PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

‘मेटा भेरिफाइड’ : मासिक शुल्क तिरेर फेसबुक र इन्स्टाग्राममा ‘ब्लु टिक’ पाइने



पहिलोपोस्ट

‘मेटा भेरिफाइड’ : मासिक शुल्क तिरेर फेसबुक र इन्स्टाग्राममा ‘ब्लु टिक’ पाइने
Photo: REUTERS

फेसबुकको ‘प्यारेन्ट कम्पनी’ मेटाले ‘मेटा भेरिफाइड’ नामक सब्सक्रिप्सन सेवा सुरू गरेको छ। यो सेवामार्फत प्रयोगकर्ताहरूले आफ्नो इन्स्टाग्राम र फेसबुक अकाउन्टमा ‘ब्लु टिक’ पाउन सक्छन्

प्रतिमहिना करिब १५ अमेरिकी डलरसम्म तिरेर यो सेवा लिन सकिने बताइएको छ। प्रयोगकर्ताले आफ्नो पहिचान प्रमाणित गरेर यो सेवामार्फत ‘ब्लु टिक’ पाउन सक्ने मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आइतवार बताए।

यो सब्सक्रिप्सन सेवामार्फत मेटाले नयाँ आम्दानीको स्रोत बनाउन खोज्दैछ। सोही प्रकृतिको सेवामा मेटाको प्रतिद्वन्द्वी ट्वीटरले मिश्रित सफलता हासिल गरिरहेको छ।

यस हप्तादेखि न्युजिल्याण्ड र अस्ट्रेलियामा सुरु हुने यो सेवाको मूल्य वेबमा प्रतिमहिना ११.९९ डलर र एप्पलको आइओएसमा १४.९९ डलर रहेको छ। कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताहरुको लागि कहिले सेवा उपलब्ध गराउँछ भन्ने खुलाएको छैन।

प्रयोगकर्ताहरूलाई सरकारी परिचयपत्रको प्रयोग गरेर आफ्नो पहिचान प्रमाणित गर्न मेटाले जनाएको छ। यो सेवामार्फत प्रयोगकर्ताहरुले ‘धेरै भिजिबिलिटी र रिच’, नक्कली अकाउन्टविरुद्ध सुरक्षा र कस्टोमर सपोर्टमा प्रत्यक्ष पहुँच पाउने मेटाले बताएको छ।

सब्सक्रिप्सन सेवाहरू सामाजिक सञ्जाल फर्महरूबिच लोकप्रिय हुँदैछन्। यसअघि सोसियल प्लेटफर्म स्न्यापले अघिल्लो वर्ष सब्सक्रिप्सन सेवा सुरु गरेको थियो। जसअन्तर्गत उसले १० लाख भन्दा बढी ग्राहकहरुलाई यो सेवा बेचिसकेको छ।

त्यस्तै, ४४ बिलियन डलरमा ट्वीटर किनेपछि इलोन मस्कले ‘ट्वीटर ब्लु’ नामक सब्सक्रिप्सन सेवा सुरु गरेका छन्। जसअन्तर्गत ट्वीटरले ‘ब्लु टिक’सहित विभिन्न सेवाहरु प्रदान गरिरहेको छ।

पछिल्ला महिनामा ट्वीटरले भारत र इन्डोनेसियासहित दर्जन बढी बजारमा ‘ट्वीटर ब्लु’को विस्तार गरिसकेको छ। हालसम्म ‘ट्वीटर ब्लु’का करिब १ लाख ८० हजार ग्राहक छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell