PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

लघुकथा समाजद्वारा दुई कथाकार सम्मानित



पहिलोपोस्ट

लघुकथा समाजद्वारा दुई कथाकार सम्मानित

काठमाडौं : लघुकथा समाज नेपालले ‘सावित्री–केशर कथा सम्मान—२०७९’ कथाकार बाबा न्यौपाने (वामनप्रसाद न्यौपाने)लाई प्रदान गरेको छ। त्यस्तै समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान—२०७९’ लघुकथाकार कल्याण पन्तलाई प्रदान गरेको छ।

दुवै सम्मानका साथ नगद राशि २१ हजार रुपैयाँको थैली पनि प्रदान गरियो। थैली पुरस्कार संस्थापकहरू हरि थापा र भैरवी थापाले प्रदान गरे।

आइतबार बिहान काठमाडौंमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र अर्पण गर्दै दुवै सर्जकहरूलाई सम्मानित गर्न पाउँदा खुसी लागेको बताए। उनले आजको सम्मान अर्पणले आफू स्वयम् सम्मानित भएको उल्लेख गरे।

अर्का अतिथि तथा समाजका सल्लाहकार साहित्यकार अशेष मल्लले लघुकथा समाजले समर्पण गर्ने सम्मानहरूका लागि चयन हुने व्यक्ति उत्कृष्ट हुने गरेको बताए।

दुवै सम्मानका संस्थापकहरूका तर्फबाट साहित्यकार हरि थापाले आगामी दिनमा पनि समाजले हाम्रो होइन राम्रो कथाकारहरूको चयन गर्दै सम्मानित गर्ने विश्वास व्यक्त गरे।

उक्त अवसरमा कथाकार बाबा न्यौपाने र लघुकथाकार कल्याण पन्तले आफूहरूलाई खुसी लागेको बताए।

कार्यक्रममा समाजका सदस्य नवराज रिजालले दुवै सम्मानित स्रष्टाहरूको परिचय दिएका थिए भने समाजका अध्यक्ष गोपाल अश्क र सदस्य श्रीबाबु काकीले पनि बोलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell