जनकपुरधाम : नेकपा एमालेले रौतहट स्थित मौलापुर नगरपालिकाकी मेयर रिना साहलाई साधारण सदस्य नरहने गरि कारवाही गरेको छ। यसैगरी अरु १० जना नेता तथा कार्यकर्तालाई कारवाही गरेको नेकपा एमाले मधेश प्रदेश समितिको सचिवालयले जनायो।
शनिवार बसेको बैठकबाट एमाले मधेश प्रदेश समितिका उपाध्यक्ष रेवती पन्तसहित १० जनालाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै ३ महिनाका लागि कारवाही गरेको हो।
मौलापुर नगरपालिकाकी मेयर रिना आम जनता पार्टीका अध्यक्ष प्रभु साहका श्रीमती हुन्। उनको मेयर पद खारेजीका लागि केन्द्रीय समितिलाई सिफारिस गरिएको जनाइएको छ। प्रभुले एमालेको टिकट होल्डमा राखेर रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। निर्वाचन जितेर प्रभुले आम जनता पार्टी खोलेको झन्डै तीन महिना पुग्न लागिसकेको छ।
त्यस्तै देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु, प्रदेश सदस्यहरु बसरुद्दिन राइन, सर्लाही जिल्लाका पार्टी उपसचिव प्रकाश थापा, एमाले पर्साका जिल्ला सदस्यहरु मनोज गुप्ता, जसवन्त यादव, बासुदेव महतो थारु, रामपृत महतो थारु, पर्सा जिल्लाका पूर्व जिल्ला सदस्य मौजेलाल साह कानु लगायतलाई पार्टीले तीन महिनाका लागि पार्टीबाट निलम्बन गर्ने गरि कारबाही गरेको एमाले मधेश प्रदेश समितिका प्रदेश प्रचारप्रसार विभाग उपप्रमुख अवधेश कामतले जानकारी दिए।