित्य महोत्सवको उद्घाटन सत्र फागुन ११ गते दिउँसो २:३० बजेदेखि जानकी मन्दिर परिसरमा हुनेछ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका प्रथम राष्ट्रपति रामबरण यादव र विशेष अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव रहने उनले बताए।

त्यसैगरी, प्रबुद्ध मन्तव्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र डा विजय कुमार सिंह (दनुवार)ले दिने बताइएको छ। साहित्यिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने उपाध्यक्ष नेपालले जानकारी दिए।

महोत्सवमा ‘समावेशिता : परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’, ‘घेघ बनल घोघ’, ‘युवा : संस्कार र परिष्कार’, ‘शहीद दिलीप महतोके मोन पाडैत’, ‘सञ्जालको बवाल’, ‘राजनीति : अभियान आ अवसर’, ‘सम्झनामा प्रदीप दाई’, ‘हामीले गुमाएको खेलकुद’ र विभिन्न अन्य विधालाई समेट्दै २० भन्दा बढी सत्रहरू रहने बताइएको छ।

सत्रहरूमा वक्ता र सहजकर्ताको रुपमा स्थानीयदेखि राष्ट्रियस्तरका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ। उद्घाटन समारोहका दिन ‘अमित झा साहित्य संगीत पुरस्कार’ वितरण गर्नुका साथै अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको निर्णायक प्रतिस्पर्धा र संगीत सन्ध्यामा कुटुम्ब र मिनापको सांगीतिक प्रस्तुति हुनेछ।

किताबको लोकार्पणदेखि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति पनि महोत्सवमा समेटिएको छ भने महोत्सवको अन्तिम दिन फागुन १३ गते भारतका चर्चित गायिका मैथिली ठाकुरले पनि साङ्गितिक प्रस्तुति दिने भएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell