PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

राष्ट्रपतिको लागि दौडधुपमा दलहरु, एमाले र कांग्रेसको दाबीका बिच माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



पहिलोपोस्ट

राष्ट्रपतिको लागि दौडधुपमा दलहरु, एमाले र कांग्रेसको दाबीका बिच माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सोमवार बस्दैछ। बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताइएको छ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर दलहरुले दौडधुप गरिरहेका छन्। राष्ट्रपतिबारे छलफल गर्नैका लागि आइतवार नेपाली कांग्रेसका शीर्ष नेताहरु बालुवाटार गएका थिए।

बालुवाटारमा भएको छलफलमा कांग्रेसले आफ्नो उम्मेदवारलाई सघाउन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको थियो। प्रचण्डले कांग्रेसका नेतालाई पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका थिए। सोही बमोजिम सोमवार माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको हो।

राष्ट्रपतिमा सत्ता साझेदार दल नेकपा (एमाले)ले पनि दाबी गरिरहेको छ। यसबारे छलफल गर्न प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक भेटघाट गरेका थिए।

अध्यक्ष ओलीले आइतवार मात्रै एमालेका उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका थिए। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरेका थिए।

कांग्रेसका नेताहरुले पनि राष्ट्रपतिमा आफूहरुको दाबी स्वभाविक रहेको बताएका छन्। संसद्मा कांग्रेस पहिलो दल भएकोले राष्ट्रपतिमा आफूहरूको दाबी स्वभाविक भएको उनीहरुको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell