PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्ड नै चाहन्छन् राष्ट्रपतिमा एमालेलाई रोक्न!



प्रकाश भण्डारी

प्रचण्ड नै चाहन्छन् राष्ट्रपतिमा एमालेलाई रोक्न!

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जति सजिलै पुस १० मा प्रधानमन्त्री बने त्यति नै जटिल छ राष्ट्रपतिमा समझदारी बनाउन। नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनमा अरु ५ दल र स्वतन्त्र सांसद पनि सामेल भएपछि कांग्रेस नेतृत्वको गठबन्धन टुटेको केही घण्टामै प्रचण्ड प्रधानमन्त्री बनेका थिए। राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै प्रचण्डले एमालेभन्दा कांग्रेससँग राष्ट्रपतिका लागि वार्ता अघि बढाएपछि राष्ट्रपतिमा एमालेसँग भएको सहमति पालना नगर्ने संकेत प्रचण्डले गरिसकेका छन्। एमाले कांग्रेससँगको प्रचण्डको हिमचिमलाई लिएर सशंकित भएको छ। राष्ट्रपतिमा प्रचण्डले धोका दिनसक्ने ब्रिफिङ एमालेका अध्यक्ष ओलीले पार्टीका नेतालाई गरिसकेका छन्।

आइतवार राति प्रचण्डसँग कांग्रेसका नेताहरुले राष्ट्रपतिबारे वार्ता गरेका थिए। ‘राष्ट्रपतिकै उम्मेदवारबारे वार्ता भएको हो। कसलाई राष्ट्रपति बनाउने भन्दा पनि अबका सम्भावना के हुन्छन्? भन्नेबारे छलफल भएको हो,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने। प्रचण्डले राष्ट्रपतिबारे नै छलफल गर्न सोमवार पदाधिकारीको बैठक बोलाएका छन्। राष्ट्रपतिबारे पार्टी नेताको धारणा बुझ्न प्रचण्डले बैठक बोलाएका हुन्। महासचिव देव गुरुङले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गराउन छलफल भइरहेको बताए। ‘बैठक बोलाइएको छ। राष्ट्रपतिमा सहमति गराउने भन्ने छ,’ उनले भने।

एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिच पुस १० यता दैनिक छलफल भइरहेको भए पनि राष्ट्रपतिको उम्मेदवारबारे भने छलफल केन्द्रित नभएको माओवादी केन्द्रका नेताको भनाइ छ। ओलीले आइतवार बिराटनगरमा अन्तिमसम्म गठबन्धनबाटै उम्मेदवार छानिने बताएका थिए। ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ। समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखेर आएको छ,’ ओलीले भनेका छन्।

उनी राष्ट्रपतिको उम्मेदवारबारे अन्तिममा मात्रै टुंगोमा पुग्ने र त्यतिन्जेलसम्म प्रचण्डलाई छलफलमै राखिराख्न चाहेको बताइन्छ। प्रचण्ड पनि अन्तिममा आफ्नो विश्वास पात्रलाई ओलीले अघि सार्ने भन्दै सशंकित बनेका छन्। सभामुखमा पनि ओलीले आफ्ना विश्वास पात्रलाई अन्तिममा अघि सारेको माओवादी केन्द्रले आरोप लगाएको थियो।

प्रचण्ड भने राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समेत साथमा लिएर अघि बढ्न चाहिरहेका छन्। पाँच वर्षै प्रधानमन्त्री बन्न उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको एजेण्डा अघि सारेको उनी निकट नेताले बताए।

प्रचण्डलाई राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै दबाव बढिरहेको माओवादी केन्द्रका सचिव गणेश साहको भनाइ छ। उनले कांग्रेसले पनि राष्ट्रपतिका लागि प्रधानमन्त्रीसँग लबिङ बढाएको बताए। ‘कांग्रेसको पक्ष पनि बलियो देखिन्छ। अब एक दुई दिनमा को बन्छ भन्ने क्लियर होला,’ उनले भने। 

प्रचण्डले यसअघि भएको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा पनि राष्ट्रपतिको उम्मदवार चयन गर्दा यसअघिका दुई राष्ट्रपतिबाट पाठ सिक्नुपर्ने बताएका थिए। शान्ति प्रक्रियालाई पूर्णता दिन भूमिका खेल्ने तथा संविधानप्रति प्रतिवद्ध व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने अडानमा प्रचण्ड छन्।

ओलीले अघि सारेको व्यक्तिमा साझा सहमति हुन नसक्ने भएकाले प्रचण्ड कांग्रेससँग छलफलमा जुटेका हुन्। तर ओलीले नै गठबन्धन भत्किन नदिन आफ्नो दल बाहिरको व्यक्तिलाई समेत अन्तिममा राष्ट्रपतिको उम्मेदवारमा अघि सार्न सक्ने भन्दै प्रचण्ड सशंकित छन्। त्यसअघि नै पार्टी कमिटीको बैठकबाट राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निचोडमा प्रचण्ड पुग्न चाहिरहेको बताइन्छ। एमालेले आफ्नो दलले अघि सारेको व्यक्तिमा प्रचण्डले समर्थन नगरे गठबन्धन कायम नरहने चेतावनी दिँदै आएको छ। राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले पनि प्रचण्ड एमालेलाई राष्ट्रपतिमा रोक्न चाहेको तर्क गर्छन्। ‘एमाले पक्षको राष्ट्रपति नबनोस् भनेर प्रचण्डको इच्छा र कांग्रेसले त अब त्यो इच्छा गर्ने नै भयो,’ उनले भने।

गौतमले अहिलेको गठबन्धन कुनैपनि बेला टुट्ने बताए। ‘कुनै पनि बेला कुनै पनि गठबन्धन टुट्न पनि सक्छन्। अहिलेकै गठबन्धन कायम रहन पनि सक्छन्। यसमा अहिले देखिएका मात्रै पात्र छैनन्,’ गौतमले भने, ‘अरु अरु पात्रहरु पनि छन्। अरु पात्रहरुको भार कतातिर बढी हुन्छ त्यसले पनि निर्धारण गर्छ।’ उनले नेपालभित्रको मात्रै नभइ बाह्य शक्तिको समेत राष्ट्रपतिका लागि चलखेल भइरहेकाले गठबन्धन टिक्ने/ नटिक्ने भन्न कठिन भएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell