PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

ठन्डीमा घाम फापेका प्रचण्डलाई गर्मीमा कसको होला छहारी?



प्रकाश भण्डारी

ठन्डीमा घाम फापेका प्रचण्डलाई गर्मीमा कसको होला छहारी?

काठमाडौं : पुसमा ठन्डी हुनु सामान्य नै हो तर गर्मी भयो भने नि? 'एबनर्मल' हुने नै भयो।

पुस १० को बिहान बालुवाटारमा र दिउँसो बालकोटमा भयो यस्तै। राजनीतिक विश्लेषकलाई माथ खुवाउने गरी उथलपुथल भयो राजनीतिक कोर्समा।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तत्कालीन सत्ता गठबन्धनको बालुवाटार बैठकलाई ‘बंक’ गरेर बालकोट हिँडे। प्रचण्ड हिँड्नुअघि बालुवाटारमा ‘राजनीतिक लू’ नै चलेको थियो। परिणाम थाहा पाएरै हुनुपर्छ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल असिनपसिन हुँदै निस्किए, अनि भने - अब हाम्रो हातमा केही पनि रहेन, सबै सकियो।

प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्नुअघि नै ‘वार्मअप’ गरिसकेका थिए नयाँ सत्ता गठबन्धनका लागि।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत प्रचण्डभन्दा पहिला नै बालकोटको वार्तामा थिए।

पुस १० गते प्रचण्ड- ओली बालकोटको बार्दलीबाट हात हल्लाउदै


सहमति भयो - प्रधानमन्त्रीमा प्रचण्ड, सभामुख र राष्ट्रपति एमालेलाई। लगतै प्रचण्ड-ओलीले हात हल्लाए, बार्दलीबाट। जहाँ २०७८ असार ३० मा ओलीले प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई ‘राष्ट्रघाती’ करार गरेका थिए। ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएपछि प्रचण्ड-नेपाल  जति खुसी को भए होलान्?

ओलीको आक्रोश पनि कम हुने कुरै भएन।

बार्दलीको शक्ति

बालकोटको वार्ता सकिएपछि प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न शीतल निवास हिँडे, बालकोट जुटेका नेता। ७ दल र स्वतन्त्रगरी १६९ सांसदको समर्थन रह्यो, पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउन। राष्ट्रपति विद्यादेवी भण्डारीले 'जसोजसो ओली प्रचण्ड उसोउसो …' नै गरिन् - त्यही साँझ प्रचण्डलाई प्रधानमन्त्री नियक्त गरेर। संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बने प्रचण्ड। बालकोटको मिलनले सत्ता गठबन्धनमा बदलाब  त आयो नै, केन्द्रदेखि प्रदेश सम्मको सत्ताका लागि माया मारेको एमाले एकाएक शक्तिमा फर्कियो।

बालकोटको बार्दलीबाट हात हल्लाएपछि प्रचण्ड-ओलीको सम्बन्धमा फर्कियो न्यानोपन। कहिले प्रचण्ड बालकोट धाइरहेका छन् त कहिले ओली बालुवाटार। तत्कालीन नेकपाको विवादका बेला प्रचण्ड जसरी ओलीलाई फकाउन बालुवाटार धाउँथे त्यसरी नै ओली अहिले बालुवाटार धाइरहेका छन्। यसो त ओली पनि प्रचण्ड निवासको छतमा पुगे। 

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै भोलिपल्ट पुस ११ गते तै नै गठबन्धनले मन्त्रालय भागबण्डा मिलाएको थियो। प्रचण्डसँगै रास्वपाबाट रवि लामिछानेले उपप्रधान तथा गृह, एमालेका विष्णु पौडेलले उपप्रधान तथा अर्थ र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिए। एमालेका दामोदर भण्डारी र ज्वालाकुमारी साह तथा जनमत पार्टीका अब्दुल खानले बिना विभागीय मन्त्रीमा, प्रचण्डले प्रधानमन्त्रीको शपथ लिएकै दिन। त्यतिबेला खासै विवाद देखिएन गठबन्धनमा। मन्त्री को बन्ने? कुन दललाई कति मन्त्री दिने? भन्ने वाहेकको विवाद त्यतिबेला सतहमा आएन।

सुन्तला वार्ता!

बार्दलीमा भेटेका प्रचण्ड-ओली ‘डिप लभ’मै परे, एक अर्कालाई नभेटी रहनै सकेनन्। पुस १३ गते ओली खुमलटारमै पुगे प्रचण्डलाई भेट्न। छतमा बसेर घाम ताप्दै सुन्तला खाए। जहाँ ओली पहिलो पटकको प्रतिनिधि सभा विघटनको अघिल्लो दिन २०७७ पुस ४ गते पुगेका थिए। त्यसपछि २ वर्ष ओलीले खुमलटार फर्किएर हेरेनन्।  खुमलटारको सुन्तला वार्ता उच्चस्तरीय राजनीति संयन्त्र बनाउने निचोडमा पुग्यो।

भोलिपल्टै पुस १४ गते सत्ता गठबन्धनको बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक ओली तोक्यो। न्यूनतम साझा कार्यक्रम मस्यौदा समितिको नेतृत्व अर्थमन्त्री विष्णु पौडेलले पाए।

मध्य पुसको चिसोमा पनि प्रचण्ड-ओलीको सम्बन्धमा न्यानोपन आइ नै रह्यो। प्रचण्ड बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटार लागेपछि ओली पनि दिनदिनै बालुवाटार धाउन थाले।

पुस १३ मा खुमलटारमा सुन्तला खाएर वार्ता गर्दै प्रचण्ड-ओली


पुस १५ बालुवाटारको 'वानअनवान' वार्तामा प्रचण्ड-ओलीबिच कुनै सहमति भएन। पुस १९ मै फेरि बालुवाटार पुगिहाले ओली। त्यतिबेला प्रचण्डले विश्वासको मत लिइनसकेकाले सरकार बिस्तारलाई थाती राखेको थियो सत्ता गठबन्धनले।

‘डिप लभमा’ परेका ओलीलाई जब शंका लाग्यो

दिनदिनै बालुवाटार धाएर ‘डिप लभ’मा रहेको सन्देश दिइरहेका ओलीलाई पुस २६ को घटनाले भने चस्का पस्यो।  प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रचण्डले प्रस्ताव गरेपछि ओलीले भने, ‘जाल हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फालेजस्तै हुन्छ।’ कांग्रेस र एकीकृत समाजवादीले पनि प्रचण्डलाई विश्वासको मत दिएर ओलीलाई सशंकित बनाइदिएका थिए पुस २६ मा।

प्रचण्डले प्रतिनिधि सभामा एक/एक जनामात्रै सांसद भएका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेकको समर्थन पाएका थिए। उक्त घटनापछि ओली प्रचण्डप्रति केहि सशंकित नै भए। किनभने गठबन्धनको सहमति बिपरित उनले एकीकृत समाजवादी र कांग्रेसका नेताहरुसँग छलफल गरेर विश्वासको मत पाएका थिए। ओली सशंकित भएको थाहा पाएपछि फकाउन भोलिपल्टै पुस २७ गते प्रचण्ड बालकोट पुगिहाले। पछिल्लो दिन पुस २८ मा ओली बालुवाटार आएर भेटे, मन्त्रिपरिषद् विस्तारबारे छलफल गरे। पुस ३० मा पनि बालुवाटारमा प्रचण्ड- ओली भेटेका थिए सरकार बिस्तारबारे छलफल गर्न। सहमति भने भएन। सरकारमा रहेका दलको मागअनुसार न्यूनतम साझा कार्यक्रम मस्यौदा समितिले पुस २६ मै प्रचण्ड-ओलीलाई मस्यौदा बुझाएको थियो। त्यसपछि सरकार गठनका लागि बाटो खुलेको गठबन्धनका नेताले बताएका थिए।

रवि ‘फ्याक्टर’को असर

गठबन्धनको भागबण्डामा केही किचलो भएपछि माघ २ गते प्रचण्ड नै बालकोट पुगे। त्यो दिन पनि भयो छत वार्ता। उक्त सहमतिअनुसार नै माघ ३ गते १२ मन्त्री र ३ राज्यमन्त्री थपिए। गठबन्धनको भागबण्डाअनुसार सरकार बिस्तारपछि सभामुखको गृहकार्यमा जुटे प्रचण्ड -ओली। माघ ५ मा भएको सभामुखको चुनावमा एमालेकै उम्मेदवार देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गरायो गठबन्धनले। घिमिरे १६७ मत पाउँदा कांग्रेसकी ईश्वरी न्यौपानेले १०० पाइन्। माघ ७ गते रास्वपाकी इन्दिरा रानामगरले उपसभामुखमा १६६ मत ल्याएर गठबन्धनबाट जित्दा कांग्रेसकी मुक्ताकुमारी यादवको पक्षमा ९७ मत पर्‍यो।

कांग्रेसले विश्वासको मत दिएर ओली-प्रचण्ड सम्बन्धनमा अविश्वासको बिऊ रोपिएकोमा रवि लामिछाने प्रकरणले झन मलजल गर्‍यो। माघ १३ गतेको सर्वोच्चको फैसलाले लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद एकसाथ गयो। जुन घटनापछि ओली-प्रचण्ड सम्बन्धमा केही टकराव नै आयो जुन अहिलेसम्म कायम छ।

ओली पुस १० कै सहमतिलाई सम्झाइरहेका थिए भने प्रचण्डले रास्वपालाई गृह नै नदिने अड्डी कसे। गृह नपाएपछि रास्वपा सरकारबाटै बाहिरियो। जसलाई एमालेले दु:खद् भनेको छ। लामिछाने प्रकरणपछि गठबन्धनमा लगातार खटपट छ। लगातारका ओली-प्रचण्डका भेटले पनि सम्बन्धमा हिटरको तार तातेको छैन। किनभने प्रचण्ड पुस १० को भद्र सहमतिअनुसार एमालेलाई राष्ट्रपति दिन तयार छैनन् भने ओली जसरी पनि राष्ट्रपति फुत्काउने दाउमा छन्।

माघ १८ र २१ गतेको बालुवाटारको प्रचण्ड-ओली एक्लाएक्लै वार्ताले पनि परिणाम दिन सकेन। किनभने त्यतिबेला ओली रास्वपालाई सत्तामा फर्काउन चाहन्थे भने प्रचण्ड लामिछानेको पासपोर्ट विवाद देखाएर पन्छिए।

जति वार्ता उति किचलो!

माघ २५ को बालकोटको छत वार्ता, सिंहदरबारमा माघ २६ गते एक्लाएक्लै भेटले पनि कुनै परिणाम दिएन गठबन्धनमा सहमतिका लागि। सिंहदरवारको वार्तापछि प्रचण्डले निस्कदै गर्दा भनेका थिए -सुदूरपश्चिम सरकारबारे एकछिनमा थाहा पाउनुहुन्छ। नभन्दै त्यसै दिन अपरान्ह एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढल्यो। एमालेका नेताले सुदूरपश्चिम सरकार एमाले-माओवादीका कारण नभइ नागरिक उन्मुक्ति पार्टीका कारण ढलेको बताएका थिए। ‘सुदूरपश्चिमको कुराले केन्द्रको गठबन्धनमा केही असर पर्दैन। नागरिक उन्मुक्तिले विश्वासको मत दिन्छौं भनेको थियो दिएन। त्यसकारण ढलेको हो,’ एमालेका उपाध्यक्ष सुवास नेम्वाङले भनेका थिए। तर नेम्वाङले भनेको मेल खाएको देखिन्न। त्यसयता सत्ता गठबन्धनमा लगातार खटपट छ। प्रचण्ड फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा कांग्रेस सहितको राष्ट्रिय सहमति भनिरहेका छन् भने ओली त्यसको विरोधमा।

फागुन ५ मा ओली निवासमा प्रचण्ड


खटपट जारी भए पनि ओली-प्रचण्ड सम्बन्धमा दरार नै उत्पन्न भने भइसकेको छैन। सम्बन्धमा दरार नआओस भनेर नै कहिले प्रचण्ड बालकोट पुगिरहेका छन् भने कहिले ओली बालुवाटार। फागुन ५ गते पनि प्रचण्ड बालकोट पुगेका थिए। उक्त वार्तामा पनि कुनै सहमति भने भएन। बरु प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने स्पष्ट संकेत दिएर फर्किएको प्रचण्डको सचिवालयले जनाएको छ।

‘प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको अडान छोड्नुभएको छैन। छोड्नु पनि हुन्न,’ प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने।

प्रचण्ड स्वयंमले पनि केही दिनमै राष्ट्रपतिमा सहमतिमा पुग्ने र त्यसका लागि गृहकार्य भइरहेको बताएका छन्। ‘हामी सँगै छौं। सत्ता साझेदारको सरकार चलिरहेकै छ। यसलाई अझ कसरी राम्रो बनाउने भन्नेबारे मात्रै छलफल भइरहेको छ। राष्ट्रपतिका विषयमा एउटा निष्कर्षमा पुग्ने कोसिसमा छौं एक दुई दिनभित्र,’ प्रचण्डले खटपट नभएको भन्दै बालकोट वार्तापछि भनेका थिए।

ओलीले गरिरहेको संकेत

प्रचण्ड - ओली सम्बन्धमा चिसो उत्पन्न हुन लागेको संकेत ओलीले पनि गरेका छन्। उनका पछिल्ला भाषणहरुमा अहिलेको सत्ता गठबन्धन पुस १० को सहमतिअनुसार नचले राजनीतिक परिदृश्य नै बदलिनेमा केन्द्रित छन्। अनेरास्ववियुको २३ औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले फागुन २ गते आफ्ना पार्टीका नेतालाई नयाँ गठबन्धन बनाएकोमा धेरै खुसी नहुन भनेका थिए।

'सोझो रेखामा राजनीति जाँदैन। हामीले अनेक उतारचढाव देखेका छौं। उतारचढाव फेरि पनि आउँछन्। अहिले साथीहरु काफी प्रशन्न भएको देख्छु म। हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं,' ओलीले भनेका छन्,'यो सफलताको कुरा हो। तर हाम्रो पार्टीका आम साथीहरु प्रसन्न भएको देखिन्छ। प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने?'

जसरी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई भत्काउन ओली कम्मर कसेर लागेका थिए त्यसरी नै कांग्रेसका नेता पनि एमाले-माओवादी गठबन्धनमा भताभुङ्ग गर्ने पक्षमा छ। ओलीले पनि अहिलेको संसदको गणित देखाएर राजनीतिक परिस्थिति नै अहिले अस्थिर भएको बताएका थिए। सत्ताकै लागि जोडिएका प्रचण्ड-ओली २०७७ मा पनि प्रधानमन्त्रीमा आलोपालो कायम नभएपछि एक अर्काविरुद्ध उत्रिएका थिए। एकले अर्कालाई कारबाही गर्नेदेखि अदालतसम्मै पुगेका थिए उनीहरु। तर फेरि सत्ताकै लागि तीतामीठा पल बिर्सिएर पुरानै सम्बन्धमा फर्किए पुस १० मा। माओवादी नेताका अनुसार प्रचण्डले अहिले आफूलाई ५ वर्ष नै प्रधानमन्त्री बन्ने आधार खोजिरहेका छन्। त्यसका लागि कांग्रेस तयार भएको कांग्रेसका शीर्ष नेताले सार्वजनिक रुपमै भनिसकेका छन्।

एमालेकै राष्ट्रपति नबनोस् भन्ने प्रचण्डको इच्छा!

राजनीतिक विश्लेषकहरु समेत पछिल्लो राजनीतिको विश्लेषण पात्र, प्रवृति र घटनाक्रमका आधारमा गर्न इच्छा देखाइरहेका छैनन्। राजनीति सिद्धान्तका आधारमा नचल्दा त्यसको विश्लेषण गर्न कठिन हुने उनीहरुको तर्क छ। राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम कुनै पनि बेला गठबन्धन टुट्न सक्ने तर्क गर्छन्। ‘कुनै पनि बेला कुनै पनि गठबन्धन टुट्न पनि सक्छन्। अहिलेकै गठबन्धन कायम रहन पनि सक्छन्। यसमा अहिले देखिएका मात्रै पात्र छैनन्,’ गौतमले भने, ‘अरु अरु पात्रहरु पनि छन्। अरु पात्रहरुको भार कतातिर बढी हुन्छ त्यसले पनि निर्धारण गर्छ।’ उनले नेपालभित्रको मात्रै नभइ बाह्य शक्तिको समेत चलखेल भइरहेकाले गठबन्धन टिक्ने नटिक्ने भन्न कठिन भएको उनको भनाइ छ।

एमालेको राष्ट्रपति नहोस् भन्नेमा प्रचण्डको पनि इच्छा भएको गौतमले बताए। ‘एमाले पक्षको राष्ट्रपति नबनोस् भनेर प्रचण्डको इच्छा र कांग्रेसले त अब त्यो इच्छा गर्ने नै भयो,’ उनले भने। गौतमले भनेजस्तै राष्ट्रपतिको निर्वाचन नजिकिएपछि बाह्य देशहरुले समेत 'इन्ट्रेस्ट' देखाइरहेको चर्चा राजनीतिक वृतमा छ। मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधि सभाबाट पारित गर्ने बेलामै चीनले प्रचण्ड- ओलीलाई मिलाउन भूमिका खेलिरहेको भन्दै चर्चा भएको थियो। त्यसो त एमाले र माओवादी एकताकै बेला समेत चीन सक्रिय भएका विवरण सार्वजनिक भएका थिए। ओलीको सरकार जोगाउन पनि चीन सक्रिय रहेको नेकपाकै नेताहरुले आरोप लगाउने गरेका थिए।

पाँच वर्षै प्रधानमन्त्री बन्ने बाटो खोजिरहेका प्रचण्डलाई आफ्नो पार्टीको राष्ट्रपति बनाएर पाँच वर्षै प्रधानमन्त्री मान्न तयार भएमा अहिलेकै गठबन्धनले समेत निरन्तरता पाउन सक्ने बताइन्छ। प्रचण्डले पनि आफ्ना पार्टीका नेतालाई संविधानप्रति प्रतिबद्ध र सबैले स्वीकार्ने व्यक्ति राष्ट्रपति हुने ब्रिफिङ गर्नुले उनी एमाले या कांग्रेसको जो व्यक्ति राष्ट्रपति भए पनि आफूप्रति लोयल हुनुपर्ने पक्षमा छन्। यसले पनि प्रचण्ड- ओली सम्बन्धमा दरार नल्याउला भन्न सकिन्न। किनभने ओलीले एमालेबाट बनाउने राष्ट्रपतिको उम्मेदवार आफू अनुकुलकै बनाउने छन्। राष्ट्रपति भण्डारी पनि ओलीले भनेअनुसार चलेको भन्दै आलोचना हुने गरेको छ। प्रचण्डले पनि राष्ट्रपति भण्डारी र पूर्व राष्ट्रपति डा रामवरण यादवबाट पाठ सिक्नुपर्ने भन्दै एमालेका नेताहरुमाथि दबाव बढाइरहेका छन्।

बढ्दो बाह्य सक्रियता

राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएर नेताको सक्रियता जति बढ्दो छ त्यतिकै वाह्य राष्ट्रहरुले पनि आफ्नो प्रभाव बढाएका छन्। राजनीतिक विश्लेषक गौतमले पनि राष्ट्रपतिको निर्वाचनमा देश भित्रकै पात्र मात्रै नभइ बाह्य पात्रसमेत सक्रिय रहेको बताएका छन्।

तीन हप्ताअघिमात्र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं उत्रिएकी थिइन्। दुई दिन काठमाडौं बसेर उनी फर्केको एक हप्तामै युएसएआइडीकी प्रशासक सामन्था पावर काठमाडौं आइन्। पावर नेपाललाई साढे सात अर्ब सहयोगको घोषणा गरेर फर्किन्। सोमबार फेरि अमेरिकाको सहायक विदेशमन्त्री अफरीन अख्तर काठमाडौं आइपुगेकी छिन्।

अध्यक्ष ओली र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

ओली र चिनियाँ राजदुत चन सोङबीच फागुन ५ मा बालकोटमा भेटवार्ता


उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री हुन्। भारतीय विदेशसचिव विनयमोहन क्वात्रा पनि काठमाडौं आएका थिए। शीर्ष नेतादेखि राष्ट्रपतिसम्म क्वात्राले भेटेका थिए। फागुन ५ मा ओलीसँग बालकोटमा नेपालका लागि चिनियाँ राजदूत चन सोङले भेट गरेका थिए।

कसको दिल बिमार होला?

सत्ता गठबन्धन नेताका कसिला वार्ता र आफ्नै पार्टीले राष्ट्रपति पाउने कांग्रेसको ‘कन्फिडेन्स’ले के फेरि प्रचण्ड-ओली सबन्धमा चिसो आउला? यसको जवाफ त फागुन २५ को राष्ट्रपतिको निर्वाचनले देला नै। बालकोटको बार्दलीमा हात हल्लाएर पुसमा सम्बन्ध न्यानो भएको सन्देश दिएका प्रचण्ड - ओलीको सम्बन्ध फागुनमा बढ्न थालेको गर्मीसँगै चिसिन थालेको त होइन? एमाले-माओवादी वृत्तमै चर्चा चलिरहेको छ।

किनभने एमालेका नेताले राष्ट्रपति निर्वाचनमा पुस १० को सहमति पालना नभए अहिलेको सत्ता गठबन्धनले निरन्तरता नपाउने चेतावनी दिसकेका छन्। ‘गठबन्धनको सहमतिको आधारमा यो सरकार बनेको हो। त्यही कुरा अहिले छोडियो भने त सरकारको स्थायित्वमा पनि समस्या खडा हुन्छ। अविश्वासको स्थिति बन्छ,’ एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पहिलोपोस्टसँग भनेका छन्। पुस १० गते बालकोटको बार्दलीमा पुगेर प्रचण्ड- नेपालले हात हल्लाएपछि २०७७ पुस ४ देखि २०७९ पुस ९ सम्मका दुई नेताका आक्रोशपूर्ण भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए। राजनीतिमा प्रचण्ड-ओलीको सम्बन्धको उतारचढावले चर्चा पाइरहँदा सांगीतिक क्षेत्रमा भने तिलक सिंह पेलाको गजल चर्चित छ-

के लत् बस्यो मलाई कहिले सुधार हुन्छ?

एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ।

पेलाको गजल जस्तै एक दिन नबोल्दा प्रचण्ड र ओली मध्ये कसको दिल बिमार होला? पक्कै एकले अर्कोलाई सघाएका मोमेन्ट्सहरु सम्झँदै आफैंलाई सोध्दा हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell