स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले काडिजमाथि सहज जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले काडिजमाथि २-० गोलअन्तरको जित निकालेको हो।
खेलको ४३ औं मिनेटमा सर्जि रोबेर्टोको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। त्यसको तीन मिनेट नबित्दै पहिलो हाफको इन्ज्युरी समयमा बार्सिलोनाले अग्रता दोब्बर बनायो। यसपटक रोबेर्टोकै पासमा रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए। दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा घरेलु टोलीले २-० गोलअन्तरले जित निकालेको हो।
जितसँगै बार्सिलोनाले अंकतालिकामा ८ अंकको स्पस्ट अग्रता बनाएको छ। बार्सिलोनाले २२ खेलबाट ५९ अंक जोड्दै शीर्षस्थानमा रहँदा दोस्रो स्थानको रियल मड्रिडले समान खेलबाट ५१ अंक जोडेको छ।