काठमाडौं : बिन्ध्यवासिनी म्यूजिक कम्पनीका संचालक सुवास रेग्मी पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले रेग्मीलाई आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
उनी थाइल्यान्डबाट फर्किने क्रममा विमानस्थलबाट पक्राउ परेका हुन्। गायक प्रमोद खरेलले रेग्मीविरुद्ध उजुरी दिएका थिए।
सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोप रेग्मीमाथि लागेको छ। ब्युरोले आज अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्ने तयारी गरेको ब्युरो प्रमुख एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए।
२ वर्षअघि कम्पनीकी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पनि पक्राउ परेकी थिइन्। गीतको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको अभियोगमा प्रहरीले शर्मालाई पक्राउ गरेको थियो। उनीविरुद्ध पनि गायक खरेलले नै उजुरी दिएका थिए।